न्युर्योक । उत्तरी आयरल्यान्डमा भइरहेको जी–८ राष्ट्रको सम्मेलनमा ‘थ्री टि’ एजेन्डामा छलफल केन्द्रित भएको छ । कर, व्यापार र पारदर्शीता सम्वन्धी मुद्धाले मंगलबारको बैठकमा प्रमुखता पाएको छ । आर्थिक विकास र रोजगारी सिर्जनाको लागि व्यापार महत्वपूर्ण भएको भन्दै यसको विकासमा अघि बढ्न छलफल केन्द्रित भएको हो ।
सन् २००८मा विश्वव्यापी रुपमा व्यापारमा कमी आउँदा विश्व अर्थतन्त्रले मन्दी बेहोर्नुपरेको थियो । सम्मेलनमा कर छलि रोक्न कानुन निर्माण र छलि गर्नेलाई कडा कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनेछ । कर छलि विश्वव्यापी समस्या छ । विकाशिल राष्ट्रमा कर छलि नियन्त्रण चुनौतिपूर्ण रहँदै आएको भन्दै बेलायतले सहयोग पनि गर्दै आएको छ ।
जी–८मा विकसित औद्योगिक राष्ट्रहरु छन् । सोमबारको बैठकमा सिरियामा भएको हिंसाको मुद्धामा उनीहरुले छलफल केन्द्रित गरेका थिए भने युरोपेली युनियन र अमेरिकावीच ऐतिहासिक द्धिपक्षीय व्यापार वार्ता गर्ने सहमति गरेका थिए । यो वार्ता जुलाईमा वासिङटन डीसीमा हुने निश्चित भइसकेको छ । यो वार्ता सफल भएमा युरोपेली युनियनमा एक सय अर्ब डलर थपिनेछ भने ८० अर्ब डलर अमेरिकी अर्थतन्त्रमा थपिनेछ । यो वाहेक ८५ अर्ब डलर अरु देशमा थपिने दावी बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बताएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्झौंताले २० लाख मानिसले रोजगारी पाउने र सामान सस्तो हुने बताए । बैठकमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, जापान, रुस, क्यानडा र इटाली जी–८ राष्ट्रको सूचीमा छन् ।