नुन बढी खानुहुन्छ ? त्यसमाथि पेट दुख्छ ? चेकअप गर्नुहोस् ! क्यान्सर पनि हुनसक्छ

बिजमाण्डू
२०६९ साउन ८ गते ००:०० | Jul 23, 2012
नुन बढी खानुहुन्छ ? त्यसमाथि पेट दुख्छ ? चेकअप गर्नुहोस् ! क्यान्सर पनि हुनसक्छ

 लण्डन । तरकारी र अचारमा टक्क जिब्रोमा लाग्ने गरि नुन खाने गर्नुभएको छ ? अनी प्याकेटमा भएको नुनिलो खानेकुराले पनि कत्तिको लोभ्याउँछ ? दुवै प्रश्नमा तपाँइको जवाफ सकारात्मक छ भने सचेत हुन होला, तपाँईलाई पेटको क्यान्सर हुने सम्भावना धेरै छ । हालै प्रकाशित एक अनुसन्धान प्रतिवदेनका अनुसार दैनिक रुपमा धेरै नुन खाने मानिसहरुमा पेटको क्यान्सर हुने संभावना अधिक हुन्छ ।
वल्र्ड क्यान्सर रिसर्च फण्ड (डब्लुसिआरएफ) का अनुसार नुन कम खानेलाई पेटको क्यान्सर हुने संभावना कम हुन्छ । खानामा धेरै नुन खाँदा हाई ब्लडप्रेसरको समस्या हुने र हर्ट एट्याकको खतरा बढि हुने भन्ने कुरा पहिले नै सार्वजनिक भए पनि नुनको अधिक मात्राले क्यान्सर पनि हुन सक्ने कुरा पहिलो पटक पत्ता लागेको हो । डब्लुसिआरएफका अनुसार हाल मानिसहरु दैनिक रुपमा ८.६ ग्राम नुन खाने गर्छन । प्रतिवेदनले दैनिक ६ ग्राम अर्थात एक चिया चम्चा भन्दा धेरै नुन खान नहुने बताएको छ । हेरक व्यक्तिले ६ ग्रामको सीमामा रहेर नुन खपत गर्ने हो भने पेटको क्यान्सर १४ प्रतिशतले घटाउन सकिन्छ ।
विकसित एवं अविकसित दुबै खाले मुलुकमा पेटको क्यान्सर प्रमुख समस्याका रुपमा देखिन थालेको प्ररिप्रेक्ष्यमा यो तथ्य सार्वजनिक भएको हो । विकसित मुलकमा पर्ने इंगल्याण्डमा हेरक वर्ष ६ हजारलाई पेटको क्यान्सर हुने गरेको क्यान्सर रिसर्च युकेको अनुमान छ । रोगले ग्रस्त भए मात्रै उपचारको खोजी गरिने भएकोले पेटको क्यान्सरको सफल उपचार सदैव सम्भव नहुने भएकाले यो रोग लाग्नबाट जोेगिनु नै सजिलो उपाय हो । नुनको मात्रा कम गर्नका लागि थप नुन मिसाईएका खाद्यपदार्थहरु जस्तै पाउरोटी, कर्नफ्लेक्स, आलु चिप्स जस्ता वस्तुको सेवन कम गर्नुका सार्थ हरिया साग सब्जी एवं फलफुलमा जोड दिनुपर्ने अध्ययनको सुझाव छ ।
अध्ययनले साद्यपदार्थमा ट्राफिक लाइटको जस्तो सिग्नल राख्न सके राम्रो हुने बताएको छ । जस अनुसार अत्याधिक नुन हुने खाद्यवस्तुमा रातो, अलि कम हुनेमा पँहेलो र ठिक्क हुनेमा हरियो संकेत राख्न सकिन्छ । डब्लुसिआरएफका अनुसार प्रति १०० ग्राम भोजनमा १.५ ग्राम भन्दा धेरै नुन छ भने त्यसलाई अत्याधिक नुनयुक्त भोजन मान्नुपर्छ । यसैगरी १.५ देखि ०.३ ग्राम भएकोलाई मध्यम नुन भएको र ०.३ वा सो भन्दा कम भएको भोजनलाई कम नुनयुक्त खानाको रुपमा वर्गिकरण गर्न सकिन्छ । शिशु र ११ वर्ष मुनीकाले भने अझै कम नुन सेवा गर्नुपर्ने सो अध्ययनको निष्कर्ष छ । एक वर्ष कम उमेरका शिशुहरुले दैनिक १ ग्राम खानु उपयुक्त हुन्छ ।
आमाको स्तनपान गरिरहेका बच्चाहरुलाई सोहि दुधबाट आवश्यक नुन प्राप्त हुने हुनाले थप नुन नदिन सुझाइएको छ । एक वर्ष भन्दा माथिका वच्चाको हकमा १ देखि ३ वर्षकालाई दैनिक २ ग्राम, ४ देखि ६ कालाई ३ ग्राम, ७ देखि १० कालाई दैनिक ५ ग्राम र ११ देखि माथिकालाई दैनिक ६ ग्राम नुन उपयुक्त हुने उल्लेख गरिएको छ । अध्ययनले स्ट्याण्डर्ड प्याकिङयुक्त खाद्यवस्तुहरुमा भएको नुनको मात्रा त्यसमा उल्लेख गरिएको सोडियमको आधारमा निर्धारण गर्न सकिने बताएको छ । प्याकेटमा उल्लेख गरिए बमाजिमको सोडियम मात्रालाई २.५ ले भाग गर्दा सो वस्तुमा प्रयोग भएको नुनको मात्रा निस्कन्छ । प्योकटमा सोडियमको संकेत अंग्रेजी अक्षर एनए लेखिएको हुन्छ वा सोडियम नै लेखिएको हुन्छ ।

Tata
GBIME
Nepal Life