हिमालयनले जारि गर्यो ५० हजार नयाँ कार्ड, नयाँ लिन सार्वजनिक आह्वान, एउटा कार्डको खर्च २ सय

बिजमाण्डू
२०६९ माघ १९ गते ००:०० | Feb 1, 2013
काठमाडौं । हिमालयन बैंकले ५० हजार कार्ड फेर्ने भएको छ। बैंकले नयाँ कार्डहरु जारि गरिसकेको छ । वितरणका लागि सार्वजनिक आह्वान गरिसकेको छ । भारतको नयाँ दिल्लीबाट ग्राहकको पैसा झिकिन थालेपछि बैंकले यसलाई रोक्न कार्ड फेर्न लागेको हो। हिमालय बैंक र उसँगको गेटवे प्रयोग गरेका बैंकहरुले पनि केही कार्ड र पिन नम्बर परिवर्तन गरेका छन्। हिमालयन बैंकको कार्डमा समस्या आएपछि एस डेभलपमेन्ट बैंक र एनआइसी बैंकले पनि कार्ड कारोबार रोकेका थिए।
हिमालयनले मे २०१२ अघि जारी कार्डहरु परिवर्तन गर्न लागेको हो। बैंकले ग्राहकलाई आफ्नो नयाँ कार्ड लिन आह्वान गरिरहेको छ।  '६ महिनाअघि जारी कार्डबाट ठगी भएकाले त्यो बेला जारी भएका सबै कार्ड हटाएर नयाँ वितरण सुरु गर्दैछौं,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, 'अब कार्डमा समस्या छैन।'
बैंकले सुरक्षा प्रणाली बलियो भएको नयाँ प्रविधिको कार्ड प्रयोगमा ल्याइसकेको छ। यी कार्ड प्रयोग हुनुअघि जारी कार्डबाट ठगी भएको थियो। 'पुराना कार्डको मिति नसकिएकाले तिनीहरु परिवर्तन गरेका थिएनौं,' राणाले भने, 'त्यही कार्ड अहिले दुरुपयोग भएको हो।' बैंकले आफ्नो कार्डको पिन नम्बर र डेबिट कार्ड परिर्वतन गर्न आग्रह गरिसकेको छ। कार्ड दुरुपयोगपछि बैंकले कार्ड सेवा बन्द गरेका थिए। हिमालयन बैंकले इएमभी कार्ड वितरण सुरु गरिसकेको राणाले बताए।
राणाका अनुसार एउटा कार्डको मूल्य २ सय रुपैयाँ पर्छ। हिमालयनको गेटवे लिएका बैंकहरुले २ सय ५० रुपैयाँसम्म कार्डमा खर्चिनुपर्छ। हिमालनयन बैंकका तीन लाख कार्डवाहक छन्। अन्य बैंकको समेत गरेर पाँच लाख ग्राहकले केही दिन कार्ड प्रयोग गर्न नपाएर दुःख पाएका थिए। खासगरी भारत गएका ग्राहकले वैकल्पिक बाटो प्रयोग गर्न नपाएकाले उनीहरुले बढी मार सहनुपरेको छ। बैंकको कार्डबाट उसैको पूर्वकर्मचारीसहित गिरोहले गठी गरेको पुष्टि भएको छ। तर अवैधानिक रुपमा कार्ड दुरुपयोग गरेर पैसा झिक्नेहरु अझै पक्राउ पर्न सकेका छैनन्।
हिमालयन बैंकको चार महिनअघि भिसा मास्टर कार्डबाट पौने ६ करोड रुपैयाँ ठगी गर्ने आफ्ना तत्कालिन डेपुटी म्यानेजर अनिसभत्त सुवालको टोली अहिलेको ठगी कान्डमा सक्रिय रहेको देखिएको छ। पौने ६ करोड ठगेर फरार भएका सुवालले भारतमा गएर पुनः कार्डबाट पैसा झिकेका हुन्। बैंक स्रोतका अनुसार कार्डबाट करिब करोडको हाराहारीमा दुरुपयोग भएको छ। गिरोहले मन्लाग्दी जुनसुकै खाताको पैसा झिकेको हो। त्यही भएर बैंकले सेवा बन्द गर्नुपरेको हो। बैंकले सबै नयाँ कार्ड वितरणपछि सेवा नियमित गर्ने छ। सुवालले अघिल्लोपटक पाँच करोड ७६ लाख रुपैयाँ हिनामिना गरेका थिए। कार्ड सेन्टरमा कार्यरत सुवालले भिसा मास्टर कार्डमार्फत पठाएको रकम रिसिभल एकाउन्टबाट डाटा मेटाउँदै पटकपटक गरेर रकम झिकेका थिए।

Tata
GBIME
Nepal Life