बिओकेको नाफा तीस करोड २६ लाख, राइट व्याक र स्प्रेडले वृद्धि, प्रति सेयर आम्दानी ३६ रुपैयाँ

बिजमाण्डू
२०६९ माघ ८ गते ००:०० | Jan 21, 2013
बिओकेको नाफा तीस करोड २६ लाख, राइट व्याक र स्प्रेडले वृद्धि, प्रति सेयर आम्दानी ३६ रुपैयाँ


काठमाडौं । बैंक अफ काठामाण्डू (बिओके) ले पुसमा नाफा १२ प्रतिशतले वढाएको छ । बैंकले डुवेको केही ऋण उठाएको र स्प्रेड दर (कर्जा र निक्षेपको व्याज अन्तर) फराकिलो राखेका कारण नाफा ३० करोड २६ लाख कमाएको हो । बैंकले डुवेको ऋण अघिल्लो पुसको भन्दा ९६.७३ प्रतिशत वढी उठाएको छ । चालु वर्षको पुस मसान्तसम्म बैंकले ४ करोड ३५ लाख डुवेको ऋण (राइट व्याक) उठाएको हो । व्याज र किस्ता नउठेका कारण गर्नु पर्ने नोक्सानीको रकमसमेत करिव २ प्रतिशतले घटाएको छ । यसपाली बैंकले नोक्सानी व्यवस्थामा ६ करोड १९ लाख रुपैयाँ राखेको छ ।
बैंकले खुद व्याज आम्दानी ९.४८ प्रतिशतले वृद्धि गर्दै ६० करोड ७३ लाख रुपैयाँ गरेको हो । कुल व्याज खर्च व्यापक घटाएका कारण आम्दानी वढेको हो । बैंकले निक्षेपकर्तालाई दिनु पर्ने ब्याज खर्च २३.५३ प्रतिशतले घटाएर ५७ करोड ५२ लाखमा झारेको छ ।
बैंकले निक्षेप सामान्य वृद्धि गर्दै कर्जा वढाएका कारण पुँजी कोष अनुपात घटेको छ । बैंकले पुस मसान्तसम्म निक्षेप ३.२४ प्रतिशतले वढाएको छ तर कर्जा विस्तारको दर भने साढे १० प्रतिशत छ । बैंकको पुस मसान्तसम्म कुल निक्षेप २३ अर्ब ९७ करोड र कुल कर्जा २१ अर्ब १५ करोड रुपैयाँ छ ।
निक्षेपको सामान्य वृद्धिमा कर्जा विस्तार हुँदा पुँजी कोष १०.९७ प्रतिशतमा झरेको हो । अघिल्लो पुसमा यो १२.१९ प्रतिशत थियो । बैंकको खराव कर्जा पनि वढेको छ । १.८२ प्रतिशत रहेको खराव कर्जा २.०२ प्रतिशतमा उक्लिएको छ ।
बैंकको प्रति सेयर आम्दानी ३५.९४ रुपैयाँ छ । प्रति सेयर नेटवर्थ १७८.३१ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात १९.५३ गुणा छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई २६.३२ प्रतिशत लाभांस दिएको थियो । यसमध्ये २१.३२ प्रतिशत नगद लाभांस थियो ।
 

Tata
GBIME
Nepal Life