काठमाडौं। दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा मिथेन ग्यासको विशाल भण्डार रहेको चीनको चाइना जिओलजिकल सर्भेले गरेको प्रारम्भिक अन्वेषणमा देखियो।
त्यहाँ ८० अर्ब ७० करोड घनमिटर ग्यास रहेको तथ्य चिनियाँ कम्पनीले बाहिर ल्याउनेबित्तिकै केही उद्योगी उत्साहित भए। तर त्यसको केही समयमै जेनजी आन्दोलन र निर्वाचन भयो।
निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दुई तिहाई नजिकको मत पाएपछि बालेन्द्र शाह प्रधानमन्त्री बने। मिथेन ग्यास देखेर उत्साहित भएका उनै उद्योगीले बालेनलाई भेट्ने मनस्थिति बनाए।
‘चिनियाँ अध्ययनबाट दैलेखमा मिथेन ग्यास रहेको पुष्टि भएपछि म उत्साहित भएको थिएँ। हाम्रा लागि यो एउटा इन्धनको राम्रो स्रोत पनि हो। लगानी ठूलो लाग्ने भए पनि हामीले केही पैसा हालेर विदेशी लगानी ल्याउन सकिन्छ भन्ने लाग्छ,’ उद्योगी शिवप्रसाद घिमिरेले बिजमाण्डूसँग भने, ‘सरकारले जिम्मा दिने हो भने स्वदेशी लगानीकर्ताका साथै चीन र भारतका लगानीकर्तालाई भित्र्याएर देशको इन्धन प्रयोगमा ल्याउन सकिन्छ भन्नेमा म विश्वस्त छु।’

घिमिरे एसजी ग्रुपका अध्यक्ष हुन्। उनले ग्यास र पेट्रोलबाहेक एक वर्षदेखि भारतबाट लिक्विफाइड न्याचुरल ग्यास(एलएनजी) ल्याएर नेपालमा बिक्री गरिरहेका छन्।
एसजी ग्रुप अन्तर्गतको योग्य होल्डिङ्सले बाराको सिमरामा ७ विघा जग्गामा प्लान्ट बनाएर ग्यास बिक्री गरिरहेको छ। घिमिरे मिथेन ग्यासको भण्डारमा भारत र चीन दुबैतर्फका लगानीकर्ता भित्र्याउन सकिने जिकिर गर्दै त्यसले भूराजनीतिक विषयलाई पनि सन्तुलनमा राखेर काम गर्न सकिने बताउँछन्।
‘सरकारले केही स्टेक राखेर भए पनि निजी क्षेत्रलाई दिने हो भने हामी दुबै देशका लगानीकर्ता ल्याएर काम गर्न सक्छौं। यो प्रोजेक्ट मलाई दिनुपरेन। तर, यसरी यति ठूलो इन्धन भण्डारलाई राख्दा त्यसले लाभ मिल्दैन,’ घिमिरेले भने, ‘अहिलेको सरकारले लगानी भित्र्याएर देशभित्रै सम्भावनाको खोजी गर्नेतर्फ बाटो तय गर्ने अपेक्षा मात्रै राखेको हो।’
उनले तीन महिनाअघि भनेको यो विषयमा अहिलेको सरकारले सामान्य सोधखोज पनि गरेको छैन। मिथेन ग्यास मात्रै होइन नवलपुरको धौवादीमा फलाम खानीको ठूलो भण्डार भेटिएपछि यसलाई थप अघि बढाउन धौवादी कम्पनी लिमिटेड स्थापना भएको थियो।
करिब १५ करोड टन कच्चा फलामको भण्डारण रहेको भनिएको यो ठाउँबाट ९ करोड ६० लाख टन धाउँ फलाम उत्खनन गर्न सकिने अन्वेषणका क्रममा देखिएको थियो। त्यो धाउँ ३५ प्रतिशत शुद्ध फलाम प्राप्त गर्न सकिने खालको देखिएको थियो। चीनको छेन्दुस्थित सिचुवान इन्स्टिच्युट अफ जिओलोजी एन्ड मेटलर्जिकल एक्सप्लोरेसनमा भएको ‘मेटलर्जिकल’ परीक्षणले औद्योगिक रूपमा फलाम र ती फलामबाट स्टिलसमेत उत्पादन गर्न सकिने प्रमाणित भएको छ।
यो फलाम खानीको कच्चा पदार्थको प्रतिवेदन आएपछि नेपालका ठूला स्टिल उद्योग लगानीका लागि अग्रसर भए। सार्वजनिक-निजी साझेदारीमा लगानीको प्रक्रिया अगाडि बढाउन खोजियो। तर, प्रधानमन्त्री बालेन र उनको मन्त्रिमण्डलका तालुकदार मन्त्रीले लगानी गर्न चाहेका उद्योगीलाई खोजेका छैनन्, अगाडि बढाउने त परको विषय भयो।
यी दुई आयोजना नेपालको खानी क्षेत्रका मेगा प्रोजेक्ट हुन्। यी प्रोजेक्टलेे देशको अर्थतन्त्रको नाप र नक्सा नै परिवर्तन हुन्छ। रोजगारीमा छलाङ आउँछ।
निजी क्षेत्र खानीसँग सम्बन्धित धेरै योजना नयाँ सरकार आएपछि अघि बढ्ने अपेक्षामा थिए। उनीहरु खानीसँग सम्बन्धित ऐन नियम संशोधन भएको अवस्थामा ठूलो लगानी भित्र्याउन आतुर थिए।
तर, प्रधानमन्त्री बालेन र उनको टिम लगानी भित्र्याउन होइन, भएकै लगानीलाई समेत निरुत्साहित गर्न लागिरहेका छन्।

उनीहरु २०४६ को परिवर्तनपछि देशले अपनाएको खुला र उदार बजार अर्थतन्त्रविपरीत सरकारी कारखानाको प्रवर्धनमा लागेका छन्। यो जनताले रास्वपा र बालेनलाई दिएको म्यान्डेट होइन। जनताले देशभित्रै लगानी भित्र्याएर अर्थतन्त्र सबल बनाउँदै रोजगारी बढाउनका लागि दिएको म्यान्डेडविपरित बालेनले काम गरिरहेका छन्।
उनी सामाजिक सञ्जालमा पदको गरिमाको समेत ख्याल नगरी कमेन्ट र लाइकमा भिडिरहेका छन्। आइतबार उनका प्रमुख सल्लाहकार कुमार वेनको समाजिक सञ्जालमा गरेको टिप्पणी र त्यसमा प्रधानमन्त्री बालेनको कमेन्टले देशलाई समेत लज्जित बनाएको छ, भलै रास्वपाका लागि त्यो गाह्रय भए पनि।
बालेन र उनको टिमका सदस्य बन्द भएका केही उद्योग जसले अर्थतन्त्रमा शुन्य योगदान दिने अवस्था छन, ती उद्योग खुलाउने भन्दै सामाजिक सञ्जालमा रमाइरहेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले आइतबार पत्रकार सम्मेलनमा भनेजस्तै कुनै व्यक्ति थुन्दा र छोड्दा सामाजिक सञ्जालमा आउने लाइक र कमेन्टमा अहिलेको सरकार रमाइरहेको छ।
बालेनले प्रधानमन्त्री भएपछि सामाजिक सञ्जालमा धेरै पटक सेयर गरेको प्रडक्ट हो, दुग्ध विकास संस्थानको चिज। सरकारी संस्थान प्रवर्धन गर्नका लागि सामाजिक सञ्जालमा सेयर गर्नु स्वभाविक नै मान्न सकिएला।

तर, देशभित्रै रहेका ७० प्रतिशत बजार हिस्सा ओगट्ने निजी डेरीप्रति गरिएको असमान व्यवहारले सरकारप्रतिको विश्वास हराएको छ।
नेपाल डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले प्रधानमन्त्री बालेनबाट देशकै अभिभावकको भूमिका खोजेको बताउँदै ७० प्रतिशत योगदान दिने निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणले आहत बनाएको टिप्पणी गरे।
‘प्रधानमन्त्री हाम्रो अभिभावक हो। उहाँले कसैलाई काखा वा पाखा गर्न पाउनु हुँदैन। तर त्यस्तो भएको छैन। हामी अत्यन्तै आहत भएका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘हामी देशभित्रकै व्यक्ति हौं। हामीलाई पाखा लगाएर अर्थतन्त्र कसरी चल्छ?’
दुई तिहाई नजिकको सरकार आउँदा पनि निजी क्षेत्रले भरोसा गर्न नसकेकैले सेयर बजारले पनि उल्टो गति लिएको हो। एक सेयर विश्लेषकका अनुसार बालेन सरकार बनेपछि झण्डै दुई लाख साना लगानीकर्ता सेयर बजारबाट बाहिरिइसकेका छन्।
‘हेर्नुस्, यो सरकारले सेयर बजारका लागि पुँजीगत लाभकरदेखि धेरै सहजता प्रदान गरिसकेको छ। तर, बजार किन बढिरहेको छैन?,’ उनले प्रश्नसहित उत्तर पनि दिँदै भने, ‘क्यालकुलेसन अगाडि कन्फिडेन्स आउँछ। यो सरकारप्रति लगानीकर्कताको भरोसा। जुनबेला जोसुकै मान्छेलाई उठाइदिन्छ। को क्यालकुलेसन गर्नतिर लाग्छ?’
बालेन सरकारले सुशासन भन्दै पछिल्लो केही समय गरिरहेको धरपकडले धेरै लगानीकर्ता ‘पज’ मोडमा छन्। केही लगानीकर्ताले लगानी देशबाहिर गर्ने भन्दै ठूलो पैसा विदेश लगिसकेका छन्।

‘ठूला लगानीकर्ता थप लगानी गर्ने होइन, भएकै लगानी कसरी व्यवस्थापन गर्ने भन्नेमा पुगिसकेका छन्। यस्तो अनप्रेडिक्टेबल ठाउँमा कसलेे लगानी गर्छ?,’ एक उद्योगीले भने, ‘प्रधानमन्त्री गोल्डस्टारको जुत्ता लगाएर डीडीसीको प्रवर्धन गर्नुहुन्छ। प्रमुख सल्लाहकार पत्रकार पक्राउको २८ जनाको सूची भन्दै मजाक गर्नुहुन्छ। गृहमन्त्री सुधन गुरुङदेखि मन्त्रीहरु उहाँको फेसबुक सेयर गरेर मज्जा लिनुहुन्छ। अनि हामीले कसलाई विश्वास गरेर लगानी विस्तार गर्ने?’










