उद्योगले धमाधम बढाउन थाले उत्पादन, मुख्य औद्योगिक कच्चा पदार्थको आयात ३० प्रतिशतले वृद्धि

मस्त केसी
२०८३ कात्तिक १६ गते ०६:३० | Nov 2, 2026
उद्योगले धमाधम बढाउन थाले उत्पादन, मुख्य औद्योगिक कच्चा पदार्थको आयात ३० प्रतिशतले वृद्धि


काठमाडौं। बजार माग कम भएका कारण क्षमता घटाएका उद्योगले बिस्तारै उत्पादन बढाउन थालेका छन्। चालु आर्थिक वर्षको ३ महिनामा भएको मुख्य औद्योगिक कच्चा पदार्थको आयात वृद्धिले उद्योगहरूले उत्पादन बढाउन थालेको देखाएको हो।

GBIME
Tata

चालु आर्थिक वर्ष २०८३/८४ को साउन-असोजमा मुख्य औद्योगिक कच्चा पदार्थको आयात ३० प्रतिशत हाराहारी बढेको छ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनाको तुलनमा चालु आवको ३ महिनामा फलाम, स्टिल, कोइला, जिप्सम, प्लाष्टिक लगायत औद्योगिक कच्चा पदार्थको आयात बढेको हो।

भन्सार विभागको तथ्यांकअनुसार परिमाण र मूल्य दुवैका आधारमा अधिकांश प्रमुख औद्योगिक कच्चा पदार्थको आयात बढेको देखिन्छ। फलामका पदार्थको आयात परिमाणका आधारमा करिब ३० प्रतिशत र भन्सार मूल्यका आधारमा करिब ३९ प्रतिशतले बढेको छ।

फलामका कच्चा पदार्थ २०८२/८३ को पहिलो ३ महिनामा १२ अर्ब ५१ करोड ६४ लाख रुपैयाँको २९ करोड ७८ लाख ८७ हजार ६१० किलो आयात भएकामा चालु वर्ष सोही अवधिमा १७ अर्ब ४१ करोडको ३८ करोड ७४ लाख ७ हजार किलो भित्रिएको छ।

वस्तुको आयात परिमाणमा भएको वृद्धिलाई बजार माग उकालो लागेको रुपमा लिइएको छ।

‘वस्तुकै परिमाण बढ्नु माग बढेको संकेत हो। भन्सार मूल्य भने अन्तर्राष्ट्रिय बजार, डलर मूल्य लगायतले पनि प्रभाव पार्न सक्छ,’ भन्सार विभागका महानिर्देशक यमलाल भूसालले भने।

गत वर्षको पहिलो त्रैमासको तुलानामा यसपालि कोइलाको आयात परिमाणका आधारमा करिब ३० प्रतिशत र भन्सार मूल्यका आधारमा ५७ प्रतिशतले बढेको छ। कोइला प्रयोग गर्ने उद्योगको उत्पादन गतिविधि, ऊर्जा खपत वा औद्योगिक संचालनको समयमा भएको वृद्धिले यसमा भूमिका खेलेको हुने सक्ने जानकारहरू बताउँछन्।

३ महिनामा ६ अर्ब ५८ करोड मूल्यको ४० करोड ६६ लाख किलो कोइला आयात भएको छ। गत वर्षको साउन-असोजमा ३१ करोड ३५ लाख किलो कोइला आउँदा भन्सार मूल्य ४ अर्ब १९ करोड थियो।

८ मिमिभन्दा कम मोटाइको फलामे बार तथा पाता गत वर्ष ३ महिनामा ४ करोड किलो आयात भएकामा यो वर्ष त्यसमा २२ लाख ३८ हजार किलो बढेको तथ्यांक छ।

१० मिमिसम्म मोटाइ भएका फलामका पाताको आयात दोब्बर भएको छ। गत वर्ष ३ महिनामा ५६ लाख ४७ हजार किलो आयात भएकामा चालु वर्ष १ करोड ३१ लाख किलो भित्रिएको छ। यो १ अर्ब ४० करोड मूल्यको हो।

स्पञ्ज आइरन र स्टिलका कच्चा सामग्रीको आयात पनि बढेको छ। स्पञ्ज आइरन र स्टिलका कच्चा सामग्री चालु वर्ष असोजसम्म ३ करोड ८१ लाख १२ हजार किलो आयात भएको छ। जसको भन्सार मूल्य २ अर्ब ६७ करोड हो।

गत आवको पहिलो ३ महिनामा यस्तो सामग्री १ अर्ब ८७ करोडमा २ करोड ८७ लाख १२ हजार किलो आएको तथ्यांक छ।

निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योगमा प्रयोग हुने कम मोटाइका फलामे पाता र स्टिल उत्पादनमा उपयोग हुने स्पञ्ज आइरनको आयात बढ्नुले निर्माण तथा धातुजन्य उद्योगको उत्पादन बढेको बुझ्न सकिने उद्योगीहरू बताउँछन्।

फलामका मसिना ब्लकको आयात पनि बढेको छ। गत वर्ष साउनदेखि असोजसम्म फलामका मसिना ब्लक १ अर्ब ८१ करोडको ३ करोड २८ लाख ६६ हजार किलो आयात भएकामा चालु आवमा २ अर्ब २७ करोडको ३ करोड ५६ लाख ३३ हजार किलो भित्रिएको छ।

पुनः प्रयोग गर्न मिल्ने फलाम चालु वर्ष ३ महिनामा ३६ लाख ५० हजार किलो आयात भएको छ। यो पोहोर ३ महिनाको तुलनामा डेढ लाख किलो बढी हो।

उत्पादनमूलक उद्योगले उपभोग गर्ने जिप्समको आयात करिब डेढ करोड किलो बढेको छ। चालु वर्ष असोजसम्म ९ करोड ३७ लाख किलो जिप्सम आयात भएको छ।

जिप्समको आयात वृद्धिले निर्माण सामग्री तथा यससँग सम्बन्धित अन्य उद्योगको उत्पादन बढेको सम्भावना देखाउने उद्योगीहरू बताउँछन्।

‘फलाम, स्टिल, जिप्सम लगायतको आयात परिमाणमा देखिएको वृद्धिले केही सुधारको संकेत देखाउँछ। चाडबाडपछि हिउँदको समयमा बढ्ने निर्माण गतिविधिले यसमा भूमिका खेलेको हुनुपर्छ,’ सीएनआई उद्योग समितिका सदस्य, सीए गोपाल अग्रवालले भने।

प्लास्टिकका कच्चा पदार्थको आयात करिब २ लाख किलो बढेको देखिन्छ। चालु आवमा १६ लाख २९ हजार किलो आयात भएको प्लास्टिकका कच्चा पदार्थ गत वर्ष ३ महिनामा १४ लाख २४ हजार किलो भित्रिएको थियो।

त्यसैगरी, जीआई पाइप, भाँडावर्तनमा प्रयोग हुने प्लाष्टिक पोहोर भन्दा १ लाख किलो बढी आयात भएको छ। चालु आवमा २९ लाख किलो आयात भएको यस्तो कच्चा पदार्थ गत वर्ष २८ लाख २ हजार किलो आयात भएको विभागको तथ्यांक छ।

युनाइटेड प्लाष्टिकका अध्यक्ष अजिज अलाम गत वर्षभन्दा प्लाष्टिकको व्यवसाय सहज भएको बताउँछन्।

‘अन्तर्राष्ट्रिय युद्ध, कच्चा पदार्थको अभाव लगायतले गत वर्ष प्लाष्टिक उद्योग दयनीय अवस्थामा थिए। कच्चा पदार्थ नपाइने अवस्था थियो। बाह्य अवस्था बिस्तारै सहज हुँदै गएपछि आन्तरिक बजार पनि सुधारिएको देखिन्छ। तर, मूल्य भने १५-२० प्रतिशत बढेको छ,’ उनले भने।