गाउँघरमा घैँटोको चिसो पानीमा कागती र बिरे नुन मिसाएर पिउँदै हुर्किएका आशिष शर्मा आज त्यही मौलिक स्वादलाई ब्रान्ड बनाएर विश्व बजारमा पुर्याउने अभियानमा छन्।
सन २०१७ मा सिंगापुर बेभरेज स्थापना गरेर बजारमा चिसो पेय पदार्थ लिएर पुग्दा आशिषले एउटा चुनौतीपूर्ण प्रश्नको सामना गर्नुपर्यो, ‘नेपाली प्रडक्ट राम्रो हुन्छ र? कसले किनेर खान्छ? क्वालिटी नै हुँदैन, किन पैसा खर्च गर्नु?’
यस्ता प्रतिक्रियाले उनलाई निराश बनाएनन् बरु नेपाली उत्पादनप्रतिको अविश्वासलाई चिर्ने दृढता थपिदियो।
तर, बजारमा विदेशी ब्रान्डको दबदबा थियो, नेपाली उत्पादनले गुणस्तरमा सम्झौता गर्छ भन्ने धारणा पनि बलियो थियो। नेपाली उत्पादन भएकै कारण उपभोक्ता किनेर खान हिचकिचाएको महसुस गरे सिंगापुर बेभरेजका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर आशिष शर्माले।
चुनौतीबीच उनी नेपाली उत्पादन पनि गुणस्तरीय हुन सक्छन्, अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्छन र विश्व बजारमा आफ्नो पहिचान बनाउन सक्छन् भन्ने विश्वास बोकेर अघि बढे। बजारको विश्वास जित्न स्वाद मात्र पर्याप्त नहुने बरु गुणस्तर र निरन्तरताले पनि आफूलाई प्रमाणित गर्नुपर्छ भन्ने उनले बुझे।

झापाबाट सुरु भएको सिंगापुर बेभरेजको यात्रा अहिले करिब ५० देशसम्म फैलिएको छ। जिरू, निम्बु पानी, फ्रुट जेम्स, टनिक वाटर र किटोजस्ता उत्पादनमार्फत आशिष नेपाली स्वादलाई विश्व बजारमा चिनाउने प्रयासमा छन्।
विदेशको आकर्षक अफरभन्दा आफ्नै देशमा उद्यम
झापाको भद्रपुरमा जन्मिएका आशिषले स्कुले शिक्षा भद्रपुरमै पूरा गरे। विर्तामोडबाट प्लस टु गरेपछि काठमाडौंको साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातक गरे। अन्तर्राष्ट्रिय व्यवसायमा स्नातकोत्तर अध्ययन गर्न दुबई पुगे।
उनको उद्देश्य विदेशमा पढ्नु मात्र थिएन विकसित अर्थतन्त्रमा व्यवसाय कसरी सञ्चालन हुन्छ र अन्तर्राष्ट्रिय बजारमा कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने बुझ्नु पनि थियो।
मास्टर्स पूरा गरेपछि आशिषसँग विदेशमै करियर बनाउने अवसर पनि खुला थियो। विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थी रहेका उनलाई मासिक करिब ३६ लाख रुपैयाँ बराबरको तलब सुविधासहितको जागिर प्रस्ताव आए पनि नेपाल फर्केर व्यवसाय गर्ने सपनाले जित्यो।

उनी भन्छन्, ‘मेरो दिमागमा एउटै कुरा थियो आई ह्याभ टु कम ब्याक टु माई कन्ट्री एन्ड डु अ बिजनेस। आई डन्ट वान्ट टु डु अ जब, आई वान्ट टु बी एन इन्टरप्रेनर।’
आकर्षक तलब र सुरक्षित भविष्यको विकल्प छाडेर नेपाल फर्कने निर्णय सहज थिएन। तर, आशिषका लागि व्यवसाय गर्नु केवल पैसा कमाउने माध्यम थिएन। आफ्नै देशमा उत्पादन गर्ने, नयाँ सम्भावना खोज्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने चाहनु थियो।
आशिषले विदेशमा बस्दा नेपालीप्रति गरिने विभेदपूर्ण व्यवहार नजिकबाट सुनेका र भोगेका छन्। नेपाली भन्नेबित्तिकै ‘सेक्युरिटी गार्डको देश’ भनेर सम्बोधन गर्दा उनलाई चित्त दुख्थ्यो। तर, आज नेपाली ब्रान्डको पेय पदार्थले विदेशीबाट प्रशंसा पाउँदा उनी खुसी छन्। देशको पहिचान बदल्न आफैँबाट सुरुवात गर्नुपर्ने उनको धारणा छ।
बुबाको संघर्षबाट सिकेको व्यवसाय
आशिषको उद्यमशीलताको प्रेरणा परिवारबाटै सुरु भयो। उनका हजुरबुबा पण्डित थिए। पूजापाठ र धार्मिक संस्कारमा आधारित परिवारमा उनका बुबाले व्यवसायको बाटो रोजे। उनी परिवारका पहिलो पुस्ताका उद्यमी थिए।


बुबाले चिया व्यवसाय सुरु गरे। परिवारको आफ्नै चिया बगान र प्रशोधन केन्द्रसमेत थियो। व्यवसाय सञ्चालनका क्रममा बुबाले गरेको संघर्ष र मिहिनेत आशिषले बाल्यकालदेखि नै नजिकबाट देखे। १६ वर्षकै उमेरमा उनी बुबासँगै व्यवसायमा संलग्न हुन थाले। पढाईसँगै व्यवसायमा सघाउँदा बजार, ग्राहक, उत्पादन र वितरण प्रणालीबारे व्यवहारिक ज्ञान हासिल गरे।
भन्छन्, ‘मेरा बुबाले आफ्नो समयमा उत्कृष्ट काम गर्नुभयो। उहाँ यस्तो परिवारबाट आउनुभएको थियो, जहाँ पूजापाठबाहेक अरू केही हुँदैनथ्यो। तर, उहाँले हामी छोराछोरीलाई शिक्षा दिनुभयो र व्यवसायको बाटो रोज्नुभयो।’
बुबाले व्यवसायमा गरेको संघर्षले आशिषमा पनि उद्यमी बन्ने प्रेरणा दियो। दुबईबाट फर्केपछि उनले बुबाको व्यवसायमा जोडिनुभन्दा आफ्नै व्यवसाय सुरु गरेर शुन्यबाट नै केही गर्ने निर्णय गरे।
नेपाल फर्केपछि उनले बजार अध्ययन गरे। बजारमा विदेशी ब्रान्डका शीतल पेय पदार्थको दबदबा थियो। खाद्य सामग्रीदेखि पेय पदार्थसम्म विदेशी उत्पादनले बजार ओगटेको देख्दा उनी सोच्थे नेपालमै किन उत्पादन नगर्ने?

उनी भन्छन्, ‘नेपालमा बनेका उत्पादनलाई विश्वले खासै चिनेको छैन। हामी धेरैजसो बहुराष्ट्रिय कम्पनीका उत्पादनमा निर्भर छौँ। त्यसैले किन पूर्ण रूपमा नेपाली उत्पादन नबनाउने? नेपालमै जन्मिएको, नेपालमै तयार गरिएको र नेपाली पहिचान बोकेको उत्पादन किन बजारमा नल्याउने?’
यही सोचले उनलाई शीतल पेय पदार्थको उत्पादनतर्फ आकर्षित गर्यो। बजारको माग, उपभोक्ताको स्वाद, कच्चा पदार्थ र उत्पादन प्रविधिबारे लामो समय अध्ययन तथा अनुसन्धान गरेपछि सन् २०१७ मा ‘सिंगापुर बेभरेज’ स्थापना भयो।
सुरुवातमा लगानी जुटाउनु नै ठूलो चुनौती थियो। झापाको एउटा सानो गाउँमा बसेर बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्ने कुरा धेरैका लागि विश्वास गर्न कठिन थियो।
‘हामीले व्यवसाय सुरु गर्दा बैंकले समेत हामीलाई खासै पत्याएन। झापाको एउटा ठिटो बहुराष्ट्रिय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने कुरा गर्छ, मानिसहरूले हामीलाई विश्वास गर्दैनथे,’ उनी भन्छन्।


सुरुवाती लगानी दुई करोड रुपैयाँभन्दा कम थियो। आज कम्पनीको पुँजीले ४० करोड रुपैयाँ पार गरेको आशिष बताउँछन्। उनी भन्छन्, ‘आज कम्पनीको साझेदार नै बैंक हो।’
हजुरबुबाको रेसिपीबाट जन्मिएको जिरू
सिंगापुर बेभरेजका हरेक उत्पादनका आ-आफ्नै कथा छन्। जसमध्ये जिरूको कथा आशिषको बाल्यकालसँग जोडिएको छ। जिरा र बिरेनुन हरेक नेपालीको भान्छामा सामान्य रूपमा प्रयोग हुने सामग्री हुन्। बाल्यकालमा पेटसम्बन्धी समस्या हुँदा उनका हजुरबुबाले जिरा पिसेर बिरेनुन मिसाई दिने गर्थे।
त्यही घरेलु रेसिपीलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्ने सोचले जिरूको जन्म भयो।
आशिष भन्छन्, ‘जिरू मेरो हजुरबुबाको रेसिपी हो, म सानो हुँदा हजुरबुबाले जिरा पिसेर बिरेनुन मिसाई खुवाउनुहुन्थ्यो त्यसले मेरो पेटलाई आराम दिन्थ्यो त्यसलाई नै ब्राण्डिङ गर्नुपर्छ भन्ने भयो।’
नेपाली समाजमा मसला मिसाएर बनाइने नुनिलो स्वादका पेय पदार्थको पुरानो चलन छ। आशिषले यही स्वादलाई आधुनिक उत्पादनमा रूपान्तरण गरे।
त्यस्तै, निम्बु पानी पनि नेपाली परम्परासँग जोडिएको उत्पादन हो। पहिले पाहुना आउँदा घैँटोको चिसो पानीमा कागती निचोरेर चिनी नुन मिसाई दिने चलन थियो। अहिले बजारमा विभिन्न रङ र स्वादका पेय पदार्थ उपलब्ध हुँदा त्यो परम्परा हराउँदै गएको उनको बुझाइ छ।

त्यही मौलिक स्वादलाई आधुनिक उत्पादनमार्फत पुनः स्थापित गर्ने सोचले निम्बु पानी बजारमा ल्याइएको हो।
‘हामी बजारले के भनिरहेको छ र उपभोक्ताले के चाहिरहेका छन् भन्ने कुरा सुन्छौँ। नेपालको मौलिकता जोगाउँदै नेपाली बजारका लागि उपयुक्त उत्पादन बनाउने प्रयास गर्छौ’ आशिष भन्छन्।
त्यस्तै, किटो चिनी नभएको पेय हो जसमा विभिन्न भिटामिनहरू छन्। यसलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने आशिषको योजना छ।
गुणस्तरमा सम्झौता नगर्ने अठोट
नेपाली उत्पादनप्रतिको अविश्वास बदल्नु सिंगापुर बेभरेजका लागि सबैभन्दा ठूलो चुनौती थियो। उत्पादन चाख्दा राम्रो प्रतिक्रिया आए पनि नेपाली उत्पादनको गुणस्तर लामो समयसम्म कायम रहन्छ कि रहँदैन भन्ने प्रश्न उपभोक्तामा अझै पनि छ। विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न उत्पादन स्वादिलो भएर मात्र पुग्दैन, गुणस्तर र निरन्तरता पनि कायम राख्नुपर्छ भन्ने आशिषको बुझाइ छ।

सिंगापुर बेभरेजमा पानीको गुणस्तर, कच्चा पदार्थ, प्रशोधन प्रक्रिया र सफाइलाई विशेष ध्यान दिइने उनी बताउँछन्। कम्पनीले पानीलाई १५ चरणको फिल्ट्रेसन प्रक्रियाबाट प्रशोधन गर्ने र उत्पादन परिसरमा उच्चस्तरको सफाइ कायम राख्ने जनाएको छ।
उनी भन्छन् , ‘मेरो सोच एउटै थियो राम्रो र विश्वस्तरीय उत्पादन बनाउनुपर्छ। बजारमा उपलब्ध कुनै पनि उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने उत्पादन बनाउनुपर्छ। त्यसका लागि क्वालिटीमा कम्प्रोमाइज गर्नु हुँदैन।’
आशिषका लागि व्यवसायमा सफलता भनेको केवल बिक्री बढाउनु होइन, उपभोक्ताको विश्वास जित्नु पनि हो। उनका अनुसार नेपाली उत्पादनप्रतिको अविश्वासको मुख्य कारण गुणस्तर नियन्त्रणमा देखिने कमजोरी हो।
आशिषका अनुसार नेपाली उत्पादनप्रति विश्वास बढाउन सबैभन्दा पहिले गुणस्तरको मापदण्ड कायम राख्नुपर्छ। स्विट्जरल्यान्ड, जापान, कोरिया र अस्ट्रेलियाजस्ता देशले कडा खाद्य सुरक्षा मापदण्ड अपनाएकै कारण आफ्ना उत्पादनप्रति विश्वास स्थापित गर्न सकेका छन्।

नेपालमा पनि सरकारले र सम्बन्धित सबै पक्षले कुनै पनि अवस्थामा गुणस्तरमा सम्झौता नगर्ने प्रतिबद्धता गर्नुपर्ने उनको धारणा छ।
पहिलो निर्यात अमेरिका, अहिले ५० देशमा निर्यात
सिंगापुर बेभरेजले आफ्ना उत्पादन पहिलो पटक सिधै निर्यात गरेको देश अमेरिका हो। सुरुवातमा जिरूका करिब ५ सय केस अमेरिकी बजारमा पठाइएको थियो।
अमेरिकी बजारमा शीतल पेय पदार्थको ठूलो खपत हुन्छ। त्यहाँ आफ्नै उत्पादन र दक्षिण एसियाली ब्रान्डहरू पनि उपलब्ध छन्। यस्तो प्रतिस्पर्धी बजारमा नेपाली उत्पादनलाई स्थापित गर्नु सहज थिएन। तर, पहिलो खेपको प्रतिक्रिया उत्साहजनक रह्यो।
आशिष अमेरिकाको अनुभव सुनाउँछन्, ‘उनीहरूले उत्पादन चाखेपछि निकै प्रभावित भएका थिए। उत्पादन राम्रो भएको बताए र यो नेपालमा बनेको हो भनेर सोधे।’

अमेरिकापछि बेलायत, अस्ट्रेलिया, भारत, जापान र युरोप लगायतका देशमा उत्पादन निर्यात हुन थाल्यो। अहिले कम्पनीका उत्पादन करिब ५० देशमा उपलब्ध रहेको आशिष बताउँछन्।
नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उनको सपना बिस्तारै वास्तविकतामा परिणत हुँदै गएको छ। तर, उनी यसलाई आफ्नो व्यक्तिगत सफलता मात्र मान्दैनन्।
आशिष भन्छन्, ‘नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कुनै एक व्यक्ति वा कम्पनीको प्रयासले मात्र सम्भव हुँदैन। यो देशकै सामूहिक प्रयास हुनुपर्छ। अन्य देशले आफ्ना उत्पादनलाई देशकै पहिचानका रूपमा प्रचार गर्छन्।’
त्यसैले उनी नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्न सरकार, निजी क्षेत्र र व्यवसायी सबैको साझा प्रयास आवश्यक देख्छन्।
सिंगापुर बेभरेजमा हाल करिब ३५० भन्दा बढी कर्मचारी कम्पनीसँग जोडिएका छन्। कम्पनीको यो आठ वर्षको यात्रामा कर्मचारी, वितरण प्रणाली, बैंक र सहयोगीहरूको सामूहिक मेहनतले ठूलो भूमिका खेलेको आशिष बताउँछन्।


उनी भन्छन्, ‘म कम्पनीको अगाडिको अनुहार हुन सक्छु, तर मेरो पछाडि धेरै मिहिनेती र समर्पित व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूले गर्दा नै सम्पूर्ण प्रणाली चलिरहेको छ।’
भविष्यको योजना : नेपाली उत्पादनलाई विश्वव्यापी पहिचान
सिंगापुर बेभरेजले आगामी दिनमा थप उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीको अनुसन्धान तथा कोशिस चिसो पेय पदार्थ र जुसमा मात्र सीमित नभई अन्य क्षेत्रमा पनि भइरहेको आशिष बताउँछन्।
उनका अनुसार कम्पनीको ध्यान गुणस्तरीय उत्पादन, नयाँ बजार र नेपाली पहिचानलाई विश्व बजारमा स्थापित गर्ने दिशामा केन्द्रित छ।
‘मानिसहरूले गर्वका साथ ‘यो नेपाली उत्पादन हो’ भन्न सकून् र यसले विश्वभर नेपाललाई प्रतिनिधित्व गर्न सकोस् यही नै हाम्रो उद्देश्य हो,’ आशिष भन्छन्।

नेपालमा अवसर छैन, विदेश गएर मात्रै भविष्य बनाउन सकिन्छ भन्ने सोच राख्ने युवाहरूलाई आशिषको सन्देश स्पष्ट छ – विदेशमा पनि संघर्ष छ, नेपालमा पनि संघर्ष छ। फरक यति हो, नेपालमा गरिने संघर्षले आफ्नै देशको विकासमा पनि योगदान पुर्याउँछ।
उनका अनुसार युवाहरूले पैसा, ज्ञान र सीप सबै भएपछि मात्रै काम सुरु गर्छु भन्ने सोच राख्नु हुँदैन। भन्छन् , ‘यदि तपाईं मसँग पैसा भएपछि, ज्ञान भएपछि, सीप भएपछि वा अरू सबै कुरा भएपछि काम गर्छु भन्नुहुन्छ भने त्यो आफूलाई मेहनत गर्नबाट टाढा राख्ने बहाना मात्र हो। आफ्नो कम्फर्ट जोनबाट बाहिर ननिस्किने बहाना हो।’
देश संक्रमणबाट गुज्रिएको अवस्थामा युवाहरू स्वयं प्रेरित भएर काम गर्नुपर्ने उनको बुझाइ छ। बजारमा जताततै विदेशी कम्पनीले ओगटेको अवस्थामा आफैले त्यसलाई प्रतिस्थापन गर्न कस्सिनु पर्ने उनी सुझाउँछन्।
‘अवसर आफैँ आएर तपाईंको ढोकामा रातो कार्पेट बिछ्याउँदैन। आफैँ बजारमा जानुपर्छ र संघर्ष गर्नुपर्छ,’ आशिष भन्छन्, ‘विश्वास गर्नुहोस्, आजभन्दा राम्रो अवसर, आजभन्दा राम्रो समय र नेपालजस्तो राम्रो ठाउँ काम गर्नका लागि अरू छैन।’










