काठमाडौं। सत्ताबाहिर रहँदा आफ्ना नेता र सांसदलाई ‘फास्ट ट्र्याक’मा कारबाही गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिला हिंसासहितको अडियो सार्वजनिक भएका केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनारका बारेमा अलमल गरिरहेको छ।
तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठ र महामन्त्री मुकुल ढकालमाथि तत्काल कारबाही गरेको रास्वपाले खगेन्द्रलाई भने दुई हप्तादेखि ‘हेर्दाहेर्दै’मा राखेको छ।
विवादित व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो सार्वजनिक भएको ३ दिनमै ढाकाकुमारलाई सांसदबाटै हटाएको रास्वपाले २०८१ असार १९ गते मुकुललाई पार्टी हित विपरीत काम गरेको भन्दै ७ दिनका लागि निलम्बन गरी पछि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।
रास्वपाले अरू सांसदहरूलाई संसद्मा दिएको अभिव्यक्तिकै आधारमा सचेत गराउने गरेको छ। सचेतक क्रान्तिशिखा धिताललाई पार्टीको नीति विपरीत सुकुम्वासी समस्यालाई लिएर संसद्मा सरकारको विरोध गरेको भन्दै रास्वपाले सचेत गराएको थियो।
खगेन्द्रलाई तत्काल कारबाही गर्नुपर्ने दबाब भए पनि रास्वपाले आलटाल गरिरहेको छ। खगेन्द्रको विवादित अडियो बाहिरिएको भोलिपल्ट असोज २७ गते नै रास्वपाले छानबिन प्रक्रिया अघि बढाएकोमा अहिलेसम्म निष्कर्षमा पुगेको छैन। सार्वजनिक कार्यक्रममा सहभागी हुन भने रास्वपाले खगेन्द्रलाई रोक लगाएको छ।
रास्वपाको अनुशासन आयोगले असोज ३० गतेदेखि हरिचन्द्र भट्टराईको संयोजकत्वमा गरिरहेको छानबिनमा प्रमाण संकलन, पीडित महिला तथा खगेन्द्रसँग पहिलो चरणको सोधपुछ भएको छ। खगेन्द्रले लिखित रूपमा आरोप अस्वीकार गरेका छन्। समितिले खगेन्द्रलाई फेरि बोलाएर सोधपुछ गर्नेछ भने त्यसपछि अडियोको प्राविधिक जाँच गर्ने/नगर्नेबारे निर्णय गर्नेछ।
अडियोको प्राविधिक जाँच गरिएको अवस्थामा अझै अनुसन्धानको काम लम्बिने छ। ‘कानुनी रूपमा के-के हुन्छ। अहिले महिलासँगको अन्तर्वार्ता पनि आयो। त्यसले पनि अलिकति हामीलाई थोरै घुमाइदियो। अडियोको प्राविधिक परीक्षण गर्नुपर्यो भने समय लाग्छ । हाम्रोबाट धेरै समय लाग्दैन, हामी अली परै पुगिसकेका छौँ,’ भट्टराईले भने।
खगेन्द्र रास्वपाका केन्द्रीय सदस्यका साथै बाँके-३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। समितिमा अहिले मुख्य गरी नैतिक विषय मात्रै बनाउने वा केन्द्रीय सदस्यबाट कारबाही गर्न निचोडमा पुग्ने भन्नेबारे छलफल भइरहेको छ। पीडित महिलाको अन्तर्वार्ता, सुनारको इन्कारी बयान तथा विभिन्न निकायबाट प्राप्त प्रमाणका आधारमा मात्रै निचोडमा समिति पुग्न नसकेको हो।
‘अहिले हामीले अनुसन्धानलाई दोस्रो चरण भनेका छौं। हाम्रो तर्फबाट चाँडै रिपोर्ट दिन्छौं। हामीले रिपोर्ट दिएर मात्रै पनि हुँदैन यसमा कानुन विषय बनाउने कि नैतिक मात्रै भनेर पार्टीले सोच्ने विषय हो। हामीले अहिलेसम्म भेट्टाएको त्यही अडियो मात्रै हो। प्रत्यक्ष निर्वाचित सांसदलाई अडियोका आधारमा मात्रै के कस्तो कारबाही गर्ने थप छलफल होला,’ एक सदस्यले भने। समितिले रिपोर्ट दिएपछि खगेन्द्रलाई के कस्तो कारबाही गर्ने भन्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने छ।
छानबिन समितिमा भएका एक अर्का सदस्यका अनुसार समितिलाई राजनीतिक दबाब समेत आइरहेको छ। सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह पक्षबीच कारबाही गर्ने/नगर्नेबारे एकमत छैन। रवि पक्षले कारबाहीको निचोडमा पुग्नुपर्ने भन्दै दबाब दिइरहेको छ।
तर बालेन पक्षले आरोप लागेकै आधारमा सांसदलाई कारबाही गर्न नसकिने अडान लिइरहेको छ। सार्वजनिक लेखा समितिमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग भएको आरोप प्रत्यारोप तथा खगेन्द्रको व्यवहारको विषयलाई लिएर स्पष्टीकरण सोध्नुपर्ने माग रास्वपाभित्र व्यापक रूपमा उठे पनि त्यति बेला उनले रास्वपाको आन्तरिक विवादका कारण छुट पाएका थिए।
महिला हिंसाको अडियो प्रकरणमा खगेन्द्रले आरोपलाई घुमाउरो तरिकाले स्वीकार गरेकाले कारबाहीको निचोडमा रास्वपा पुग्ने रवि निकट एक नेताको दाबी छ। ‘उनले स्वीकारेका पनि छन्। बाहिर त उनले अस्वीकार गर्यो भन्ने कुरा मात्रै आएको छ। उनीमाथि निर्मम कारबाही हुन्छ। ढिला भएको एउटा कारण त यो बीचमा दसैं पनि पर्यो नि,’ ती नेताले भने।









