रसुवा बाढीले टनेलमा फसेकाको उद्धारका लागि भारतले रेस्कयू टिम पठाउने



बिजमाण्डू
२०८३ भदौ १२ गते २०:५८ | Aug 28, 2026
रसुवा बाढीले टनेलमा फसेकाको उद्धारका लागि भारतले रेस्कयू टिम पठाउने


काठमाडौं । भारत सरकारले टनेल रेस्क्यू टिम नेपाल पठाउने भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बाढीबाट प्रभावित जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरुको उद्धार गर्न टोली पठाउन लागेको बताएका हुन्। नेपालको आग्रहमा उक्त टोली पठाउन लागेको हो।

Vigo
GBIME
Tata

जयसवालले टोलीसँगै प्राविधिक तथा स्वास्थ्यकर्मीको टोली पनि पठाउने तयारी गरेको जनाएका छन्।

‘सो टोलीलाई चाहिने सामाग्रीबारे अध्ययन गर्न पहिला रेकी टोली पठाइएको छ,’ उनले भने।

बुधबार आएको बाढीपछि विभिन्न जलविद्युत आयोजनामा अहिले धेरै संख्यामा मानिस फसिरहेको सूचना आइरहेको छ। तर, सुरुङबाट उद्धार गर्ने दक्ष जनशक्ति र प्राविधिकको नेपालमा अभाव हुँदा सो कार्य सुरु हुन सकेको छैन।

उनले त्रिशूली १ जलविद्युत् आयोजनामा कार्यरत ६३ जना भारतीय नागरिकको उद्धार भएको बताए। उनीहरुलाई हाल काठमाडौंस्थित भारतीय दूतावासको सम्पर्कमा राखिएको छ।

उनले नेपाल सरकारसमक्ष भारतको नेशनल डिजास्टर रेस्पोन्स टिम (एनडीआरएफ) टिम पनि पठाउन प्रस्ताव गरिएको बताए।

केरुङ-रसुवा बाढीपछि भारतले बिहार र उत्तर प्रदेशमा २० वटा एनडिआरएफ टिमलाई तैथानी अवस्थामा राखेको थियो। भारतको विदेश मन्त्रालयमा हरेक दिन काठमाडौं र बेइजिङका दूतावासका राजदूतहरूसँग छलफल हुने गरेको छ।

भारतीय विदेश मन्त्री एस जयशंकरले शुक्रबार पनि दुवै देशका राजदूतसँग बाढी पछिको पछिल्लो अवस्थासँगै राहत र उद्धारकार्यबारे ब्रिफिङ लिए। सोही छलफलमा नेपालमा थप राहत सामाग्री पठाउनेबारे कुराकानी भएको थियो।

बाढीपछि नेपालमा फसेका तमिलनाडुका तीर्थयात्रीहरूलाई नेपाली सेनाले उद्धार गरेको थियो। स्वदेश फर्किएका उनीहरूलाई जयशंकार आफैं गएर विमानस्थलमा भेटेका थिए।

यस्तै, सडकमार्ग तथा यातायात सहज बनाउन पनि भारतले सहयोग गर्ने भएको छ। त्यसका लागि भारतले बेलिब्रिज उपलब्ध गराउने प्रस्ताव पनि गरेको छ।

‘एउटा बेलिब्रिज नेपालमै छ। त्यो उद्धार र राहतका लागि प्रयोग गर्न सकिन्छ। हामीले अरु बेलिब्रिज उपलब्ध गराउनेबारे प्रस्ताव गरेका छौं। बाढीका कारण सम्पर्क टुटेका जिल्लामा बेलिब्रिज जडानका लागि चाहिने प्राविधिक पठाउने पनि प्रस्ताव गरेका छौं, ‘उनले भने।  

उनले नेपालमा हालै बाढीपछि कम्तीमा ३२० जना भारतीय नागरिक र १०० जना गैरआवासीय भारतीय सम्पर्कविहीन रहेको बताएका छन्।  भारतीय विदेश मन्त्रालयले शुक्रबार जनाएको छ। त्यस्तै, चीनतर्फको सीमा क्षेत्रमा रहेका करिब ४०० जना भारतीय नागरिक सुरक्षित रहेका उनले जानकारी दिए। चिनियाँ क्षेत्रमा फसेका ९६ जना भारतीय नागरिकहरु स्थलमार्ग हुँदै सुरक्षित रूपमा नेपाल प्रवेश गरिसकेको र उनीहरूलाई स्वदेश फर्काउने प्रयास भइरहेको उनले जानकारी दिए।

उनले भारतले शुक्रबार साँझ १३ टन राहत सामग्री बोकेको तेस्रो उडान नेपाल पठाएको पनि जानकारी दिए। योसँगै भारतले नेपाललाई कुल ६० टन राहत सामग्री हस्तान्तरण गरिसकेको छ।