काठमाडौं। भोटेकोशी बाढीले ल्याएको लेदोका कारण काठमाडौं उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग बुधबार अपराह्नदेखि बन्द छ। यो राजमार्ग बन्द हुँदा काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुको आपूर्ति समेत रोकिएको छ।
खाद्यान्न, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन रोकिएका छन्। हेभी गाडी चल्ने एक मात्रै राजमार्गमा रहेको लेदो हटाउन नसक्दा आपूर्ति श्रृंखला टुटेर समस्या गहिरिँदै गएको छ।
काठमाडौंको ‘लाइफलाइन’को रुपमा रहेको राजमार्गबाट लेदो हटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सडक विभागको टोली खटिए पनि खुलाउन सकिएको छैन। त्यसको कारण हो, लेदो हटाउन आवश्यक डोजर र टिप्परको अभाव।
बिहीबार गल्छी र बैरेनीको केही भागमा सडक खुलाएको थियो। सुरक्षाकर्मीले एकतर्फीरुपमा भए पनि सडक खुलाउन प्रयास गरेका थिए। तर, सडकबाट पन्छाएको लेदो र बालुवा पुनः सडकमा नै थुप्रिएका कारण प्रयास सफल हुन नसकेको सुरक्षा निकायले बताएका छन्।
धादिङको गलौदीदेखि बैरेनीसम्मको १३ किलोमिटर सडकमा बाक्लो मात्रामा लेदो र बालुवा थुप्रिएको छ। सुरक्षाकर्मीका अनुसार कुनै ठाउँमा ४ फिटभन्दा बढी लेदो छ। सुरुमा एक्साभेटर र डोजरको अभावले पन्छाउन समस्या भएको त्यहीँ खटिएका एक सुरक्षाकर्मीले बताए।

‘निस्किएको लेदो र बालुवा कहाँ राख्ने भन्ने समस्या भयो। साइडमा राख्दा फेरि पनि बगेर सडकमा नै आइरहेको छ,’ नेपाल प्रहरीका एसएसपी होविन्द्र बोगटीले भने।
एसएसपी बोगटीलाई अहिले भोटेकोशी नदीको बाढीको कारण अवरुद्ध भएका सडक खुलाउन समन्वय गर्ने जिम्मेवारी दिइएको छ। बिहीबार एसएसपी बोगटी र एसएसपी रमेश थापाको टोलीले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको थियो।
धादिङको गलौदीको ५ किलोमिटर सडकमा सबैभन्दा धेरै लेदो जमेको छ। यसलाई हटाउन सबैभन्दा समस्या रहेको सडक विभागका उपमहानिर्देशक इन्जिनियर शुभराज न्यौपानेले बताए।
‘फ्याँक्ने ठाउँ नै छैन। टिपरमा राखेर लैजाँदा पनि सडकमा नै खस्ने अवस्था छ,’ उप-महानिर्देशक न्यौपानेले भने।
शुक्रबार बिहानैदेखि १० वटा एक्साभेटर प्रयोग गरेर काम भएको थियो। तर, प्रशासनले तिब्बतबाट पुनः बाढी आएको सूचना जारी गरेपछि अहिले काम होल्ड गरिएको छ।
लेदो पन्छाउन खटिएका प्राविधिकहरुको जोखिमलाई पनि ध्यान दिँदै काम होल्ड गरिएको उनले बताए।










