लेन्दे खोलामा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस



बिजमाण्डू
२०८३ भदौ १० गते ०९:३५ | Aug 26, 2026
लेन्दे खोलामा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस


काठमाडौँ । लेन्दे खोलामा बाढी जाँदा रसुवा भन्सार नाकामा ठूलो क्षति पुगेको छ। अविरल वर्षासँगै गएको बाढीले नाका क्षेत्र तहसनहस बनाएको स्थानीयले बताएका छन्।

Vigo
GBIME
Tata

रसुवाका सहायक सिडिओ ध्रुव प्रसाद अधिकारीले टिमुरे र सँगैको अर्को एउटा बजार तहसनहस भएको जानकारी दिए।। रसुवा भन्सार क्षेत्रमा ठूलो सङ्ख्यामा गाडीहरू र अन्य सामग्रीहरू थिए।

बाढीले ती सबै सामग्रीहरू बगाएको रसुवाका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले जानकारी दिए।

‘बाढीले ठूलो क्षति गरेको छ। बजार र भन्सार पुरै बगाएको छ। हामी अहिले जङ्गलमा बसिरहेका छौं । अस्ति भर्खर निर्माण गरेको पुल पनि बगेको छ।’ उनले भने।

सहायक सिडिओ अधिकारीले बाढी निकै ठूलो भएको भन्दै रसुवा, धादिङ र नुवाकोट क्षेत्रको तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने बताए।

‘तटीय क्षेत्रमा अहिले नै सतर्कता अपनाउनुपर्ने देखिन्छ,’ उनले बिजमाण्डूलाई भने।

राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै भोटेकोशी नदीमा बाढी/पानीको बहाब उच्च रहेकोले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भै बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई शतर्कता अपनाई सुरक्षित स्थानमा बस्नु हुन अनुरोध गरेको छ।