काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ। प्राधिकरणले आइतबार विभिन्न प्रदेश, महाशाखा तथा विभागका निर्देशकहरूको सरुवा र पदस्थापन गरेको हो।
निर्णय अनुसार उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक मदन तिमिल्सिनालाई इन्जिनियरिङ निर्देशनालयमा तानिएको छ।
किरण कुमार श्रेष्ठलाई उत्पादन निर्देशनालयको जिम्मेवारी दिइएको छ। रञ्जु पाण्डेलाई स्मार्ट मिटरबाट आयोजना व्यवस्थापन विभागको निर्देशकमा सरुवा गरिएको छ।
कोशी प्रादेशिक कार्यालयमा प्रमुख कमल आचार्यलाई विद्युत् व्यापार विभागको प्रमुखमा तानिएको छ। विद्युत् व्यापार विभागका प्रमुख थर्कबहादुर थापालाई मध्यम भोल्टेज ग्रीड विकासमा पठाइएको छ। कोशी प्रादेशिक कार्यालयमा जितेन्द्र यादवलाई पठाइएको छ।
यस्तै भार प्रेषण केन्द्रको प्रमुख चन्दनकुमार घोषलाई चुहावट नियन्त्रण महाशाखामा तानिएको छ। घोषको ठाउँमा अच्युतबाबु घिमिरेलाई पठाएको छ।
ग्रीड सञ्चालन विभाग बानेश्वरमा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुखमा कार्यरत विक्रम अमात्य ल्याइएको छ। अमात्यको ठाउँमा सुरज गौतमलाई पठाइएको छ। निर्देशक गणेश लुइँटेललाई संस्थागत वित्तीय विभागमा सरुवा गरिएको छ। जंगबहादुर चन्दलाई स्मार्ट मिटरमा पठाइएको छ।
संस्थागत वित्तीय विभागका उमेश भण्डारीलाई आन्तरिक लेखाको जिम्मेवारी दिइएको छ। समीर पोखरेललाई लेखा विभागमा लगिएको छ।











