काठमाडौं। भोटेकोशी नदीको बाढीले रसुवा नाका ध्वस्त भएपछि अटो व्यवसायीले गाडी ल्याउन अब तातोपानी र कोरला नाका प्रयोग गर्ने भएका छन्।
व्यवसायीले दसैंका लागि भनेर अर्डर गरेका र हाल चीनतर्फ रहेका सवारीसाधन वैकल्पिक नाकाबाट ल्याउन पहल थालेका छन्।
नाइमा, नाडा र दसैंलाई लक्षित गर्दै मगाइएका तर चीनतर्फ रहेका गाडी रसुवा नाका ध्वस्त भएका कारण अब तातोपानी र कोरला नाकातर्फ डाइभर्ट गरेर ल्याउने तयारी अगाडि बढाएको व्यवसायीहरुले बताएका छन्।
पानीजहाजबाट भारत हुँदै ल्याउन भाडा महँगो पर्ने र समय पनि तीन महिनाभन्दा बढी लाग्ने भएकाले आफूहरु कोरला र तातोपानी नाकाबाट गाडी भित्र्याउने विकल्पमा लागेको व्यवसायीहरुको भनाइ छ।
चिनियाँ गाडीका एक बिक्रेताका अनुसार कोरला र तातोपानी नाकाबाट ल्याउनका लागि केही गाडीलाई मुभ गरिसकिएको छ। उनका अनुसार धेरैले व्यवसायीले अहिले तातोपानी नाकाको विकल्पका रुपमा लिएका छन्।
दुबै नाकामा सडक पूर्वाधारको समस्या
तर, कोरला र तातोपानीबाट गाडी ल्याउन सहज छैन। व्यवसायीहरुका अनुसार कोरला नाका प्रयोग गर्दा रुट लामो हुन्छ।
कोरला हुँदै गाडी ल्याउँदा तातोपानीको तुलनामा कम्तीमा ५० हजार रुपैयाँसम्म अतिरिक्त लागत पर्ने व्यवसायीको भनाइ छ।साथै सडकको अवस्था पनि राम्रो छैन।
कोरला रुटमा पर्याप्त चार्जिङ पूर्वाधारसमेत छैन। लोमान्थाङमा चार्जिङ स्टेसन रहे पनि लामो दूरीमा इभी संचालन गर्दा चार्जिङ पूर्वाधारको अभाव चुनौती बन्नेछ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले कोरला नाका हुँदै गाडी ल्याउन सडक पूर्वाधार भरपर्दो नरहेको बताए।
नाका परिवर्तन गर्ने निर्णयसँगै भन्सार डिक्लेरेसन, इनभ्वाइस, लजिस्टिक, कन्टेनर व्यवस्थापन, सडकको अवस्था र चार्जिङ पूर्वाधार सहज नरहेको व्यवसायीहरु बताउँछन्। तर उनीहरुका लागि डाइभर्ट गरेर गाडी ल्याउनु बाध्यता बनेको छ।
‘अहिले कोरला र तातोपानी नाका पनि कम्लिकेटेड छ। तातोपानीको भर छैन। रसुवाको कुरै भएन। अब ३/४ वर्ष चीनसँग व्यापार सहज हुने देखिंदैन,’ पारामाउन्ट मोटर्समा प्रबन्धक सुनिलबहादुर क्षत्रीले भने।
कोदारी क्षेत्रको सडक भासिएका कारण तातोपानी नाका साउन १ देखि बन्द रहेकामा सडक बल्ल मर्मत भएको छ।
त्यसो त रसुवाबाट गाडी ल्याउन पनि सहज थिएन। व्यवसायीका अनुसार पछिल्लो समय सडकमा कन्जेसन देखिएको भन्दै भन्सार कार्यालय रसुवाले नयाँ गाडीको भन्सार पास गत शुक्रबारदेखि नै रोकिदिएको थियो। जसका कारण भन्सारमा रहेका आफ्ना गाडी बाढीमा परेको व्यवसायीहरुको भनाइ छ।
‘गत शुक्रबारदेखि नै गाडी पास भएको थिएन। लसुन लगायत सामानलाई प्राथमिकता दिएर खाली कन्टेनर पठाउने काम भएको थियो,’ व्यवसायीले भने, ‘भन्सारले फटाफट भन्सार जाँचपास गरिदिएको भए हाम्रा यति धेरै गाडी बाढीमा बिलिन हुने थिएनन्।’
व्यवसायीहरुका अनुसार बुधबारको बाडीले रसुवामा करिब एक हजार गाडी बगाएको थियो।











