नेपाल रिइन्स्योरेन्सलाई २०% व्यवसाय सुनिश्चित, प्राधिकरणले गर्‍यो निर्देशिका संशोधन



बिजमाण्डू
२०८३ भदौ १२ गते १२:२६ | Aug 28, 2026
नेपाल रिइन्स्योरेन्सलाई २०% व्यवसाय सुनिश्चित, प्राधिकरणले गर्‍यो निर्देशिका संशोधन
फाइल तस्बिर।


काठमाडौं। नेपाल बीमा प्राधिकरणले नेपाल रिइन्स्योरेन्सलाई २० प्रतिशत बिजनेस सुनिश्चित गरेको छ।

Vigo
GBIME
Tata

प्राधिकरणले पुनर्बीमा निर्देशिकामा पाँचौं संशोधन गरेर कम्पनीहरूलाई कुल पुनर्बीमा व्यवसायको २० प्रतिशत नेपालरिबाट गराउन भनेको हो।

‘नेपालमा कार्यरत बीमकले जारी गर्ने बीमाङ्कको कम्तीमा २० प्रतिशत प्रत्यक्ष हिस्सा नेपाल पुनर्बीमा कम्पनीबाट पुनर्बीमा गराउनु पर्नेछ,’ प्राधिकरणले निर्देशिका संशोधनमा उल्लेख छ।

पुनर्बीमाको प्रत्यक्ष हिस्सा अन्तर्गतको २० प्रतिशत व्यवसाय नेपाल रिइन्स्योरेन्सबाट गराउन निर्देशन दिइएको हो। प्रत्यक्ष हिस्सा अन्तर्गत हवाई बीमा, हुलदंगा तथा आतंकवाद र विविध बीमाभित्र पर्ने स्वास्थ्य यात्रा र ट्रेकिङ बीमा व्यवसाय समावेश गरिएको छैन।

यसअघि बीमकले प्रत्यक्ष हिस्सा आर्थिक वर्ष २०८३/८४ सम्म बाँडफाँट गर्नुपर्ने र त्यसपछि शून्यमा झार्नुपर्ने व्यवस्था थियो। प्राधिकरणले त्यसलाई संशोधन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाल रि-इन्स्योरेन्सलाई नयाँ बिजनेस ग्यारेन्टी गरेका थिए। बजेटमा नै नेपाल रिलाई २० प्रतिशत व्यवसाय दिने उल्लेख गरिएको छ।

यस्तै, दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट गर्ने भनिएको छ।

बजेटको व्यवस्थाअनुसार प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुल सञ्चालनको जिम्मेवारी हिमालयनरिबाट नेपाल रिलाई दिइसकेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले सरकारले चालु आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था निर्देशिका संशोधन गरेर कार्यान्वयन गरिएको बताए।

‘सरकारले चालु आर्थिक वर्ष बजेटमार्फत पुनर्बीमाको २० प्रतिशत हिस्सा नेपाल रिबाट गर्नुपर्ने व्यवस्था गरेको थियो। निर्देशिका संशोधन गरेर हामीले त्यसैलाई कार्यान्वयन गरेका हौं,’ उनले भने।