हिमालयन रिबाट खोसियो वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलको बिजनेस, नेपाल रिबाट गर्न निर्देशन



बिजमाण्डू
२०८३ साउन ७ गते १५:०४ | Jul 23, 2026
हिमालयन रिबाट खोसियो वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलको बिजनेस, नेपाल रिबाट गर्न निर्देशन


काठमाडौं। वैदेशिक रोजगार म्यादी जीवन बीमाको सामूहिक बीमा कोष(पुल)को व्यवसाय हिमालयन रि-इन्स्योरेन्सबाट खोसिएको छ। यो बिजनेस नेपाल रि-इन्स्योरेन्सले पाएको छ।

Tata
GBIME

नेपाल बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्सले सञ्चालन गरिरहेको वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलको सञ्चालन तथा व्यवस्थापन अब नेपाल रि-इन्स्योरेन्सबाट गर्न निर्देशन दिएको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सबै प्रकारका बीमा कोषको सञ्चालन नेपाल रि-इन्स्योरेन्सबाट सञ्चालन गर्ने घोषणा गरेकामा प्राधिकरणले निर्देशनमार्फत कार्यान्वयन गरेको कर्मचारीहरुले बताएका छन्।

‘हिमालयन रि-इन्स्योरेन्सले सञ्चालन गरिरहेको वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलको सञ्चालन अब नेपाल रि-इन्स्योरेन्सले गर्नेछ। बजेटको व्यवस्था अनुसार प्राधिकरणले कम्पनीहरुलाई निर्देशन दिइसकेको छ,’ प्राधिकरण स्रोतले भन्यो।

वैदेशिक रोजगार म्यादी जीवन बीमाबापत इन्स्योरेन्स कम्पनीहरुले गत आर्थिक वर्ष जेठसम्म ३ अर्ब ८ करोड २८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।

दाबीभन्दा प्रिमियम संकलन बढी भएका कारण कम्पनीहरुका लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा राम्रो विजनेस हो।

गत आर्थिक वर्ष ११ महिनामा जीवन बीमा कम्पनीले कुल १ खर्ब ७७ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका थिए। इन्स्योरेन्सको कुल व्यवसायको आकारमा वैदेशिक रोजगार म्यादी जीवन बीमाको हिस्सा करिब २ प्रतिशत हो।

हिमालयन रि-इन्स्योरेन्सले २०८२ वैशाखदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमाको पुल सञ्चालन गरिरहेको थियो। हिमालय रिले ४ वर्षका लागि पुल सञ्चालनको जिम्मेवारी पाएकामा प्राधिकरणले डेढ वर्षमै खोसेको हो।

हिमालयन रि-इन्स्योरेन्सको बिजनेस सुनिश्चित गर्न प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवालले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत गर्न निर्देशिका नै तयार पारेका थिए।