ऊर्जा व्यापारमा कीर्तिमान : भारत र बंगलादेश निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड



जनक वली
२०८३ साउन ७ गते ०८:३० | Jul 23, 2026
ऊर्जा व्यापारमा कीर्तिमान : भारत र बंगलादेश निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड


काठमाडौं। नेपालले विद्युत् व्यापारमा नयाँ इतिहास रचेको छ। आर्थिक वर्ष २०८२/८३ मा भारत र बंगलादेशतर्फ विद्युत् निर्यात गरेर नेपालले २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको हो।

Tata
GBIME

नेपाल विद्युत् प्राधिकरणको सीमा पार विद्युत् आयात-निर्यातको वार्षिक तथ्यांकअनुसार यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशत बढी हो। विद्युत् निर्यात बढेसँगै आयातमा हुने खर्च पनि उल्लेख्य रूपमा घटेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालले २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरेर १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो। समीक्षा वर्ष २०८२/८३ मा निर्यात ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्जका विभिन्न बजार र एनभीभीएनमार्फत भारतमा विद्युत् बिक्री गरेको हो। बंगलादेशसँगको त्रिपक्षीय ऊर्जा व्यापारबाट पनि निर्यात बढेको प्राधिकरणले जनाएको छ।

समीक्षा वर्षमा औसत ७ रुपैयाँ ५६ पैसामा प्रति युनिट विद्युत् बिक्री गरिएको थियो। यही दरका आधारमा नेपालले अहिलेसम्मकै उच्च निर्यात आम्दानी गर्न सफल भएको हो।

विद्युत् निर्यात बढेसँगै बाह्य स्रोतबाट बिजुली किन्नुपर्ने आवश्यकता पनि घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो।

समीक्षा वर्ष २०८२/८३ मा आयात ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। आयात खर्च पनि १८.२९ प्रतिशत घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ।

निर्यातबाट प्राप्त २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँबाट आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारबाट मात्रै १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद बचत गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र थियो।

यसरी एक वर्षमै विद्युत् व्यापारबाट हुने खुद बचत ३१३ प्रतिशतले बढेको छ। यो वृद्धि ४ गुणाभन्दा बढी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ।

नेपालमा पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढिरहेको छ। नयाँ आयोजना संचालनमा आउनुका साथै सीमापार प्रसारण लाइन विस्तार र ऊर्जा व्यवस्थापन प्रभावकारी बनेकाले निर्यात क्षमता उल्लेख्य रूपमा बढेको हो।

ऊर्जा क्षेत्रका लागि यो उपलब्धिलाई नेपालको आर्थिक सम्भावनासँग जोडेर हेरिएको छ। निर्यात बढ्दै र आयात घट्दै जाँदा नेपाल दक्षिण एसियामै नाफामूलक तथा आत्मनिर्भर ऊर्जा निर्यातकर्ता राष्ट्र बन्दै गएको छ।