काठमाडौं। दी गो र घाम पावरबीच सौर्य ऊर्जा (सोलार पावर)मा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माणका लागि रणनीतिक साझेदारी भएको छ। इटहरीस्थित दी गो चार्जपोइन्टमा उक्त प्रणाली निर्माण गरिने बताइएको छ।
दुई कम्पनीले ‘टर्म सिट’मा हस्ताक्षर गर्दै नेपालको स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधार विकासमा नयाँ कदम चालिएको घोषणा गरेका छन्।
यो परियोजनाअन्तर्गत सौर्य ऊर्जा उत्पादनलाई अत्याधुनिक ब्याट्री भण्डारण प्रविधिसँग जोडेर विद्युतीय सवारीसाधन (इभी) चार्जिङ सेवा थप प्रभावकारी बनाइने बताइएको छ। उच्च मागको समयमा राष्ट्रिय विद्युत् ग्रिडमाथिको निर्भरता घटाउँदै यो प्रणालीले नवीकरणीय ऊर्जाको उपयोग बढाउने लक्ष्य राखेको छ।
प्रणालीमार्फत दिनभर उत्पादन भएको अतिरिक्त सौर्य ऊर्जा ब्याट्रीमा सञ्चित गरिनेछ। आवश्यकताअनुसार सोही ऊर्जा इभी चार्जर संचालनमा प्रयोग गरिनेछ।
ऊर्जा आपूर्ति थप भरपर्दो बन्नुका साथै यसबाट विद्युत् खपत व्यवस्थापन र चार्जिङ सेवाको निरन्तरतामा पनि सुधार आउने अपेक्षा गरिएको छ।
दी गोका बिजनेस हेड (इन्टिग्रेटेड इनर्जी सोलुसन्स) नवीन अधिकारीले सौर्य ऊर्जा र ब्याट्री भण्डारणको संयोजनले नेपालको दिगो इभी पूर्वाधार निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। यसले भविष्यको विद्युतीय यातायातका लागि अझ स्मार्ट, स्वच्छ र सक्षम चार्जिङ नेटवर्क निर्माण गर्न सहयोग गर्ने उनको भनाइ छ।
त्यस्तै, घाम पावरका प्राविधिक निर्देशक प्रदीप हुमागाईंले यस सहकार्यले स्वच्छ ऊर्जा र आधुनिक प्रविधिको प्रभावकारी उपयोगलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले नवीकरणीय ऊर्जा र ब्याट्री भण्डारणको प्रयोगले इभी चार्जिङ पूर्वाधारलाई अझ प्रभावकारी र भरपर्दो बनाउने बताए।
यो परियोजना नेपालभर नवीकरणीय ऊर्जामा आधारित इभी चार्जिङ स्टेसन विस्तारका लागि नमुना बन्ने अपेक्षा गरिएको छ। स्थानीय रूपमा उत्पादन हुने सौर्य ऊर्जा र स्मार्ट ऊर्जा भण्डारणको प्रयोगबाट कार्बन उत्सर्जन घट्ने, विद्युत् प्रणालीको स्थिरता बढ्ने, संचालन खर्च कम हुने र इभी प्रयोगकर्ताले अनवरत चार्जिङ सेवा पाउने विश्वास गरिएको छ।









