नेपालीले जिताएका थिए इङ्ग्ल्याण्डलाई अर्जेन्टिनाविरुद्धको युद्ध, यो राइभल्रीलाई म्यारोडोनाले के भनेका थिए?



मुकुन्द घिमिरे
२०८३ असार ३१ गते ०६:४२ | Jul 15, 2026
नेपालीले जिताएका थिए इङ्ग्ल्याण्डलाई अर्जेन्टिनाविरुद्धको युद्ध, यो राइभल्रीलाई म्यारोडोनाले के भनेका थिए?


काठमाडौं। नेपालमा ‘बहुदल कि पञ्चायत’ भन्ने माहोल थियो। काठमाडौंमा भर्खरै टेलिभिजन भित्रिएको अवस्था र सीमित व्यक्तिहरूसम्ममात्रै त्यसको पहुँच। अनि १९८६ को विश्वकप। केही भाग्यमानी नेपालीहरूले श्यामश्वेत टिभीमा हेरेका थिए त्यो विश्वकप। जसमा अर्जेन्टिनाले ट्रफी उचाल्यो।

Tata
GBIME
Nepal Life

भारतबाट प्रसारण हुने दुरदर्शन हेर्नेले टेलिभिजनमा लाइभ हेर्न पाए फाइनल। नेपाल टेलिभिजनमा हेर्नेले अलि समय ढिलो। त्यो विश्वकपमा नायक भएर उदाएका डिएगो अर्मान्डो म्यारोडोना।

६ वर्षअघि म्याराडोनाको निधन हुँदा नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य तथा पूर्व प्रशिक्षक मिलन हाडाले यसरी सम्झिएका थिए त्यो माहोललाई।

त्यसबेला फुटबलमा मात्र होइन कुनै खेलमा पनि अब्बल भए म्याराडोना भन्ने चलन थियो। ‘दशैँ तिहारमा कसैले तासमा धेरै पैसा मारे पनि ‘ए, त्यो त तासमा म्यारोडोना नै हो’ भनेर चिया गफ हुन्थ्यो।’

यही क्रेजलाई हाडाले भारतमा कोचिङ तालिम गर्न जाँदाको समयमा एउटा किस्सासँग पनि जोडेर सुनाएका थिए। पञ्जाबको पटियालामा एक कुस्तिवाज थिए। एसियाली स्तरमा नै स्वर्णका लागि दाबेदार उनलाई त्यो ठाउँमा कुस्तीको म्यारोडोना भनेर चिनिन्थ्यो।

‘कता फुटबलको म्यारोडोना, कता अर्कै खेल कुस्ती। यो म्यारोडोनाको खेलकै प्रभाव थियो,’ उनले सम्झिएका थिए।

टीभीमा हेर्दा पहिलो विश्वकपमै प्रभाव पारेका म्याराडोनादेखि अहिले लियोनल मेस्सीको करियरको उत्तरार्ध चलिरहँदा निकै पुस्तान्तरण भइसकेको छ। नेपालमा पहिलो पटक विश्वकप हेर्दाका म्याराडोनादेखि नेपालीले ला-लिगामा ‘मेस्सी भर्सेस रोनाल्डो’को डिबेटसम्म हेर्न भ्याए।

यसबीचमा नेपाललीले ब्राजिल, फ्रान्स, स्पेन, इङ्ग्ल्याण्ड जस्ता टोलीको खेल पछ्याए पनि म्याराडोनादेखि मेस्सीसम्म आइपुग्दा अर्जेन्टिनाले सँधै ठूलो नेपाली तप्कालाई इन्गेज गरिरह्यो।

मेस्सीको क्रेज नेपालजस्तै भारत र बंगलादेशमा पनि देखिन्छ। दक्षिण एसियाली देश विश्वफुटबलमा कमजोर देशमध्येमा पर्छन्। यहाँका टोली विश्वकप पुगेका पनि छैनन्। तर, विश्वकप सुरु भएसँगै यहाँका गल्ली, चिया पसलदेखि सामाजिक सञ्जाल र व्यवसायसम्ममा विश्वकपको गहिरो प्रभाव पर्ने गर्छ। यो हेर्दा लाग्दैन यहाँका टोली विश्वकप पुगेका छैनन्। यो खेलको पाटो भयो। अहिले बाहिर निस्किँदा सबैभन्दा धेरै जर्सी अर्जेन्टिनाकै देखिन्छ।

आज विश्वकपको सेमिफाइनलमा इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दैछन्। दुवै टोलीको समर्थनमा नेपालीहरू देखिन्छन्।

तर, इतिहास हेर्दा नेपाली सँधै अर्जेन्टिनाको पक्षमा भने देखिँदैनन्। यी दुई देशबीचको मुख्य विवाद र यसले सुरु गरेको राइभल्रीमा नेपालीको समेत भूमिका छ।

+++

फिफा विश्वकपको सेमिफाइनलमा आज अर्जेन्टिना र इङ्ग्ल्याण्ड भिड्दैछन्। करियरको उत्तरार्धमा रहेका लियोनल मेस्सीले पहिलो पटक विश्वकपमा इङ्ग्ल्याण्डसँग भिड्दैछन्। आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग फाइनल खेल खेल्नेछ।

विश्वकपमा इङ्ग्ल्याण्डसँधैको दाबेदार मानिए पनि उसले उपाधि भने एकपटकमात्रै जितेको छ। यसपाला पनि सेमिफाइनलसम्मको उसको यात्रा उतारचडाव पूर्ण नै छ।

समूह ‘एल’मा क्रोएसिया, घाना र पानामालाई पछि पार्दै समूह विजेता बनेको इङ्ग्ल्याण्डले राउण्ड अफ ३२ मा डीआर कंगोलाई २-१ गोलले हराएको थियो। त्यस्तै, प्रिक्वाटरफाइनलमा मेक्सिकोलाई ३-२ गोलले हराउँदा क्वाटरफाइनलमा नर्वेमाथि २-१ गोलको जित उसले निकालेको थियो।

यता अर्जेन्टिनाले समूह ‘जे’मा अस्ट्रिया, अल्जेरिया र जोर्डनमाथि प्रभावशाली जित निकाल्न सफल भएको थियो। राउण्डअफ ३२ मा उसले केप भर्डेमाथि ३-२ गोलको मुस्किल जित निकाल्दा प्रिक्वाटरफाइनलमा इजिप्टलाई पनि सोही गोलस्कोरमा संघर्षपूर्ण जित निकालेको थियो। प्रिक्वाटरफाइनलमा स्वीटजरल्याण्डलाई ३-१ को पुनरागमन जित निकाल्दै सेमिफाइनल आएको थियो।

सेमिफाइनलमा इङ्ग्ल्याण्ड र अर्जेन्टिना भिड्दै गर्दा नेपालमा पनि यो खेलको अनुमान र चर्चा हुन थालेको छ।

सामाजिक सञ्जाल र चिया गफ सुन्दा लाग्छ नेपालमा इङ्ग्ल्याण्डको भन्दा अर्जेन्टिनाको निक्कै ठूलो फ्यानबेस छ। अर्जेन्टिनाले नेपालमा समर्थन पाउनुमा ‘मेस्सी’ फ्याक्टरले पनि निकै काम गरेको छ।

म्यारोडोनाकै समयदेखि अर्जेन्टिनाको समर्थन गर्दै आएको फ्यानबेस पनि उत्तिकै छ। यता इङ्ग्ल्याण्डको फ्यानबेस धेरै जसो लिगमा गहिरो रुचि भएका समर्थकबाट आएको देखिन्छ।

तर, तपाईँलाई थाह छ नेपालीले अर्जेन्टिनाविरुद्ध इङ्ग्ल्याण्डको तर्फबाट युद्ध लडेका छन्।

+++

फुटबलका धेरै राइभल्री एउटा निश्चित कारणबाट जन्मिएका हुन्छन्। यसको अर्थ ती साधारण हुन्छन् भन्ने होइन। त्यो खेलकै कारण पनि हुनसक्छ, राजनीतिक या अन्य अरु केही।

धेरै जसो एउटै सहर वा क्षेत्रका यी क्लबहरू भौगोलिक रूपमा नजिक भए पनि भावनात्मक रूपमा एकअर्काका कट्टर विरोधी छन्। उनीहरूबीचको प्रतिस्पर्धा पुस्तौंदेखि चल्दै आएको छ र समयले त्यसलाई बदल्न सकेको हुँदैन।

तर, अन्तर्राष्ट्रिय फुटबलमा प्रतिद्वन्द्विताको आधार फरक हुन्छ। यहाँ इतिहासका राजनीतिक, सांस्कृतिक वा सैनिक घटनाले यस्तो गहिरो प्रतिस्पर्धा जन्माउँछन्, जसको प्रभाव पुस्तौंपुस्ता रहिरहन्छ। हाम्रै छिमेकमा हेर्दा भारत र पाकिस्तानबीच क्रिकेटमा यस्तो राइभलरी देखिन्छ।

यसको अर्को एउटा उदाहरण चिली र पेरुबीचको क्लासिको डेल पासिफिको हो। यो प्रतिद्वन्द्विताको जरा १९औँ शताब्दीको प्रशान्त युद्धसम्म पुग्छ।

इङ्ग्ल्याण्ड र अर्जेन्टिनाबीचको राइभल्री यस्तो छ जसमा नेपाल प्रत्यक्ष जोडिन्छ। नेपाल जोडिने यो राइभल्री हो फकल्याण्डको युद्ध।

उसो त अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले यो खेललाई केवल फुटबलकै रूपमा हेर्न आग्रह गरेका छन्।

स्वीट्जरल्यान्डलाई अतिरिक्त समयमा हराउँदै सेमिफाइनल पुगेपछि स्कालोनीले पत्रकारलाई यो खेललाई खेलकै रुफमा हेर्न आग्रह गरे।

‘अन्य अर्थ खोज्न आवश्यक छैन,’ उनले भनेका थिए।

अर्जेन्टिना र इङ्ग्ल्याण्डबीचको प्रतिस्पर्धा दशकौँ पुरानो छ। सन् १९६६ को विश्वकपमा इङ्ग्ल्याण्डको जित, सन् १९८२ को फकल्याण्ड युद्ध, अनि १९८६ विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोल यो राइभलरीलाई बढाउने मुख्य कारक हुन्।

दुवै टोली १९९८ विश्वकपको अन्तिम १६ र २००२ को समूह चरणमा पनि भिडेका थिए। १९९८ मा अर्जेन्टिना पेनाल्टी सुटआउटमा विजयी भएको थियो भने २००२ मा डेभिड बेकह्यामको गोलमार्फत इङ्ग्ल्याण्डले १-० को जित निकाल्दै अर्जेन्टिनालाई प्रारम्भिक चरणमै घर फर्काएको थियो।

+++

यी दुई देशबीचको राइभल्रीको जड हो फकल्याण्ड युद्ध र विवाद।

फकल्याण्ड, जसलाई अर्जेन्टिनामा ‘माल्भिनास’ भनिन्छ।

अझै पनि दुई देशबीच संवेदनशील विषय बनेको छ। सन् १९८२ को युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक र तीन फकल्याण्डवासीको मृत्यु भएको थियो। अहिले पनि बेलायतले टापुमा आफ्नो सैन्य उपस्थिति कायम राखेको छ भने अर्जेन्टिनाले संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय मञ्चमार्फत आफ्नो दाबी दोहोर्‍याउँदै आएको छ।

विश्वकपकै क्रममा अर्जेन्टिनी समर्थकहरूले माल्भिनास, म्याराडोना र लियोनल मेस्सीलाई जोडेर गीत गाउने गरेका छन्। मेस्सीको अन्तर्राष्ट्रिय करियर दोस्रो विश्वकप उपाधिसहित अन्त्य होस् भन्ने भावनासहितका नाराहरू सामाजिक सञ्जालमा पनि चर्चित बनेका छन्।

अर्जेन्टिनाका फर्वाड होसे म्यानुएल लोपेजले खेलको ऐतिहासिक पृष्ठभूमि स्वीकार गरे पनि टोली पूर्ण रूपमा व्यावसायिक ढंगले मैदान उत्रने बताए।

‘मैदानबाहिर यो धेरै इतिहास, पीडा र भावनासँग जोडिएको खेल हो। तर, हामी व्यावसायिक खेलाडी हौँ। हामी हरेक खेलझैँ अन्तिम सेकेन्डसम्म लड्नेछौँ,’ उनले भनेका छन्।

खासमा यो युद्ध नेपालसँग सम्बन्धित होइन तर यो नेपालीले लडेको युद्ध हो। ब्रिटिस सेनाका लागि गोर्खा आर्मीले यो युद्ध लड्दै जित हातपारेको थियो। तत्कालीन परिस्थितिमा शक्तिशाली स्थितिमा रहेको अर्जेन्टिनालाई हराउन नेपालको बाहदुरीको बेलायत र अन्यत्र तारिफ हुने गरे पनि अर्जेन्टिनी नजरमा भने नेपालको अनावश्यक हार दिलाएको थियो।

म्यारोडोनाले के भनेका थिए?

सन् १९८६ को विश्वकप जितेपछि म्यारोडोनाले फुटबल टोलीलाई हराउनु मात्र नभएर यो एउटा देशलाई हराउनु थियो भनेर अभिव्यक्ति दिएका थिए।

तर, यसै प्रसंगमा उनले ‘हामीले इंग्ल्यान्डलाई हरायौं, किनकि उनीहरूको टोलीमा गोर्खा थिएनन्।’ भनेका थिए भन्ने निकै चर्चा चल्ने गर्छ।

तर, यसको विश्वसनीय श्रोत भने भेटिँदैन। उनले एउटा टिमलाई नभएर देशलाई हराउनु थियो भनेको अभिव्यक्ति भने भेटिन्छ