काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव बनाएका छन्। बालेनले बुधबार अपराह्न मन्त्रिपरिषद् बैठक राखेर कार्कीलाई मुख्यसचिवमा बढुवा गरेका हुन्।
वरिष्ठताका आधारमा कार्की धेरै पछाडि भए पनि प्रधानमन्त्री बालेनले क्रमभंगता गर्दै मुख्यसचिव बनाएका हुन्। कार्की दुई वर्षअघि २०८१ भदौ तेस्रो साता सचिवमा बढुवा भएका थिए। उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छन्।
उनले अहिलेको कानुनी व्यवस्था अनुसार मुख्यसचिवको रुपमा पूरा कार्यकाल काम गर्न पाउने छैनन्। मुख्यसचिवको कार्यकाल तीन वर्षको रहेकामा कार्कीले ५८ वर्षको उमेर हदका कारण त्यस अगाडि नै अर्थात २०८५ पुस अन्तिम साता अवकाश पाउनेछन्।
कार्की निजामती सेवामा प्रवेश गरेको ३० वर्षमा मुख्यसचिव बनेका हुन्। उनी २०५३ पुसमा शाखा अधिकृतका रुपमा निजामती सेवामा प्रवेश गरेका थिए।
वरिष्ठताका आधारमा प्रधानमन्त्री कार्यालयमै कार्यरत किरण शर्मा पहिलो नम्बरमा थिए। किरणले सचिवको ५ वर्षे पदावधिका कारण साउन ४ गते अवकाश पाउँदैछन्।
किरणपछि वरिष्ठताका आधारमा प्रधानमन्त्री कार्यालयमै एक महिनादेखि अतिरिक्त समूहमा राखिएका हरिप्रसाद मैनाली, डा. गोविन्दप्रसाद शर्मा र डिल्लीराम शर्मा अगाडि थिए। ५ वर्षे पदावधिका कारण मैनालीले साउन १९, गोविन्दप्रसादले साउन २४ र डिल्लीरामले भदौ ३ गते अवकाश पाउनेछन्।
गृह सचिव राजकुमार श्रेष्ठ, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उद्योग सचिव कृष्णबहादुर राउत, योजना आयोगमा कार्यरत सचिव रविलाल पन्थ, लोकसेवा आयोगमा कार्यरत रामेश्वर दंगाल पनि कार्कीभन्दा वरिष्ठ हुन्। तर उनीहरु सबैलाई छोडेर बालेनले कार्कीलाई रोजेका हुन्।
हालका मुख्यसचिव सुमनराज अर्यालले ५८ वर्षे उमेर हदका कारण २६ गतेबाट अवकाश पाउन लागेका कारण मन्त्रिपरिषद्ले कार्कीलाई बढुवा गरेको हो। अर्याल गत मंसिरमा वरिष्ठताका आधारमा मुख्यसचिव भएका थिए।











