काठमाडौं। चक्रपथको दोस्रो खण्ड विस्तारका लागि चीनले बनाएको डिजाइनमा सरकारले सहमति जनाएको छ। सरकारले सहमति जनाएसँगै चीनले भदौबाट सडक विस्तारको काम सुरु गर्ने भएको छ।
सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्यालसहितको टोलीले चीन पुगेर डिजाइनमा सहमति जनाएको छ। विभागको टोली डिजाइन रिभ्युका लागि दुई साताअघि चीन गएको थियो। विभागले यसअघि दिएको सुझाव अनुसार चीनले सुधार गरेको पाइएपछि टोलीले डिजाइनमा सहमति जनाएको हो।
महाशाखा अन्तर्गतको द्बिपक्षीय शाखाका प्रमुख मुकुन्दराज निरौलाले चीनले तयार पारेको डिजाइनमा विभागले सहमति जनाएको र अब भदौबाट काम सुरु हुने जानकारी दिए।
‘हामीले डिजाइनमा सहमति गरेर आएका छौं। डिजाइन पास भएको छ। उनीहरुले बनाएको डिजाइनमा हामीले केही करेक्सन गर्न सुझाव दिएका थियौं। हाम्रो सुझाव अनुसार उनीहरुले करेक्सन गरेका कारण डिजाइन फाइनल भएको छ,’ उनले भने।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै चक्रपथ दोस्रो खण्ड विस्तारको काम अगाडि बढाउन चिनियाँ राजदूतसँग सहमति पत्रमा हस्ताक्षर गरेका थिए। त्यतिखेर उनले काम चाँडो सुरु गर्न राजदूतसमक्ष आग्रह गरेका थिए।
चक्रपथको दोस्रो खण्ड चीनले पहिलो खण्ड जस्तै अनुदानमा विस्तार गरिदिन लागेको हो। तर सडक विस्तारमा लाग्ने खर्चमा कर छुट दिने निर्णय गर्न भएको विलम्बले पनि आयोजना अगाडि बढ्न सकेको थिएन। सरकारले चीनको चाहना अनुसार गत फागुन दोस्रो साता मन्त्रिपरिषद् बैठकबाट कर छुटको प्रस्ताव स्वीकृत गरेपछि डिजाइनलाई अन्तिम रुप दिने प्रक्रिया अगाडि बढाइएको थियो।
निरौलाका अनुसार अब चिनियाँ पक्षले विस्तारको काम अगाडि बढाउने छ। यसले चिनियाँ पक्षलाई काम गर्न नेपालको पक्षबाट कुनै रोकतोक हुनेछैन। सबै कुराहरुबाट बाटो खुल्ला भएको निरौलाले बताए।
‘अब चिनियाँ पक्षले निर्माण कम्पनी छनोट गर्ने लगायत काम गर्नेछ। चीनको सरकारी कम्पनीले विस्तारको काम गर्नेछ। उनीहरुको टेन्डर प्रक्रिया छिटोमा १५ दिन र ढिलोमा ६० लाग्ने खालको छ। उनीहरुले हामीलाई जतिसक्दो चाँडो टेन्डर प्रक्रिया सकाउने बताएका छन्,’ निरौलाले भने।
उनका अनुसार चिनियाँ पक्षले चक्रपथ विस्तारको काम भदौबाट सुरु गर्ने बताएको छ। निर्माण सुरु गरेको ३६ महिनाभित्र काम सम्पन्न गर्ने भनिएको छ। कलंकीदेखि बसुन्धारासम्म चक्रपथ विस्तारका लागि चीनले ११.२ अर्ब रुपैयाँ अनुदान दिंदैछ।

चीनको सरकारी स्वामित्वका कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी (सीसीसीसी), फर्स्ट हाइवे कन्सल्टेन्ट्स र सियान फाङझोउ इन्जिनियरिङ कन्सल्टिङले चक्रपथ दोस्रो खण्डको विस्तृत डिजाइन तयार पारेका हुन।
माच्छापोखरीमा ओभरपास
चक्रपथको दोस्रो खण्ड कलंकीको पुलदेखि बसुन्धरा पुलसम्म ८.२ किलोमिटर मात्रै विस्तार गर्ने गरी डिजाइन गरिएको छ। चीनको शहरी क्षेत्रमा जस्तै दुईतर्फी ८ लेनको सडक बनाइने छ।
यसमा ३८.५ मिटरको सबग्रेड हुनेछ। साथै १३ वटा स्लाब र पाइपसहित विभिन्न स्थानमा कल्भर्ट, सीतापाइला, ढुंगेधारा, गंगाहल र ग्रिनसिटी हस्पिटल अगाडि आकासेपुल निर्माण गरिनेछ।
यस्तै माच्छापोखरी र बसपार्कलाई जोड्ने बिष्णुमति खोलामा ओभरपास निर्माण हुनेछ। जहाँ दुई वटा ६४ मिटरको पुल र बीचको भागमा ५६० मिटर लामो ओभरपास हुनेछ। साथै ११ वटा बस बिसौनी पनि निर्माण गरिनेछ।











