काठमाडौं। बजारमा अबदेखि एलपी ग्यास पूरा सिलिण्डर पाइने भएको छ। नेपाल आयल निगमले भारतीय रिफाइनरीबाट लोडिङमा भएको सुधार र उपभोक्ताको मागलाई कारण देखाएर बुधबारदेखि ग्यास पूरा सिलिण्डर बिक्रीको व्यवस्था मिलाएको हो।
‘इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भएको लोडिङ अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिण्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले मिति ३१ गतेबाट मुलुकभरी नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २,०६० मा विक्री वितरण गर्ने व्यवस्था मिलाएको व्यहोरा अनुरोध छ,’ निगमले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ।
अमेरिका-इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भाउ अकासिनुका साथै आयात प्रभावित भएपछि निगमले गत फागुन २९ गतेदेखि ग्यास आधा सिलिण्डर बेच्न लगाएको थियो।
उद्योगीले एक महिनाअघि नै बजारमा ग्यास बिक्री नभएको भन्दै ग्यास आधा सिलिण्डर बिक्री गर्ने निर्णय सच्याउन निगमलाई आग्रह गरेकामा प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले नमानेपछि निगम हच्किएको थियो।
उद्योगीको आग्रहमा निगमले अध्ययन समिति बनाएर १४.२ किलोमा जान उपयुक्त हुने सुझाव दिएपछि निर्णय गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी ‘कन्भिन्स’ भइसकेको अवस्थामा प्रधानमन्त्री बालेनको सचिवालयले अस्वीकार गरेको थियो।
आधा सिलिण्डर ग्यासका कारण उपभोक्तादेखि उद्योगीसम्मको लागत बढेको थियो। यस विषयमा निगम हुँदै उद्योग मन्त्रालयसम्म गुनासो पुगेको थियो। उद्योगसचिव कृष्णबहादुर राउतले मन्त्री र प्रधानमन्त्रीको सचिवालयसँग संयोजनकारी भूमिका निर्वाह गरेर ग्यास पूरा सिलिण्डर विक्री गर्ने निर्णय गराएको स्रोतले बतायो।
‘खासगरी दुर्गम जिल्लाहरुमा ठूलो समस्या भएपछि सीडीओदेखि पालिका प्रमुखले पूरा सिलिण्डर विक्री गर्ने व्यवस्था मिलाउन हामीलाई निरन्तर ताकेता गरिरहेका थिए। यसबारेमा हामीले उद्योग सचिवलाई जानकारी गराएका थियौं,’ निगम स्रोतले भन्यो, ‘सचिवज्यूले मन्त्रीज्यू हुँदै प्रधानमन्त्रीको सचिवालयलाई मनाएपछि अबदेखि पूरा सिलिण्डर नै बेच्ने निर्णय भएको हो।’
आधा सिलिण्डरका कारण ग्यासको खपत ४२ प्रतिशत घटेको तथ्यांक छ।










