सेफमा थुपारिएको सुन नयाँ सरकार आएपछि धमाधम बिक्री, तोलामै ८ हजार सस्तो!



अनन्तराज न्यौपाने
२०८३ असार ३० गते १२:१४ | Jul 14, 2026
सेफमा थुपारिएको सुन नयाँ सरकार आएपछि धमाधम बिक्री, तोलामै ८ हजार सस्तो!


विराटनगर। नेपाल सुनचाँदी व्यवसायी महासंघले बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरेकामा विराटनगरका सबै सुनचाँदी व्यवसायीले निर्धारित मूल्यभन्दा तोलामा ८ हजारसम्म घटेर गहना विक्री गर्न थालेका छन्।

Tata
GBIME
Nepal Life

सुनचाँदीको व्यापारमा आएको मन्दी र पसलमा खरिद गर्नेभन्दा विक्री गर्ने धेरै भएपछि सुनको कारोबार निर्धारित मूल्यभन्दा ८ हजार रुपैयाँसम्म कममा हुन थालेको हो। विराटनगरमा मात्र नभई देशका सबैजसो शहरमा यही ट्रेन्ड रहेको व्यवसायीको भनाइ छ।

विराटनगरका पुराना गहना व्यवसायीमध्ये एक विजय हाउसका संचालक विजय राठीले पसलमा आउने ग्राहकमध्ये अहिले २० प्रतिशत खरिदकर्ता र बाँकी ८० प्रतिशत विक्रीकर्ता रहेको बताए।

राठीका अनुसार धेरैले समुद्रपारका युरोप, अमेरिका र अस्ट्रेलिया पुगेका छोराछोरीलाई उता घर खरिदका लागि पैसा पठाउन सस्तोमा गहना बेच्न थालेका हुन्।

‘मेरो छोराले अमेरिकामा घर खरिद गर्ने भयो। त्यसैले यो सुन विक्री गर्न आएको भन्ने धेरै दाजुभाइ दिदीबहिनी हाम्रो पसलमा आउनुहुन्छ। त्यस्तै आफ्ना सन्तानलाई विदेश पठाउन पनि सुन विक्री गर्नेको संख्या ठूलो छ’, राठीले भने।

उनले आफ्नो पसलमा अहिले हप्ताभरिमा ५ जनाले सुन खरिद गर्ने गरेको बताए।

अर्का व्यवसायी अशोक सोमानीले एकातिर घरजग्गाको विक्रीमा मन्दी र अर्कातिर सुनचाँदीको मूल्यवृद्धि जस्ता कारणले पनि विक्री गर्न आउनेको संख्यामा वृद्धि भएको दाबी गरे।

‘मान्छेलाई पैसाको खाँचो परिरहन्छ। तर जग्गा बेचेर काम चलाउँछु भन्नेले बेच्न सकिरहेका छैनन्। त्यसैले घरमा भएका गहना र सुनचाँदी बेच्न बाध्य भएका छन्। यसले गर्दा पनि विक्री गर्नेको संख्या ह्वात्तै वृद्धि भएको हो,’ सोमानीले भने।

व्यवसायीका अनुसार यसरी सर्वसाधारणसँग भएको सुन वा सुनका गहना खरिद गर्ने व्यवसायीले तोलामा १५ हजार रुपैयाँसम्म कममा खरिद गरिरहेका छन्।

अहिले उनीहरूसँग यस्तै सर्वसाधारणसँग सस्तोमा खरिद गरेको सुनको थुप्रो लागिरहेको छ। त्यसैले उनीहरूले सुनका गहना बनाउन आउनेलाई घोषित मूल्यको तुलनामा तोलामा ८ हजारसम्म घटेर विक्री गरिरहेका हुन्।

सस्तोको अर्को कारण धरौटीको सुनचाँदी

नयाँ सरकार बनेपछि सुनचाँदी व्यवसायीले आफ्नो पसलको सेफ र भण्डारमा वर्षौंदेखि थन्किएर रहेको सुनचाँदीलाई पगालेर छापावाल सुनसरह बनाइ विक्री गर्न थालेका छन्।

देशका अधिकांश ठूला सुनचाँदी पसलेले सुन वा चाँदी धरौटी राखेर सर्वसाधारणलाई महँगो ब्याजमा ऋण दिँदै आएका छन्। तर यो कार्य गैरकानुनी हो। व्यवसायीले राजस्व कार्यालयमा यसको हिसाब पनि देखाउँदैनन्। जबकि पसले र सर्वसाधारणको यो कारोबार सनातन सभ्यताजस्तै भइसकेको छ।

तर व्यवसायीलाई धरौटीमा राख्न दिएको सुनचाँदी उकास्न नसक्ने सर्वसाधारण थुप्रै छन्। व्यवसायीका सेफ वा भण्डारमा वर्षौंदेखि यस्तो नउकासिएको सुनचाँदी ठूलो परिमाणमा छ।

अहिलेको कठोर मानिएको सरकारले पसल र पसलको गोदाममा छापा मारेर बहुमूल्य धातुको स्रोत पत्ता लगाउन खोज्यो भने अनौपचारिक क्षेत्रबाट आएको सुनचाँदी ठूलो मात्रामा फेला पर्नेछ।

‘त्यसैले पसलेहरू वर्षौंदेखि आफ्नो सेफ वा भण्डारमा रहेको सुनचाँदीलाई वैध बनाउन चाहन्छन्। उनीहरूले यस्तो सुनचाँदी अत्यन्त सस्तो मूल्यमा राखेका हुन्छन्। यस्तो सुन निस्कन थालेको हुँदा पसलेले घोषित मूल्यभन्दा ८ हजारसम्म घटेर विक्री गरेका हुन्,’ एक व्यवसायीले भने।

कसरी मिलाउँछन् हिसाब?

व्यवसायीहरू घोषित मूल्यभन्दा धेरै कममा सुन खरिद गरेर केही कममा विक्री गरिरहेका छन्।

यस क्रममा कतिपय व्यवसायीले सुन विक्री गर्ने सर्वसाधारणलाई केवाइसी भराएर मात्र खरिद गरिरहेका छन्। तर साना, मझौला तथा असंगठित क्षेत्रका व्यवसायीले जथाभावी नै खरिद विक्री गरेको पाइएको छ।

त्यस्तै सुनका गहना विक्री गर्दा तोलामा ८ हजारसम्म घट्ने व्यवसायीले बिल भने फरक बनाउने गर्छन्।

उनीहरू कम मूल्यमा सुन विक्री गरे पनि निर्धारित मूल्यकै बिल बनाउँछन्। अनि बिलमा ज्याला र जर्तीको मूल्य घटाएर अंकित गर्छन्। जस्तै सुन तोलाको २ लाख ८८ हजार छ र २ लाख ८० हजारका दरमा गहना बनाइदिएको छ भने बिलमा २ लाख ८८ हजार नै लेख्छन्। तर ज्याला ७ हजार छ भने ३ हजार उल्लेख गर्छन् अनि जर्ती १३ प्रतिशत छ भने ४ प्रतिशत लेख्छन्। यसरी व्यवसायीले राजस्वको आँखाबाट बच्न फरक बिल बनाइरहेका छन्।

राजस्व कार्यालयले अडिट गर्दा निर्धारित मूल्यभन्दा कममा विक्री गरेको बिललाई मान्यता दिँदैन। त्यसैले फरक बिल बनाउन बाध्य भएको व्यवसायीको भनाइ छ।

‘मरता क्या नहिँ करता? यस्तो मन्दी छ। विक्री छैन। बेच्न आउनेको मात्र लर्को छ। यस्तो अवस्थामा के गर्ने त?’ नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एवम् श्री महालक्ष्मी ज्वेलरी प्रालिका निर्देशक विमल बेगवानीले प्रतिप्रश्न गर्दै भने।

महसुल वृद्धिपछि आयात ठप्प

गत जेठ १५ गते बजेटबाट सुनको आयात महसुल १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याइएको छ। यसपछि बैंकले सुन आयात गरेका छैनन्।

भारतबाट पनि तस्करी भएर सुन आएको छैन। किनकि त्यहाँ सुनको आधारभूत भन्सार शुल्क १०, कृषि पूर्वाधार तथा विकास उपकर ५ र जीएसटी ३ प्रतिशत छ। यसको संयुक्त प्रभाव १८.४५ प्रतिशत पर्छ।

भारतमा आयात महसुल साढे १८ र नेपालमा २० प्रतिशत रहेकाले तस्करी सम्भव नभएको हो। तर विदेशबाट आउँदा महिलाले ५० र पुरुषले २५ ग्रामको गहना ल्याउन पाउने व्यवस्थाले पनि सुनको आयात ठप्प भएको व्यवसायीहरुले बताएका छन्।