बालेनप्रति सेयर लगानीकर्ताले गर्न छोडे भरोसा, सेबोन अध्यक्ष भट्टले पूरा गर्लान् आश्वासन?



सुनिल कुँवर
२०८३ असार ३० गते १८:१५ | Jul 14, 2026
बालेनप्रति सेयर लगानीकर्ताले गर्न छोडे भरोसा, सेबोन अध्यक्ष भट्टले पूरा गर्लान् आश्वासन?


काठमाडौं। सेयर बजार परिसूचक चार दिनमा ८० अंकको गिरावटपछि मंगलबार ६.११ अंकले उकालो लाग्यो। झिनो अंकले उकालो लाग्नुको कारण हो- नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्तालाई दिएको आश्वासन।

Tata
GBIME
Nepal Life

नयाँ सरकार बनेपछि नेप्से निरन्तर ओरालो लागेर लगानीकर्ताले ६ खर्ब रुपैयाँको सम्पत्ति गुमाएपछि तनावमा रहेकाहरु मंगलबार बिहान सेबोन घेर्न पुगेका थिए। ती लगानीकर्तालाई सेबोन अध्यक्ष भट्टले ‘क्यापिटल मार्केट रेस्क्यु प्लान’ ल्याउने आश्वासन दिए।

नेप्से बजार खुलेको एक घण्टामा २५४७ अंकमा ओर्लिसकेकामा भट्टको त्यो आश्वासनले बजार सम्हालियो।

प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिसँग पालैपालो छलफल गरेर आश्वस्त पार्ने प्रयास गरे पनि बजारले विश्वास गर्न सकेको छैन।

बालेनले असार २४ गते नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि, २५ गते निर्माण व्यवसायी र २६ गते ऊर्जा व्यवसायीसँग संवाद गरेका थिए। ती संवादमार्फत उनले निजी क्षेत्रको साथ लिएर नै आर्थिक विकास गर्ने बताइरहँदा नेप्से २४ गते ३०, २५ गते २२ र २६ गते १ अंकले घटेको थियो।

त्यो गिरावटले सोमबार पनि निरन्तरता पाएको नेप्से सोमबार ३०.६० अंकले घटेर ८ महिनाअघिको विन्दुमा आइपुगेको थियो। नेप्से यसअघि मंसिर ४ गते २५६० अंकमा थियो।

सेयर कारोबारमा अहिले कुनै उत्साह छैन। लगानीकर्ताले कन्फिडेन्स गुमाएको अवस्था छ। कम्पनीहरुको सेयर किनबेच घटिरहेको छ। सेयर धेरै कारोबार हुने सूचीमा कम्पनीहरु पर्न छोडेका छन्। मंगलबार शीर्ष कारोबार हुने सूचीको ९ नम्बरसम्म सबै ऋणपत्र छन्।

आइपीओ बिक्री गरेर दोस्रो बजारमा कारोबार सुरु गरेका कम्पनीको मूल्यमा यसअघि पोजेटिभ सर्किट लाग्ने गरेकामा यसपटक त्यसमा पनि ब्रेक लागेको छ।

बजार लगातार बियरिस हुँदा पोजेटिभ सर्किट लाग्ने कम्पनी हराउन थालेका छन्। ऋणपत्रको किनबेच बढ्दा वित्तीय सूचक राम्रा भएका कम्पनीमै लगानीकर्ता देखिएका छैनन्।

सरकारका एकपछि अर्का गतिविधिका कारण लगानीको वातावरण बिग्रिएको र त्यसको प्रभाव बजारमा देखिएको ब्रोकरहरु बताउँछन्।

‘अहिले बजार बढ्ने सिजन हो। किनभने अब धमाधम कम्पनीहरुको फाइनान्सियल रिपोर्ट आउँछ। तर, सरकारका तर्फबाट लगानीकर्तामा विश्वास जगाउने काम नै भएन,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका महासचिव भक्तिराम घिमिरेले बिजमाण्डूसँग भने, ‘बजारका लागि चाहिने सबै कुरा राम्रो भए पनि सरकारले कन्फिडेन्स दिन सकेन। लगानीकर्ता विश्वस्त हुन नसकेकै कारण बजार बियरिस भएको हो।’

दुई तिहाइ जनमत पाएर बनेको सरकारको चार महिना पूरा नहुँदै आलोचना बढिरहेको छ। सडकमा सरकारविरुद्ध प्रदर्शन गर्ने क्रम बढेको छ। सरकार भने सच्चिने दिशामा देखिएको छैन। कमजोरी सुधार गर्नेभन्दा अराजकतालाई प्रोत्साहित गर्ने र आतंक सिर्जना गर्ने काम सरकार पक्षबाटै भइरहेको छ।

राइड सेयरिङ गरेर गुजारा चलाउने युवा गणेश नेपालीले महानगर प्रहरीले ह्वील लक गरिदिएको विषयलाई लिएर आत्मदाह गरेकोदेखि सुकुम्बासीहरुलाई डुबानमा पारेको घटनामा आफ्नो आलोचना बढेपछि सोमबार सरकारकै योजनामा सडक अस्तव्यस्त पार्ने काम भयो। सञ्चार माध्यमलाई त्रसित पार्न उनीहरुका कार्यालय अगाडि सवारीसाधन जथाभावी पार्किङ गरेर आतंक सिर्जना गरियो। यसले सरकारप्रतिको भरोसा कमजोर हुँदै गएको छ।

सरकारले विश्वास जगाउने काम नगरेको कारण चैत १० गते २९६० अंकमा रहेको सेयर बजार अहिले बियरिस छ। बालेन प्रधानमन्त्री बनेयता सेयर बजार ३९० अंक घटेको छ। यसबीचमा लगानीकर्ताले करिब ६ खर्ब रुपैयाँ गुमाएका छन्। बजार पुँजीकरण ५० खर्बबाट ४४ खर्ब १६ अर्बमा झरेको छ। पछिल्लो तीन महिनायता सेयर कारोबार दैनिक १० अर्ब रुपैयाँ माथि जान सकेको छैन।

जबकि सूचकहरु बजार बियरिस हुनुपर्ने खालका छैनन्। बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ भने ब्याजदर इतिहासकै न्यून विन्दुमा छ।

उच्च तरलता र न्यून ब्याजदर हुँदा विगतमा सेयर बजारमा तत्काल सकारात्मक प्रभाव देखिने गरेकामा यसपटक ब्याजदर २ प्रतिशतमा आउँदा पनि लगानीकर्ताले लगानी गर्ने हिम्मत गर्न सकेका छैनन्।

दुई तिहाइको सरकार भए पनि लगानीकर्ता त्रसित अवस्थामा रहेको असर बजारमा देखिएको विश्लेषकहरु बताउँछन्।

‘सूचकको हिसाबले सेयरमा लगानी गर्न अहिले उपयुक्त समय थियो। तर अहिले सबै त्रासमा छन्। लगानीकर्ताको कन्फिडेन्स नै लुज भएको छ,’ एक विश्लेषकले भने, ‘दुई तिहाइको सरकारका गतिविधि विश्वासलाग्दा छैनन्। त्यसैले नयाँ व्यवसाय गर्न ऋण लिइहालौं भन्ने आँट कसैले गरिरहेको देखिंदैन।’

सम्पत्ति शुद्धीकरणको अनुसन्धानदेखि बहालवाला र अवकाशप्राप्त उच्चपदस्थ कर्मचारी तथा पदाधिकारीको सम्पत्ति छानबिनले पनि सेयर बजार तरंगित बनेको छ।