मुटकोर्ट च्याम्पियन बन्यो नेसनल ल कलेज, बेस्ट ओरलिस्ट अवार्ड सुस्मा आचार्यलाई



बिजमाण्डू
२०८३ असार ३० गते १३:१० | Jul 14, 2026
मुटकोर्ट च्याम्पियन बन्यो नेसनल ल कलेज, बेस्ट ओरलिस्ट अवार्ड सुस्मा आचार्यलाई


काठमाडौं। नेसनल ल कलेज सातौं भरतराज उप्रेती मेमोरियल फाउन्डेसन मुटकोर्टको च्याम्पियन बनेको छ।

Tata
GBIME
Nepal Life

डाटा सुरक्षा, हेट स्पिच र सामाजिक सञ्जाल प्रयोगबाट निम्तिएका पछिल्ला कानुनी उपचारबारे पायोनियर ल एसोसिएट्सको सहकार्यमा ललितपुरमा भएको मुटकोर्टमा नेसनल ल कलेजले उपाधिसहित नगद एक लाख पुरस्कार जितेको हो।

देशभरका १८ कलेज सहभागी मुटकोर्टमा ख्वप कलेज अफ ल रनर अप बनेको पायोनियर लकी प्रबन्ध निर्देशक पुजा मल्लले बताइन्। ख्वप कलेजले ५० हजार पुरस्कार पाएको छ।

द न्यौपाने ल एसोसिएट्स बेस्ट लिगल ओपिनियन अवार्ड नेपाल ल क्याम्पसले हात पारेको छ। यसको पुरस्कार राशि ५० हजार छ।

नेसनल ल कलेजकी सुस्मा आचार्यले ‘द बेस्ट ओरलिस्ट अवार्ड’सहित ५० हजार नगद पुरस्कार प्राप्त गरिन्। द रिलायन्स ल फर्म कमान्डिङ कोर्टरुम प्रिजेन्स अवार्ड भने हिमालयन ह्वाइटहाउस कलेज अफ लकी देवयानी अधिकारीले प्राप्त गरिन्। अधिकारीले ५० हजार रुपैयाँ पुरस्कार पाइन्।

मुटकोर्टको निर्णायकमा सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेल, पायोनियर लका मेनेजिङ पार्टनर अनुपराज उप्रेती, अधिवक्ता प्रकृति योञ्जन लगायत थिए।

यो पैरवीमा स्नातक तहमा अध्ययनरत १८ कलेजका ५४ जना विद्यार्थी सहभागी भएका थिए।

कक्षामा सिकेका कानुनी ज्ञानलाई व्यवहारमा उतार्न फाउन्डेसनले हरेक वर्ष ‘मुटकोर्ट’ आयोजना गर्दै आएको छ। सर्वोच्चका पूर्वन्यायाधीश भरतराज उप्रेतीको सम्झनामा फाउन्डेसनले मुटकोर्ट कार्यक्रम आयोजना गर्न थालेको हो। भरतराजको २०७२ जेठ ११ गते निधन भएको थियो। 

पैरवीमा ब्राइट भिजन ल कलेज, तुलसीपुर मेट्रो कलेज, नेसनल ल कलेज, लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी, हिमालयन ह्वाइट हाउस कलेज अफ ल, महर्षि ल कलेज, पृथ्वी नारायण क्याम्पस, मिडवेस्ट युनिभर्सिटी ग्राजुएट स्कुल अफ लका विद्यार्थी सहभागी थिए।

यस्तै काठमाडौं युनिभर्सिटी स्कुल अफ ल, कैलाली मल्टिपल क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल ल क्याम्पस, चक्रवर्ती हबी ल कलेज, काठमाडौं स्कुल अफ ल, ख्वप कलेज अफ ल, लुम्बिनी इन्टिग्रेटेड एकेडेमी, बुटवल मल्टिपल क्याम्पस र गण्डकी विश्वविद्यालयले पनि भाग लिएका थिए।

सोही अवसरमा ‘सामाजिक सञ्जालको दुविधा: अधिकार, नियमन र उपचार’ विषयक प्यानल बहससमेत भएको थियो। पायोनियरका उप्रेतीले मोडरेट गरेको उक्त बहसमा सर्वोच्च अदालतका न्यायाधीश पोखरेल, नायब महान्यायाधिवक्त्ता खेमराज ज्ञवाली, साइबर ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक दिलिपकुमार गिरी प्यानलिस्ट थिए।