पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार पार्न तालिम संचालन गर्ने तयारी



बिजमाण्डू
२०८३ असार २६ गते १३:५५ | Jul 10, 2026
पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार पार्न तालिम संचालन गर्ने तयारी


काठमाडौं। नेपालको पर्वतीय पर्यटनका लागि दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा संचालित दिगो पर्यटन परियोजना (एसटीपी) र नेपाल पर्वतारोहण संघबीच विशेष पर्वतारोहण तालिम संचालन गर्ने सम्बन्धमा समझदारी भएको छ।

Tata
GBIME
Nepal Life

समझदारीसँगै अब अपि, मनास्लु र कञ्चनजंघा क्षेत्रमा विशेष पर्वतारोहण तालिम संचालन गरिनेछ। यी तालिमले पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार पार्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार अपि हिमाल क्षेत्रमा माउन्टेन गाइड समर स्किलअन्तर्गत बेसिक माउन्टेनियरिङ तालिम संचालन हुनेछ। कञ्चनजंघा क्षेत्रमा माउन्टेन गाइड विन्टर स्किलअन्तर्गत एड्भान्स माउन्टेनियरिङ तालिम दिइनेछ।

त्यस्तै, मनास्लु क्षेत्रमा माउन्टेन लिडर ट्रेनिङ (समर स्किल) संचालन गरिनेछ। यी तालिम अन्तर्राष्ट्रिय अभ्यास र मापदण्डलाई ध्यानमा राखेर संचालन गरिने जनाइएको छ।

बोर्डका निमित्त कार्यकारी प्रमुख तथा एसटीपीका राष्ट्रिय परियोजना निर्देशक हिक्मत सिंह ऐरले नेपालको पर्वतीय पर्यटन देशको प्रमुख पहिचान र प्रतिस्पर्धात्मक क्षमता भएको क्षेत्र भएकाले यसको दिगो विकासका लागि दक्ष जनशक्ति निर्माण अपरिहार्य रहेको बताए।

उनका अनुसार सुरक्षित, गुणस्तरीय र दिगो पर्वतीय पर्यटन प्रवर्धनका लागि सक्षम मानव स्रोत नै सबैभन्दा महत्त्वपूर्ण आधार हो। नेपाल पर्वतारोहण संघसँगको सहकार्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष पर्वतारोहण जनशक्ति उत्पादन गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।

समझदारीपत्रमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा, महासचिव राजेन्द्रबहादुर लामा र कोषाध्यक्ष सुमी लामाले हस्ताक्षर गरेका छन्। नेपाल पर्यटन बोर्डका तर्फबाट एसटीपीका राष्ट्रिय परियोजना निर्देशक हिक्मत सिंह ऐर, राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाह तथा राष्ट्रिय परियोजना प्रबन्धक धर्मराज दवाडीले हस्ताक्षर गरेका हुन्।