इन्धन पम्पमा ‘ड्राइ’ घोषणा गर्न नपाइनेः उल्लंघनमा १० लाखसम्म जरिवाना, १५ दिन आपूर्ति बन्द



बिजमाण्डू
२०८३ असार १८ गते २३:०४ | Jul 2, 2026
इन्धन पम्पमा ‘ड्राइ’ घोषणा गर्न नपाइनेः उल्लंघनमा १० लाखसम्म जरिवाना, १५ दिन आपूर्ति बन्द

काठमाडौं। पेट्रोलियम पदार्थ कारोबार नगरी मंगलबार केही पेट्रोल पम्पमा व्यवसायीले इन्धन ‘ड्राइ’ घोषणा गरेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, २०७५ मा संशोधन गरी लागू गरेको छ।

Tata
GBIME
Nepal Life

नयाँ व्यवस्थाअनुसार अब कुनै पनि पेट्रोल पम्पले नोजल ‘ड्राइ’ घोषणा गर्न वा इन्धन नभएको भन्दै बिक्री रोक्न पाउने छैनन्। विक्रेताले नोजल ‘ड्राइ’ नहुने गरी पर्याप्त पेट्रोलियम पदार्थको मौज्दात अनिवार्य रूपमा कायम राख्नुपर्नेछ। साथै, नोजल ‘ड्राइ’ गरी उपभोक्ताले इन्धन नपाउने अवस्था सिर्जना गर्न पाइने छैन।

संशोधित विनियमावलीले नियम उल्लंघन गर्ने विक्रेतामाथि कडा कारबाहीको व्यवस्था गरेको छ। पहिलो पटक उल्लंघन गरे तीन लाख रुपैयाँ जरिवानासहित पाँच दिन इन्धन आपूर्ति बन्द गरिने छ।

दोस्रो पटक उल्लंघन दोहोरिए छ लाख रुपैयाँ जरिवानासहित १० दिन आपूर्ति रोकिने छ। तेस्रो पटक पनि उही गल्ती दोहोरिए १० लाख रुपैयाँ जरिवानासहित १५ दिनसम्म इन्धन आपूर्ति बन्द गरिने व्यवस्था गरिएको छ।

नेपाल आयल निगमले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन विनियमावली संशोधन गरी लागू गरिएको जनाएको छ।