काठमाडौं। नेपाल आउने भारतीय पर्यटकले अमेरिकी पर्यटककै हाराहारीमा खर्च गर्ने गरेका छन्। पछिल्लो समय नेपाल आउने भारतीय पर्यटकको संख्या बढिरहेकामा उनीहरुले यहाँ गर्ने खर्च पनि बढाउन थालेका छन्।
होटल व्यवसायीहरुका अनुसार भारतबाट आउने पर्यटकले एक दिनमा औसतमा ५ हजार रुपैयाँ खर्च गर्ने गरेका छन्। यो व्यय नेपाल आउने अमेरिकी पर्यटक बराबर नै रहेको उनीहरु बताउँछन्।
सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेका अनुसार अहिले भारतबाट पर्यटकले दैनिक ४ हजार ८१३ रुपैयाँ खर्च गर्ने गरेका छन्। हस्पिटालिटी क्षेत्र बाहिर उनीहरुले थप रकम खर्च गर्ने गरेका छन्।
‘एक जना भारतीय पर्यटकले एक दिनमा होटलमा ४ हजार ८१३ रुपैयाँ खर्च गर्ने गरेको देखिन्छ,’ न्यौपानेले भने, ‘यसबाहेक पर्यटकहरुले करिब १ हजार ५०० रुपैयाँ थप खर्च गरेको देखिन्छ।’
व्यवसायीहरुका अनुसार अमेरिकी पर्यटकले पनि नेपालमा भारतीयले जस्तै दैनिक औसतमा ५ हजार रुपैयाँ खर्च गर्ने गरेका छन्।
पाँचतारे होटेल मेरियटका सञ्चालक शशीकान्त अग्रवालले अहिले भारतबाट आउने पर्यटकको संख्या बढेको र त्यससँगै उनीहरुले गर्ने खर्च पनि बढिरहेको बताउँछन्।
‘हाम्रोमा आउने अधिकांश पाहुना अहिले भारतका छन्। उनीहरु एक हप्ताको प्याकेजमा आउने गर्छन्। पछिल्लो समय भारतबाट खर्च गर्ने पर्यटक आउने क्रम बढ्दो छ,’ अग्रवालले भने।
काठमाडौंसहित अन्य सहरमा संचालित पाँचतारे होटलमा पर्यटकले दिनको १८ हजारदेखि ३० हजारसम्म खर्च गर्ने गरेको होटल व्यवसायी बताउँछन्। एकजना पर्यटक करिब १० दिन नेपालमा बस्ने गरेको देखिन्छ। यसले हस्पिटालिटी क्षेत्र ‘बुम’ भएको छ।
४६ प्रतिशत पर्यटक भारतीय
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को जुन महिनामा नेपाल भित्रिएका पर्यटकमा ४६ प्रतिशत भारतीय छन्। जुन महिनामा हवाइ मार्ग हुँदै ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। तीमध्ये ४१ हजार ८०९ जना पर्यटक भारतीय हुन्। यो संख्या मे महिनामा भन्दा धेरै हो। मे महिनामा हवाइ मार्गबाट ४० हजार ७८२ भारतीय नेपाल आएका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत बैशाख (मे महिना)मा डलर बचाउन विदेश यात्रा कम गर्न सार्वजनिक अपिल गरेका थिए। त्यसपछि नेपाल आउने भारतीय पर्यटकको संख्यामा थप वृद्धि भएको व्यवसायी बताउँछन्।
यो तथ्यांक हवाई मार्गबाट आउने मात्रको हो। सडकमार्गबाट पनि दैनिक हजारौं संख्यामा भारतीय पर्यटक नेपाल आउने गरेका छन्। विभिन्न नाका हुँदै दैनिक एक हजारभन्दा बढी भारतीय सवारी नेपाल भित्रिने गरेका छन्। उनीहरुको मुख्य गन्तव्य काठमाडौं उपत्यकासहित, पोखरा, मुक्तिनाथ, मनकामना लगायत छन्।
जेठ महिनामा मात्रै एक लाख ५ हजार भारतीय पर्यटक मनकामना पुगेका थिए। केवलकार सुरु भएपछि अहिलेसम्मकै बढी भारतीय पर्यटकले मनकामनाको यात्रा गरेका हुन्।
त्यस्तै, अहिले मानसरोवर जाने समय पनि हो। नेपालगंजदेखि हुम्ला हुँदै मानसरोवर जान पनि धेरै संख्यामा भारतीय पर्यटक नेपाल आएका छन्।
सन् २०२५ मा सवा ३ करोड भारतीयहरु विदेश भ्रमणमा गएका थिए। यही वर्ष करिब ३ लाख भारतीय नेपाल आएका थिए। सन् २०२६ मा यो संख्या वृद्धि हुने देखिएको छ।
हाल भारतमा अत्याधिक गर्मी रहेको र प्रधानमन्त्री मोदीले विदेश यात्रा कम गर्न भनेका कारण नेपाललाई गन्तव्य बनाउने क्रम बढैको छ। धेरै ट्राभल भ्ल्गर नेपालका विभिन्न भेग पुगिरहेका छन्। भारतस्थित नेपाली राजदूतावासले पनि भारतीय पर्यटकलाई नेपाल तान्न त्यहाँका कन्टेन्ट क्रिएटरलाई नेपाल घुमाउने तयारी गरेको छ।
भारतीय आउँदा बढ्यो आम्दानी
सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले प्याकेज अनुसार पर्यटक आउने गरेको बताए।
‘हाम्रा सबै होटलमा ११ महिना (२०२५ जुलाईदेखि २०२६ मे)मा आएका पर्यटकले औसतमा दिनको ४ हजार रुपैयाँ खर्च गरेका छन्। भारतीयहरुले अलि बढी खर्च गरिरहेका छन्,’ उनले भने।
उनका अनुसार सिद्धार्थ हस्पिटालिटीको व्यवसायमा भारतीय पर्यटकको मुख्य योगदान छ।
‘हामी २०२५ जुलाई १७ देखि २०२६ मे ३१ सम्म ८ करोड ३८ लाख ४३ हजार आम्दानी गर्न सफल भएका छौं। नेपालभर रहेका आउटलेटमा १० महिनामा ११ हजार ४७४ हजार बसेका छन्,’ उनले भने।
न्यौपानेका अनुसार भारतीय पर्यटकबाट मात्रै सिद्धार्थ हस्पिटालिटीले १० महिनामा ४ करोड १७ लाख ४ हजार २६५ रुपैयाँ आम्दानी गरेको छ।
प्याकेज अनुसार खर्च
होटल म्यारियटमा एक रातका लागि कप्पल प्याकेजको मूल्य १८ हजार रुपैयाँ छ। उनीहरुले थप ७ हजार सम्म खानामा खर्च गर्ने गरेको होटेलका सञ्चालक अग्रवालले बताए।
‘हाम्रोमा आउने अधिकांश पर्यटक भारतका छन्। उनीहरु १ हप्ताको प्याकेजमा आउने गर्छन्,’ उनले भने।
होटल पौवाका देशभर रहेका १९ वटा आउटलेट पनि भारतीय पर्यटककै कारण गुल्जार बनेका छन्। ‘हाम्रो होटलमा आउने अधिकांश पर्यटक नेपाली र भारतीय हुनुहुन्छ। चीन र अमेरिकाका पर्यटक पनि आउनुहुन्छ,’ होटलका म्यानेजिङ डाइरेक्टर महेन्द्र भण्डारीले भने, ‘होटलको व्यापार बढाउन भने भारतीय पर्यटकको बढी योगदान छ।’
काठमाडौंको लेमन ट्रीमा भारतीय, नेपाली र रसियन पर्यटक धेरै पुग्ने गरेका छन्। ‘रुम, बिहान ब्रेकफास्ट, लन्च र डिनर गरेर एक दिनमा १२ हजार रुपैयाँको प्याकेज छ,’ होटलका महाप्रबन्धक मनोज कुमार थापाले भने। यसबाहेक पर्यटकले होटलबाट नै काठमाडौं घुम्न चाहे ८ घण्टा वा ८० किलोमिटरका लागि ६ हजार ५०० रुपैयाँ लिने गरेको छ।
सोल्टी होटलमा सबैभन्दा धेरै खर्च भारतीय र अमेरिकी पर्यटकले गर्ने गरेका छन्। होटलका उपाध्यक्ष सुदर्शन चापागाइँले सोल्टीको व्यापारमा भारतीय र अमेरिकी पर्यटकको बढी योगदान रहेको जानकारी दिए।
‘विदेशी पर्यटक हाम्रोमा आउँदा २ दिनसम्म बस्ने गर्छन्। ब्रेकफास्ट र एक रात बसेको १५० अमेरिकी डलर छ,’ उनले भने।
पर्यटकले अल्फट होटलमाएक दिनमा २२ हजारसम्म खर्च गर्ने गरेका छन्।
सन् २०२५ मा नेपाल आएका पर्यटकले औसतमा ३३.०८ डलर (करिब ५ हजार रुपैयाँ) रुपैयाँ खर्च गरेका थिए। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सो वर्ष नेपाल आउने पर्यटकको बसाई लम्बिएको थियो। यसपटक भारतीयहरुको ‘ओभर फ्लो’का कारण औसत खर्चमा वृद्धि हुने अनुमान छ।









