काठमाडौं। ऊर्जा मन्त्रालयले केही दिनअघि सचिवस्तरीय बैठकका लागि भारतलाई पत्र पठायो। मन्त्रालयले बंगलादेशमा यही सिजनदेखि २० मेगावाट बिजुली निर्यात गर्ने योजना कार्यान्वयन गर्ने उद्देश्यसहित पठाएको पत्रको जवाफधरि आएको छैन।
जवाफ नै नआएपछि बंगलादेशमा थप बिजुली निर्यात गर्ने योजनामा ब्रेक लागेको छ। बिजुली लैजान बंगलादेश तयार छ भने नेपाल बेच्न। तर, थप बिजुली लैजान भारतको सहमति आवश्यक पर्छ। त्यही सहमतिका लागि ऊर्जाले पठाएको पत्रमा जवाफ नआएपछि ऊर्जाका अधिकारीहरु चकित परेका छन्।
‘हामीले पठाएको पत्रको जवाफ आएको छैन। नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बसेर बंगलादेशमा थप २० मेगावाट बिजुली निर्यात गर्न खोज्दा सम्भव भएको छैन,’ ऊर्जाका एक अधिकारीले बिजमाण्डूसँग भने, ‘भारतले अहिले यसअघि सम्बन्ध बिग्रिएका बेलाको जस्तै व्यवहार गरेको छ।’
नेपाल विद्युत प्राधिकरणले केही दिनदेखि गत वर्षकै जति ४० मेगावाट बिजुली बंगलादेशमा निर्यात गरिरहेको छ।
उच्च स्रोतका अनुसार नेपालले पनि भारतको भूमि मिचेको र बेलायतलाई मध्यस्थताका लागि कुरा गरेको प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिले भारतीय संस्थापन पक्ष असन्तुष्ट बनेको छ।
‘प्रधानमन्त्रीज्यूले संसद्मा दिएको अभिव्यक्तिले दुई देशको सम्बन्धमा दरार आएको देखिन्छ। अहिले यसअघि केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहँदाको भन्दा खराब अवस्था होकी जस्तो आभास भएको छ,’ ती अधिकारीले भने, ‘त्यसैको रिफ्लेक्ट यसमा पनि परेको हुनसक्छ।’
उनले भारतले गरेका केही निर्णयलाई सिलसिलेवार रुपमा उल्लेख गर्दै चिया निकासी र भारतबाट चिनी आयातमा प्रतिबन्धको कारण पनि राजनीतिक नै भएको दाबी गरे।
‘हामीले अनौपचारिक रुपमा पनि जोडबल गरिरहेका छौं। तर रिजल्ट सकारात्मक आएको छैन,’ उनले भने, ‘हामी आशावादी भएर बसेका छौं।’
भारतको नेपालसँग मात्रै होइन, बंगलादेश सरकारसँग पनि राम्रो सम्बन्ध छैन।
शेख हसिना अपदस्थ भएपछि चुनावबाट आएको सरकारसँग पनि सम्बन्ध राम्रो नरहेकाले भारतले नेपालको थप बिजुली बंगलादेश निर्यात गर्ने विषयलाई प्राथमिकतामा नराखेको हुनसक्ने ती अधिकारीको अनुमान छ।
‘बंगलादेशको अन्तरिम सरकारका बेलामा सम्बन्ध बिग्रिएको थियो। नयाँ सरकारसँग राम्रो भइसकेको छैन,’ उनले भने, ‘त्यो कारणले नेपालबाट लैजान खोजिएको बिजुलीका विषयमा वास्ता नगरेको होकी?’
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछानेले जेठ तेस्रो साता र लगत्तै परराष्ट्रमन्त्री शिशिर खनालले गरेको भारत भ्रमणबाट दुई देशको सम्बन्ध सुध्रिने अपेक्षा थियो। तर परिणाम देखिएको छैन।
बालेनले रास्वपाको महाधिवेशनमा संसद्मा बोलेको विषयमा एक्सप्लेन गर्दै सीमा विवादमा बेलायतको मध्यस्थता नभइ प्रमाण मात्रै खोजेको अभिव्यक्ति दिए। त्यो अभिव्यक्तिलाई भारतीय पक्षले कसरी हेर्छ भन्ने कुरा महत्वपूर्ण हुने ती अधिकारीले बताए।
चिया निकासीलाई भारतले कसरी हेर्छ?
भारतमा चिया निकासी रोकिएको एक सातापछि सरकारले कार्यदल गठन गरेको छ। कार्यदललाई दुई साताभित्र तत्कालीन, मध्यमकालीन र दीर्घकालीन समाधानको सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ।
स्रोतका अनुसार कार्यदल गठन गरेको दुई दिनभित्रै नेपालस्थित भारतीय दूतावासले चिया उद्योगीलाई बिहीबार छलफलमा बोलाएको थियो। तर, अन्तिम समयमा दूतावासले छलफल स्थगित गर्यो।
भारतीय दूतावासले चियाका विषयमा नेपालभित्र भइरहेको आन्तरिक छलफललाई समेत नजिकबाट हेरिरहेको छ। उद्योगीहरुले चिया निकासीका लागि अरु विकल्प खोजिरहेको र सरकारमा रहेकाहरुबाट आएका अभिव्यक्तिलाई दूतावासले नजिकबाट हेरिरहेको हो।
‘दुई देशको सम्बन्ध र कूटनीतिलाई परिपक्व ढंगले समाधान गर्नुपर्छ। कच्चा हिसाबले अभिव्यक्ति दिइयो भने झन् ठूलो समस्या आउँछ,’ एक उद्योगीले भने, ‘चियाको मात्रै विषय होइन, अहिले अरु विषय पनि कसिलो बनिरहेको बुझेका छौं। यसमा खेलाँची गर्नु हुँदैन।’










