काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आसन्न २४औँ वार्षिक साधारणसभा र नयाँ नेतृत्व चयनको पूर्वसन्ध्यामा आन्तरिक वैधानिक विवाद झनै चर्किएको छ।
महासचिव बलाराम खतिवडाको टिमले पहिले विधान संशोधन गर्न र त्यसपछि मात्र चुनावी प्रक्रिया अगाडि बढाउन माग गर्दै हस्ताक्षरसहितको निवेदन बुझाएका छन्।
उनीहरुले शुक्रबार हुन लागेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) आठौँ अधिवेशका लागि २४औ वार्षिक साधारणसभाबाट विधान पारित गरेर मात्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन कार्यक्रम अगाडी बढाउन माग राख्दै इप्पानमा ऊजुरी दर्ता गरेको हो।
‘यसरी कार्य समितिको सम्बन्धमा २३ औं वार्षिक साधारण सभाले पोखरेल समितिको प्रतिवेदन स्पष्ट रुपमा अनुमोदन गरिसकेको हुँदा, इप्पानको विधानमा कार्यसमितिको निर्वाचन सम्बन्धमा २१ औं र २३ औ दुवै वार्षिक साधारण सभामा पारित निर्णयहरुलाई २४ औ साधारण सभाले सच्याइ विधान संसोधन गरेर मात्र निर्वाचन कार्य अगाडी बढाउन हामी तपसिलको हस्ताक्षर सहित अनुरोध गर्दछौ,’ निवेदनमा भनिएको छ।
इप्पान अध्यक्ष गणेश कार्कीले दर्ता भएको निवेदन साधारण सभामा प्रस्तुत हुने र साधारण सभाको निर्णय नै अन्तिम निर्णय हुने बताए।
‘निवेदन दर्ता भएको छ। त्यो निवेदनको बारेमा भोलीको साधारण सभामा प्रस्तुत हुन्छ। सधारण सभाले जे निर्णय गर्छ। त्यही अनुासार अगाडि बढ्छ,’ कार्कीले भने।
इप्पानमा २ टिम घोषित रुप मै चुनावी मैदानमा उत्रिएका छन्। जसको एउटा टिमको नेतृत्व उत्तम भ्लोनले गरिरहेका छन्। अर्को टिमको बलराम खतिवडाले गरिरहेको छन्। ६८३ मतदाता भएको संस्थामा मनोनयन दर्ता सम्पन्न भइसकेको छ।











