उत्तरगङ्गा जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माण गरिने, ठेक्कामा लैजाने सरकारको योजना

बिजमाण्डू
२०८३ जेठ १६ गते १७:३३ | May 30, 2026
उत्तरगङ्गा जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माण गरिने, ठेक्कामा लैजाने सरकारको योजना


गलकोट। सरकारले बहुप्रतिक्षित बागलुङको उत्तरगङ्गा जलाशययुक्त परियोजनासहित ५ वटा जलविद्युत् आयोजनालाई ठेक्कामा लैजाने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट वक्तव्यमा सरकारले बागलुङको उत्तरगङ्गा जलाशययुक्त ८२८ मेगावाट परियोजना ठेक्कामा लैजाने उल्लेख गरेको हो।

GBIME
Tata

सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँ बजेट सार्वजनिक गर्दै ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड रुपैयाँ रकम विनियोजन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिए।

उनले शुक्रबार सार्वजनिक गरेको बजेटमा मुलुकको सस्तो नमूना जलविद्युत् आयोजनाका रूपमा चर्चा कमाएको ८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनासहित ५ वटा ठूला जलविद्युत् आयोजनाको बजेट व्यवस्थापनसहित ठेक्कामा लैजाने बताए।

सरकारले ८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त आयोजनासहित १ हजार ६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुरसेती, ९९ मेगावाटको तामाकोशी-५ र ७७ मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गर्ने जनाएको छ। ४१७ मेगावाटको नलगाड, ४९० मेगावाटको अरुण-४ र २८१ मेगावाटको नौमुरै आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउने अर्थमन्त्रीले बताए।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानीमा ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्ने अर्थमन्त्री वाग्लेले जानकारी दिए।

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको वातारणीय प्रभाव मूल्याङ्कन (ईआइए) प्रतिवेदन स्वीकृत भइसकेको छ। करिब २२ वर्षअघिदेखि चर्चामा रहेको आयोजनाको ईआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले २०८० सालमा स्वीकृत गरेको हो।

बागलुङमा निर्माण अघि बढेको आयोजना विसं २०६१ देखि चर्चामा छ। यो आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक उत्तरगङ्गा हाइड्रोपावर कम्पनी लिमिटेडले अघि बढाउँदै आएको थियो।

प्रति मेगावाट लागतका दरले नेपालको सबभन्दा सस्तो उक्त जलाशय आयोजनाको ईआइए स्वीकृत भएको आयोजना ठेक्कामा लाग्ने बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित सङ्घीय सांसद शोम शर्माले जानकारी दिए। उनले बागलुङको २ नम्बर क्षेत्रमा रहेको आयोजनामा रकम व्यवस्थापनसहित ठेक्कामा लैजाने गरी बजेट वक्तव्य आएको बताए।

निर्माण सुरु भएको १० वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य लिइएको आयोजनामा ढोरपाटन उपत्यकामा उत्तरगङ्गाको पानी जम्मा गरेर निसीखोलामा झारेर बाह्रै महिना विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको थियो। ढोरपाटनको उत्तरगङ्गा नदीमा २०० मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई ढोरपाटनबाट निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ।

आयोजनामा ८ हजार ५१० मिटर लामो हेडरेस पाइप निर्माण हुनेछ भने १ हजार ८७५ मिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ। आयोजनामा दुई वटा भूमिगत विद्युतगृह निर्माण हुनेछन्।

पहिलो विद्युतगृहमा १०५ मेगावाट क्षमताका चार वटा युनिट रहने छन् भने दोस्रो विद्युतगृहमा १०१ मेगावाट क्षमताका चार वटा युनिट निर्माण हुनेछन्। रासस