सीइएक्सआइएम बैंकद्वारा सानिमा बैंक एजेन्ट नियुक्त, जलविद्युत आयोजनामा सहजीकरण गर्ने

बिजमाण्डू
२०८२ भदौ ६ गते ११:५५ | Aug 22, 2025
सीइएक्सआइएम बैंकद्वारा सानिमा बैंक एजेन्ट नियुक्त, जलविद्युत आयोजनामा सहजीकरण गर्ने


काठमाडौं । चीनको द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक (सीइएक्सआइएम)ले सानिमा बैंक लिमिटेडलाई मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रा.लि (१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.लि (१२० मेघावाट) आयोजनाका लागि वित्तीय सहजीकरण/मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ ।

GBIME
Tata

सीइएक्सआइएम बैंकको चीन स्थित सिचुवान शाखामा आयोजित कार्यक्रममा सानिमा बैंक लिमिटेड र सीइएक्सआइएमबिच सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र सीइएक्सआइएमको तर्फवाट सिचुवान शाखाकी उपाध्यक्ष उ ह्वानहुले हस्ताक्षर गरेका हुन्।

सो समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले एजेन्सी बैंकको रुपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरि छनौट गरेको धन्यवाद व्यक्त गरेका थिए। सीइएक्सआइएम बैंक सँगको महत्वपूर्ण सहकार्यले सानिमा बैंकको सम्बन्ध विस्तार भई व्यापार प्रवर्धनमा टेवा पुग्ने उनको विश्वास थियो। उनले उर्जा जलविद्युत, व्यापार पूर्वाधार, लगायतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने बताए।

त्यसैगरी सीइएक्सआइएम र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहजिकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन्। उक्तकार्यको लागि सानिमा बैंकको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले परियोजनाबाट प्राप्त अनुभवबाट भविष्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न हुनसक्न बताएका थिए।

साथै, यी परियोजना सफल बनाउन हाल सम्मकै ठुलो परिमाणमा चाईनिज मुद्राकोअन्तरदेशीय कारोबार नेपालमा भित्राउन सानिमा बैंक सफल भएको बैंकले जनाएको छ।