काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो।
हाइड्रो सपोर्ट कम्पनीले ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो। सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि चार हजार ३१९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताए।
अडिटको दुरी ४५९ मिटर छ। बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ। अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ ल्याउने पानी १५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ।
रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युतगृह , स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ। रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोवटिक सटकिटलगायत उपकरण ल्याएको बताए।
मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि ७ किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा आवद्ध हुनेछ। आगामी ३ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताए। कूल १२ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा नबिल बैंक लिमिटेडको नेत्तृत्वमा ६ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रर्वद्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ।
नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर ८ रुपैयाँ ४० पैसा र वर्षायामको दर ४ रुपैयाँ ८० पैसा कायम भएको छ। आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट १ अर्ब ९ करोड र बर्खामा २७७ गिगावाटबाट एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ।
मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा ३०० मेगावाट भन्दा बढी क्षमताका ३ वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन्। ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, १८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माणको तयारी गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। रासस










