काठमाडौं। नेपाल आयल निगमको अमलेखगंज डिपो प्राविधिक समस्याका कारण जोखिमपूर्ण बनेको छ। नयाँ ट्यांकदेखि लोडिङ बेमा जाने पाइपमा बारम्बार देखिएको समस्याले डिपो नै जोखिमपूर्ण बनेको हो।
निगम स्रोतका अनुसार नयाँ ट्यांकदेखि लोडिङ बेमा जाने पाइप कहिले बांगिने र कहिले अलाइनमेन्ट नै परिवर्तन हुने समस्या देखिएको छ। यो समस्या देखिएको डेढ महिना भइसकेको छ।
गत जेठको मध्यतिर नयाँ ट्यांकबाट लोडिङ बेमा आउने पेट्रोलको पाइप बांगिएको थियो। त्यतिखेर ४ दिन डिपो नै बन्द गरिएको थियो। निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राविधिक टोली बोलाएर पाइपको ‘रेक्टिफिकेसन’ गरेको थियो।
तर, ‘रेक्टिफिकेसन’ले धेरै काम गरेन। जेठ अन्तिमदेखि पाइपमा निरन्तर समस्या देखिएको छ। आवाज आउनुका साथै नयाँ ट्यांकबाट लोडिङ बेसम्म डिजेलको पाइपमा पनि अलाइनमेन्ट परिवर्तन भएको छ।
नयाँ ट्यांक र लोडिङ बे बीचको दूरी धेरै हुँदा समस्या देखिएको हुनसक्ने डिपोका कर्मचारीहरूको बुझाइ छ। उनीहरूले यसलाई पाइपलाइनको डिजाइनमै कमजोरीका रुपमा लिएका छन्।
कर्मचारीहरूले पाइपलाइनमा निरन्तर समस्या देखिनुलाई सुरक्षाका दृष्टिले जोखिमपूर्ण भनेका छन्।
‘यसरी पाइप बांगिने र अलाइनमेन्ट परिवर्तन हुने समस्याले डिपो सुरक्षितरुपमा संचालनमा छ भन्न मिल्दैन। सेफ्टीमा ठूलो समस्या आउन सक्छ। अमलेखगंज डिपोमा काम गर्ने कर्मचारीसँग त्यो जोखिम न्यूनीकरण गर्ने दक्षता छैन,’ निगम स्रोतले भन्यो।
अमलेखगंज डिपोका प्रमुख प्रलयंकर आचार्यले पनि ट्यांकबाट लोडिङ बेसम्म आउने इन्धनको पाइपमा प्राविधिक समस्या देखिएको बताए।
‘डेढ महिनादेखि पाइपलाइनमा अलाइनमेन्ट परिवर्तन हुने, कहिलेकाहीँ बाङ्गिए जस्तो देखिने र आवाज आउने जस्ता समस्या देखिएको छ,’ उनले भने, ‘हाल पाइपलाइन संचालन भए पनि जोखिमपूर्ण अवस्था छ।’
अमलेखगंज डिपोले यो समस्या समाधानका लागि निगम मुख्यालयको ध्यानाकर्षण गराइसकेको छ। भारतले बनाइदिएको पाइपलाइन २०७६ भदौमा उद्घाटन गरिए पनि अहिलेसम्म हस्तान्तरण भएको छैन।
डिपो प्रमुख आचार्यले हस्तान्तरण नभएकाले निगमले आफूखुशी मर्मत गर्न नमिल्ने बताए।
‘पाइपलाइन आयोजना पूर्णरुपमा हस्तान्तरण भइसकेको छैन। त्यसैले निगमले आफूखुशी मर्मत गर्न मिल्दैन। झन् जोखिमको सम्भावना पनि हुन्छ,’ उनले भने।
डिपोमा हाल दैनिक २०० ट्यांकर अर्थात् करिब ३५०० देखि ४००० किलोलिटर इन्धन लोड हुने गरेको छ। डिपोको क्षमता पनि यही हो। तर, सिजनका बेला दैनिक ६ हजार किलोलिटरसम्म इन्धन वितरण हुन्छ। ओभरलोडका कारण पनि समस्या आएको हुनसक्ने निगमका कर्मचारीको आशंका छ।
आईओसीको टोली कहिले आउँछ?
अमलेखगंज डिपोले समस्याबारे जानकारी गराएपछि एनओसीले यस विषयमा आईओसीलाई अवगत गराइसकेको छ। निगमले असारको सुरुमै आईओसीलाई डिपोमा जोखिमपूर्ण अवस्था रहेको अवगत गराएको हो।
निगमका तत्कालीन उप-कार्यकारी निर्देशक वीरेन्द्र गोइतले कतै डिजाइनमै त्रुटि भएकाले समस्या निम्तिएको त होइन भनी आईओसीका अधिकारीसामु प्रश्न गरेका थिए।
त्यसपछि आईओसीले डिजाइन रिभ्यु र ‘रेक्टिफिकेसन’ गर्न चाँडै प्राविधिक टोली पठाउने जवाफ दिएको थियो। गोइतले एक महिनाअघि नै अवकाश पाइसकेका छन्। तर, आईओसीको टोली आएको छैन।
अमलेखगंज डिपोका प्रमुख आचार्यले आईओसीको प्राविधिक टोली एक हप्ताभित्र आउने जानकारी आएको बताए।










