बंगलादेशमा विद्युत् निर्यात सुरु गरेको नेपाललाई ५ महिनामा कति हुन्छ आम्दानी?



बिजमाण्डू
२०८२ असार १ गते १६:४७ | Jun 15, 2025
बंगलादेशमा विद्युत् निर्यात सुरु गरेको नेपाललाई ५ महिनामा कति हुन्छ आम्दानी?

काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपालबाट बंगलादेशमा व्यावसायिक रुपमा विद्युत् निर्यात सुरु गरिएको औपचारिक घोषणा गरेको छ। मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत असार १ देखि बंगलादेशमा व्यावसायिक रुपमा विद्युत बिक्री सुरु गरिएको जानकारी दिएको हो।

Tata
GBIME
Nepal Life

गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाईन हुँदै बंगलादेश विद्युत निर्यात गरेको प्राधिकरणले असार १ देखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो।

गतवर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत निर्यात भएको थियो।

उर्जामन्त्री दीपक खड्काको नेतृत्वमा २०८१ असोज १७ गते भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर, बंगलादेशका विद्युत् उर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजल किवर खानबीच बंगलादेशमा ४० मेगावाट बिजुली बेच्ने सम्झौता भएको थियो। जुन १५ देखि २०२५ नोभेम्बर १५ सम्म ५ महिना नियमित विद्युत् बंगलादेश बिक्री गरिने मन्त्रालयले जनाएको छ।

‘५ महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुनेछ। उक्त विद्युत् बिक्रिबापत नेपाल सरकारले ५ महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् १ अर्ब २९ करोड नेपाली रुपैंया आम्दानी गर्नेछ,’ मन्त्रालयले भनेको छ।

नेपालमा उत्पादित विद्युत् ४०० केभी प्रसारण लाइन ढल्केबर-मुजफ्फरपुर, मुजफ्फरपुर-वेहरामपुर हुँदै भेडामारा (बंगलादेश) सम्म निर्यात भइरहेको छ। त्रिशुली जलविद्युत् आयोजनाबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१.४० मेगावाट गरी हाल ४० मेगावाट विद्युत् बंगलादेश निर्यात भइरहेको छ।

विद्युत् प्राधिकरणले प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी बिक्री गर्ने सम्झौता भएको छ।

प्राधिकरणले जुन १५ देखि भारतको हरियाणा राज्यमा पनि विद्युत् निर्यात सुरु गरिसकेको छ। जेठ १८ देखि १ सय ८५ मेगावाट विद्युत् निर्यात गर्दै आएको प्राधिकरणले जेठ ३१ गते रातिदेखि सोही स्थानका लागि २०० मेगावाट विद्युत् निर्यात गरेको छ।

गएराति १२ बजेदेखि नै भारतको बिहार राज्यमा ८० मेगावाट विद्युत् निर्यात सुरु गरेको पनि मन्त्रालयले जानकारी दिएको छ।