बंगलादेशमा आजदेखि ४० मेगावाट विद्युत निर्यात सुरु, पाँच महिना निरन्तर बिजुली पठाइने

बिजमाण्डू
२०८२ असार १ गते ०७:५७ | Jun 15, 2025
बंगलादेशमा आजदेखि ४० मेगावाट विद्युत निर्यात सुरु, पाँच महिना निरन्तर बिजुली पठाइने

काठमाडौं । नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बंगलादेश विद्युत निर्यात सुरु गरेको छ। गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाईन हुँदै बंगलादेश विद्युत निर्यात गरेको प्राधिकरणले असार १ देखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो।

Tata
GBIME

गतवर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत निर्यात भएको थियो।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बंगलादेशमा निर्यात गर्न पाउनु खुशीको खबर भएको बताएका छन्।

नेपालले हरेक वर्ष पाँच महिना वर्षातको समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ। गत वर्ष बंगलादेशसँग विद्युत निर्यात सम्झौता गरेको नेपालले त्यसबेला जम्मा १२ घण्टामात्र विद्युत निर्यात गर्न पाएको थियो। यो वर्षभने आजदेखि पाँच महिना निरन्तर बंगलादेशमा विद्युत निर्यात गरिनेछ।

नेपाल विद्युत प्राधिकरणले त्रिशुली जलविद्युत केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१.४० मेगावाट विद्युत निर्यात गर्न नेपाल, भारत र बंगलादेशबीच गतवर्ष सम्झौता भएको थियो।

आजदेखि बंगलादेश निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ। पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुने नेपाल विद्युत प्राधिकरणका विद्युत प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिनुभयो।

उक्त विद्युत बिक्री बापत् नेपाल सरकारले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् एक अर्ब २९ करोड नेपाली रुपैँया आम्दानी गर्नेछ। उक्त सम्झौता बमोजिम निर्यात हुने विद्युतको बिक्री दर ६.४० अमेरिकी सेन्ट प्रति युनिट रहेको छ। उक्त विद्युत नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ।