आईएलओको सम्मेलनमा चन्द्र ढकालको सम्बोधन, ‘नेपालमा लगानीका लागि थप अवसर छ’

बिजमाण्डू
२०८२ जेठ २६ गते १७:२५ | Jun 9, 2025
आईएलओको सम्मेलनमा चन्द्र ढकालको सम्बोधन, ‘नेपालमा लगानीका लागि थप अवसर छ’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन्।

Tata
GBIME

उनले स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरबारे विश्व समुदायलाई जानकारी गराए।

उनले रोजगारदाताहरुका तर्फबाट सम्बोधन गर्ने क्रममा महासंघको आग्रहमा लगानी सम्बद्ध करिब ३० वटा कानुन परिमार्जन गरिएको र द्धिपक्षीय लगानी सम्झौताको खाका तयार भएको बताए।

ढकालले भौगोलिक अवस्थितिका कारण नेपालमा कृषिजन्य उत्पादन, जलविद्युत र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको भन्दै अवसर खोज्न आग्रह गरे।

‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ,’ उनले भने, ‘तर पनि भारत चीन लगायत मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ।’

ढकालले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तर्राष्ट्रिय सहभागिताका लागि आग्रह गरे।

उनले हरितगृह ग्यास उत्सर्जनमा योगदान नभए पनि नेपालका हिमाल पग्लिँदै गएको तथा हिमाल संरक्षणमा नेपालले खेलेको भूमिकाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउँदै पहाडी र टापु राष्ट्रहरूका लागि बजार पहुँच, वित्तीय सहायता र विकास सहयोगमा विशेष समर्थनको आवश्यकतामा जोड दिए।

सम्मेलनमा विश्वका करिब १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधि सहभागी छन्।

औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोचसहित काम गरेकोमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले नेपाल, जिम्बाव्वे, कोट डे भाँ, उरुग्वे र नामिबियाको प्रशंसा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ।