नख्खुको अपार्टमेन्ट भाडामा लिएर आइपीएलको सट्टेबाजी, साढे ८१ करोडको कारोबार

बिजमाण्डू
२०८२ जेठ २० गते १७:५२ | Jun 3, 2025
नख्खुको अपार्टमेन्ट भाडामा लिएर आइपीएलको सट्टेबाजी, साढे ८१ करोडको कारोबार


काठमाडौं। भारतमा जारी आइपीएलको ललितपुरमा ठूलो परिमाणमा सट्टेबाजी भएको खुलेको छ। नख्खुस्थित सनराइज अपार्टमेन्टको एउटा युनिट भाडामा लिएर सट्टेबाजी गराइएको खुलेको हो।

Tata
GBIME

अपार्टमेन्ट भाडामा लिएर सट्टेबाजी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ५ भारतीय नागरिकसहित १७ जनालाई पक्राउ गरेको हो।

सट्टेबाजीको कारोबार गर्ने एक नेपालीलाई मासिक ८० हजार रुपैयाँ दिने गरेको पनि देखिएको छ।

उनीहरूको साथबाट प्रहरीले मोबाइल र ल्यापटप बरामद गरेको छ। त्यसको अनुसन्धानबाट सट्टेबाजीमा ८१ करोड ४७ लाख ५७ हजार ४४६ रुपैयाँको कारोबार भएको देखिएको छ। आइपीएलमा मंगलबार राति रोयल च्यालेन्जर्स बैङ्लुरु र पञ्जाव किंग्सबीच फाइनल खेल हुँदैछ।

उनीहरूले काठमाडौं उपत्यकाभित्र र भारतमा समेत ठाउँ सारेर सट्टेबाजी गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ। ‘पहिले भन्दा व्यवस्थितरुपमा सट्टेबाजी गरेको देखिन्छ। उनीहरूले ठाउँ सारेर कारोबार गर्ने गरेको देखिन्छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले भने।

सट्टेबाजी खेल्नेमा अधिकांश भारतीय नागरिक छन्। उनीहरूले भारतीय बैंक खाता प्रयोग गरेको देखिएको छ।

यसअघि पनि प्रहरीले ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा घर नै भाडामा लिएर अनलाइन जुवा खेलाउने भारतीय नागरिकलाई पक्राउ गरेको थियो।