१० वर्षपछि संचालनमा आयो बालाजुस्थित बाइसधारा स्विमिङ पुल, विद्यार्थीलाई ५० रुपैयाँ छुट

बिजमाण्डू
२०८२ जेठ १८ गते १५:०० | Jun 1, 2025
१० वर्षपछि संचालनमा आयो बालाजुस्थित बाइसधारा स्विमिङ पुल, विद्यार्थीलाई ५० रुपैयाँ छुट


काठमाडौं। बालाजुस्थित बाइसधारा उद्यानमा रहेको स्विमिङ पुल आइतबारदेखि पुनः संचालनमा आएको छ। २०७२ सालको भूकम्पले क्षति पुर्‍याएयता बन्द रहेको पुल पुनः संचालनमा आएको हो।

Tata
GBIME

स्विमिङ पुल पुन:निर्माणका लागि निकै लामो समय लाग्दा उद्यानको आय पनि घटेको थियो। स्विमिङ पुलमा १८ लाख लिटर पानी अट्ने क्षमता छ। ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको स्विमिङ पुलको गहिराइ ३ फिटदेखि १० फिटसम्म छ।

स्विमिङ पुलमा पानी शुद्धीकरण प्लान्ट स्थापना गरिएको छ। पानीको पीएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको छ।

१५० जना क्षमताको दर्शक बस्ने ठाउँ पनि बनाइएको छ। साथै, व्यवस्थित शौचालय र स्नान घर पनि निर्माण गरिएको छ। पौडी खेल्न आउनेहरूका लागि लकरहरूको पनि व्यवस्था छ।

स्विमिङ शुल्क २०० रुपैयाँ तय गरिएको छ। मासिक सदस्यता लिएर सेवा लिनेका लागि ४ हजार रुपैयाँ तोकिएको छ। सिजनल सदस्यहरूका लागि १२ हजार रुपैयाँ तोकिएको छ।

विद्यार्थीलाई छुट प्रदान गरेर १५० रुपैयाँ तोकिएको छ। २० जनाभन्दा धेरै विद्यार्थीको समूहका लागि प्रतिव्यक्ति १३० रुपैयाँ लाग्नेछ। लकर सुविधा लिए ५० रुपैयाँ अतिरिक्त लाग्छ।