
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दूधको भुक्तानी तिर्न नसक्दा दु:ख लागेको बताएका छन्। विश्व दुग्ध दिवसको अवसरमा हेटौडामा भएको एक कार्यक्रममा आफू मन्त्री भएको ११ महिना बितिसक्दा पनि किसानको दूधको पैसा तिर्न नसक्दा दुःख लागेको बताएका हुन्।
उनले दुग्ध विकास संस्थान डीडीसीमार्फत मात्र झण्डै १ अर्ब रुपैयाँ र समग्र रूपमा किसानलाई ३ देखि ४ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ बताए। ‘किसान इमान्दार छन्। तर हामी इमान्दार हुन सकिरहेका छैनौँ, जबसम्म पैसा तिर्न सक्दैनौँ तबसम्म हाम्रो इमान्दारीको मूल्य छैन,’ उनले भने।
उनले किसानलाई १५ दिनभित्र दूधको भुक्तानी दिनुपर्ने प्रावधान भए पनि व्यवहारमा त्यो हुन नसकेको स्वीकार गरे। ‘हामी बोलेर मात्रै हुँदैन, त्यसलाई कार्यान्वयनमा पुर्याउन पनि प्रयत्न गरेका छौं,’ मन्त्री अधिकारीले भने।
किसानको भुक्तानी नपाउँदा डीडीसीका कर्मचारीलाई दैनिक घिउ र दूध दिने कामसमेत बन्द गरेको जानकारी दिँदै उनले भने, “एउटा भैँसीबाट चार माना दुध ल्याउन किसानलाई कति दुःख हुन्छ, मलाई पनि थाहा छ।”
कोभिड महामारीपछि दुग्ध क्षेत्रमा थप समस्या देखिएको उल्लेख गर्दै उनले भने, दुग्ध पदार्थको मौज्दात बढ्दै गएको छ तर बजार व्यवस्थापनमा हामी चुकेका छौँ। यस्तो अवस्थामा सबै निकायको सहकार्य आवश्यक छ।’