विद्युत आपूर्ति अवरुद्ध हुँदा अस्पतालमा बिजोग, मोबाइलको टर्च बालेर उपचार

बिजमाण्डू
२०८२ जेठ १८ गते ११:१४ | Jun 1, 2025
विद्युत आपूर्ति अवरुद्ध हुँदा अस्पतालमा बिजोग, मोबाइलको टर्च बालेर उपचार


वीरगंज (पर्सा)। अस्पतालको ‘आइसीयू ’ र ‘सिसीयू ’ कक्षमा आकस्मिक रुपमा विद्युत सेवा अवरुद्ध हुँदा के होला? नारायणी अस्पतालमाको आइसीयू र सिसीयू कक्षमा लाइन काटिँदा उपचार सेवामा सास्ती भएको छ।

Tata
GBIME

उक्त अस्पतालका दुई संवेदनशील कक्षमा शुक्रबार राति १०:३० देखि शनिबार बिहान १ बजेसम्म लाइन गएको थियो। अस्पताल प्रशासन तथा व्यवस्थापनले समयमा ध्यान नदिँदा विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ। सो समयमा आइसीयू र सिसीयूमा १७ बिरामी उपचाररत थिए।

चिकित्सक र नर्सिङ स्टाफले आवश्यक समन्वय र सावधानी अपनाउँदा बिरामीको ज्यान जोगिएको छ। लाइन गएपछि चिकित्सक र नर्सले मोबाइलको लाइट बालेर उपचार गरेका थिए। यसैबीच जिल्ला प्रशासन कार्यालयले नारायणी अस्पतालको आइसीयू र सिसीयू जस्तो संवेदनशील कक्षमा शुक्रबार राति विद्युत् आपूर्ति विच्छेद भएको घटनालाई गम्भीरतापूर्वक चासो लिएको छ।

प्रशासनले विद्युत् आपूर्तिमा हेलचेक्याइँ गर्ने सम्बन्धित कर्मचारीलाई आन्तरिक छानबिन गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रले शनिबार नारायणी अस्पताल विकास समितिका अध्यक्ष, निमित्त मेडिकल सुपरिटेन्डडेन्ट, प्रशासन प्रमुख, अस्पतालका विभिन्न विभाग तथा कक्षमा कार्यरत चिकित्सक, नर्सिङ विभागमा कार्यरत नर्सिङ स्टाफ, इलेक्ट्रिसियन लगायत अस्पतालसँग जोडिएका सबै निकायका पदाधिकारी तथा कर्मचारीसँग शनिबार संयुक्त बैठक राखेर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गम्भीर हुनका लागि निर्देशन दिएका छन्।

‘अस्पतालको आइसीयू र सिसीयूजस्तो संवेदनशील ठाउँमा साढे दुई घण्टा विद्युत् अवरुद्ध हुनु निकै गम्भीर विषय हो,’ प्रजिअ अर्यालले भने, ‘तपाइँहरूका कारणले कुनै बिरामीको ज्यान जोखिममा परेको भए जिम्मेवारी लिने कसले हो? गल्ती र कमजोरी नदोहोर्‍याउनका लागि निर्देश गर्दछु। जनताको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न पाइँदैन।’

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले शुक्रबार रातिको घटना गम्भीर भएकाले आगामी दिनमा त्यस्तो हुन नदिने प्रतिबद्धता गरेका छन्। अस्पतालका निमित्त मेसु चित्ररञ्जन साहले आइसीयू र सिसीयू कक्षमा कमजोर प्रकृतिको वायरिङको कारणले उक्त घटना भएको दाबी गरे। उनले भने, ‘अस्पताल प्रशासनले आइसीयूमा भएका दुई जना सिकिस्त प्रकृतिका बिरामीलाई अर्काे अस्पतालमा पठाउने तयारी गर्दागर्दै विद्युत् आएसँगै पठाउन परेन।’ रासस