अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ वृद्धि, चर्को गर्मीसँगै २५ प्रतिशतसम्म घट्यो उत्पादन

बिजमाण्डू
२०८२ जेठ १७ गते ०७:०८ | May 31, 2025
अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ वृद्धि, चर्को गर्मीसँगै २५ प्रतिशतसम्म घट्यो उत्पादन


चितवन। अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढेको छ। लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन्। उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो।

Tata
GBIME

नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ। शनिबारदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रू ४८० फार्म मूल्य तोकेको छ। यस्तै ठूलो अण्डा रू ४६५ र मझौला रू ४३५ तोकिएको छ। यसअघिको भन्दा प्रति क्रेटमा रू १५ बढेको हो।

यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैयाँ ५ पैसा प्राप्त गरेका छन्। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ। ‘बढ्दा समेत किसानले लागत मूल्य पाउन सकेका छैनन्,’ उनले भने, ‘तर पनि मूल्य वृद्धि हुँदा राहत महसुस गरिरहेका छन्।’

चर्काे गर्मीका कारण अण्डा उत्पादनमा २५ प्रतिशतसम्म घटेको उनले बताए। गर्मी मौसममा कुखुराले दाना कम खाँदा उत्पादन प्रभावित हुने गरेको छ। यससँगै गर्मीमा विभिन्न खालका रोगहरू देखा पर्ने गर्दछन्। पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले २५ हजार हाराहारीमा झरेको छ।

गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न नसकेको उनी बताउँछन्। अण्डा दिने कुखुरा घट्दा र माग बढ्दा मूल्य क्रमशः बढ्ने देखिन्छ।

नेपालमा अण्डा उत्पादन गर्दै आएका ७५ प्रतिशत हाराहारी किसान विस्थापित भइसकेका छन्। ठूला फार्महरू खुलेकाले मागलाई धान्न सकेको पोखरेलले बताए। रासस