परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, बीआरआई सम्झौता कार्यान्वयनमा चासो

बिजमाण्डू
२०८२ जेठ १६ गते १८:०३ | May 30, 2025
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, बीआरआई सम्झौता कार्यान्वयनमा चासो


काठमाडौं। चीनले बीआरआई सम्झौताको कार्यान्वयन अगाडि बढाउन नेपालसँग आग्रह गरेको छ।

Tata
GBIME

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग शुक्रबार हङकङमा भएको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआईको कार्यान्वयन अगाडि बढाउन आग्रह गरेका हुन्।

मध्यस्थताका लागि अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षकका रुपमा सहभागी हुन वाङको निम्तामा राणा जेठ १४ गते राति हङकङ पुगेकी थिइन्।

चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला भएका सहमति र सम्झौताको कार्यान्वयन अघि बढाउन आग्रह गरेको राणाको सचिवालयले जनाएको छ।

ओलीले गत मंसिरमा गरेको चीन भ्रमणका बेला दुई देशले बीआरआई कोअपरेसन फ्रेमवर्कमा हस्ताक्षर गरेका थिए। त्यतिखेर हस्ताक्षरका लागि नेपालले निक्कै जोडबल गरेको थियो।

बीआरआई अन्तर्गत १० वटा आयोजना छनोट गरिएको छ। ती आयोजना चीनको सहयोगमा बनाउने भनिएको छ। ओलीले मंसिरमा गरेको भ्रमणका बेला नेपाल र चीनबीच ९ वटा समझदारी पनि भएको थियो।

वाङसामु राणाले आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवं प्रत्यक्ष वैदेशिक लगानी लगायत विविध क्षेत्रहरूमा नेपालले चीनको निरन्तर सहयोग अपेक्षा गरेको बताइन्। उनले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षका अवसरमा नेपाल बढीभन्दा बढी चिनियाँ पर्यटकहरूलाई स्वागत गर्न आतुर रहेको पनि बताइन्।

उनले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइरहेको अवसरमा वाङलाई नेपालको भ्रमणको निम्ता दिएकी छन्। वाङले नेपाल आउने वचन दिनुका साथै जलवायु परिवर्तन र यसको असरलाई कम गर्ने तथा वातावरण संरक्षण गर्ने क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको जवाफ दिएका छन्।