नेपाल र चीनबीच बीआरआईमा जुट्यो सहमति, दुई देशका अधिकारीले गरे हस्ताक्षर

बिजमाण्डू
२०८१ मंसिर १९ गते १३:१३ | Dec 4, 2024
नेपाल र चीनबीच बीआरआईमा जुट्यो सहमति, दुई देशका अधिकारीले गरे हस्ताक्षर


काठमाडौं। नेपाल र चीनबीच बीआरआई कार्यान्वयनको फ्रेमवर्कमा सहमति भएको छ। ‘फ्रेमवर्क अफ बीआरआई कोअपरेसन’मा सहमति जुटेपछि दुई देशका परराष्ट्र अधिकारीले हस्ताक्षर गरेका छन्।

Tata
GBIME

परराष्ट्र मन्त्रालयका कार्यबाहक सचिव अमृतबहादुर राई र चिनियाँ विदेश मन्त्रालयका अधिकारीले बुधबार हस्ताक्षर गरेका हुन्। नेपालले तयार पारेको प्रस्तावमा चीनले रिजर्भेसन जनाएका कारण मंगलबार हस्ताक्षर हुन सकेको थिएन।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको वार्तामा बीआरआईको विषयले प्रवेश नै पाएको थिएन। जसका कारण दुई देशबीच ९ वटा समझदारीमा हस्ताक्षर हुँदा बीआरआई छुटेको थियो।

दुई देशले गएराति जारी गरेको संयुक्त वक्तव्यमा बीआरआईमा छिट्टै हस्ताक्षर गर्ने भनिएको थियो।

परराष्ट्रमन्त्री डा. आरजु राणा र प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाकार डा. युवराज खतिवडाले चिनियाँ विदेश मन्त्रालयका अधिकारीसँग वार्ता गरेर सहमति जुटाएको स्रोतले बतायो।

‘सुरुआतमा हामीले ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी भन्ने शब्द मस्यौदामा राखेकामा चीनले ग्रान्ट शब्द हटाएर असिन्टेन्स फाइनासिङ मोडालिटी शब्द राखेर हामीलाई दियो। त्यसमा हामी सहमत नभएपछि मंगलबार हस्ताक्षर हुन सकेको थिएन,’ बेइजिङमा रहेको स्रोतले भन्यो, ‘त्यसपछि हाम्रो तर्फबाट मंगलबार रातिदेखि नै चिनियाँ अधिकारीसँग फेरि वार्ता भयो। हामी ग्रान्ट वा असिन्टेन्सभन्दा पनि एड असिन्टेन्स फाइनान्सिङ राख्न तयार भयौं। हाम्रो प्रस्तावमा चीन सकारात्मक भएपछि हस्ताक्षर सम्भव भएको हो।’

स्रोतका अनुसार राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय वार्तापछि नै राणा र खतिवडा चिनियाँ अधिकारीसँग छलफलमा बसेका थिए। ‘छलफल सकारात्मक भएकै कारण मंगलबार रातिको संयुक्त वक्तव्यमा बीआरआईमा छिट्टै हस्ताक्षर गर्ने उल्लेख गरिएको हो,’ स्रोतले भन्यो, ‘हामी केही लचिलो भएपछि चीन हस्ताक्षर गर्न राजी भयो।’

प्रधानमन्त्री ओलीले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षरले नेपाल र चीनबीच विकास सहकार्यमा नयाँ ढोका खुलेको बताएका छन्।