आईपीएलको इलिमिनेटर खेल आज, चन्डिगढमा गुजरात र मुम्बई आमनेसामने हुँदै

बिजमाण्डू
२०८२ जेठ १६ गते १३:१८ | May 30, 2025
आईपीएलको इलिमिनेटर खेल आज, चन्डिगढमा गुजरात र मुम्बई आमनेसामने हुँदै
गुजरातका कप्तान शुभमन गिल र मुम्बईका कप्तान हार्दिक पाण्ड्या। तस्बिर: आईपीएल


इण्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटर खेलमा आज गुजरात टाइटन्स र मुम्बई इण्डियन्स आमनेसामने हुँदैछन्। चन्डिगढस्थित महाराजा यादवेन्द्र सिंह क्रिकेट स्टेडियममा साँझ पौने ८ बजे खेल सुरु हुनेछ।

Tata
GBIME

आजको खेलमा विजयी टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ।

आजको खेलमा वर्षाका कारण खेल रोकिए अतिरिक्त रिजर्भ डे उपलब्ध हुने छैन। ओभर घटाएर पनि खेल हुन नसकेको अवस्थामा लिग चरणमा माथि रहेको आधारमा गुजरात दोस्रो क्वालिफायर पुग्नेछ भने मुम्बई बाहिरिनेछ।

प्लेअफ सुरु हुनुअघि गुजरात टाइटन्सको ब्याटिङ लाइनअपमा केही कमजोरी देखिएको थियो। उनीहरूसँग उत्कृष्ट शीर्ष तीन ब्याटर र केही फिनिसरहरू थिए। तर, मध्यक्रम कमजोर देखिन्थ्यो। यसका बावजुत गुजरातले लिग चरणमा तेस्रो स्थान हासिल गर्दै इलिमिनेटरमा मुम्बई इन्डियन्ससँग भेट पक्का गर्‍यो।

प्लेअफसम्मको यात्रामा गुजरात शीर्ष ३ ब्याटरमा धेरै निर्भर रह्यो। धेरैजसो खेलहरूमा शुभमन गिल, साई सुदर्शन र जोस बटलरमध्ये कम्तीमा एकजनाले लामो इनिङ्स खेल्दा मध्यक्रमलाई लोड परेको थिएन। मध्यक्रमका ब्याटर चाँडै आउट हुँदा पनि शेर्फेन रदरफोर्ड र शाहरुख खानले ब्याटिङ धानेका थिए।

लिग चरणको अन्त्यतिर भने गुजरातको गति थामियो। उनीहरू शीर्ष दुईमा पुग्ने क्रममा थिए तर लिगका अन्तिम दुई खेल हारेर तेस्रो स्थानमा झरे। गुजरातका लागि राम्रो खेलिरहेका बटलर इंग्ल्याण्डको राष्ट्रिय टोलीका लागि गएका छन्। बटलरबिना गुजरातको पहिलो खेल एलिमिनेटरको हो।

बटलरको ठाउँमा आएका कुशल मेन्डिस राम्रा ब्याट्सम्यान भए पनि बटलरको लय पकड्न सजिलो भने छैन। साथै, उनले आईपीएलमा कहिल्यै खेलेका छैनन् र उनको पछिल्लो प्रतिस्पर्धी खेल एक महिनाभन्दा अघि थियो।

गुजरात आईपीएलको अक्सनमा बलिङमा केन्द्रित गर्ने टोलीमध्येको एक थियो। तर, मोहम्मद सिराजको फर्म खस्कँदै गएको र राशिद खानको पनि फर्म नफर्किएकाले उनीहरू सबैभन्दा बलियो मानिएकै विभागमा पनि बलियो देखिएको छैनन्। पछिल्ला तीन खेलमा उनीहरूले १९९, २३५ र २३० रन दिएका छन्।

अर्कोतर्फ मुम्बई इण्डियन्ससँग स्टार खेलाडीहरूको कमी छैन। तर, यसका बावजुत मुम्बईका स्टार खेलाडी प्रायः चम्किएका भने छैनन्।

सूर्यकुमार यादव ६४० रनसहित उनीहरूका सर्वाधिक रनकर्ता हुन्। उनीपछिका दोस्रो धेरै रन बनाउने रायन रिकल्टन उनीभन्दा २५२ रनले पछाडि छन्। तर, उनी प्लेअफका लागि उपलब्ध छैनन्। सूचीमा तेस्रो रोहित शर्माले ३२९ रन बनाएका छन्।

मुम्बईले रिकल्टनको स्थानमा आईपीएलका अनुभवी खेलाडी जोनी बेयरस्टोलाई ल्याएको छ। पछिल्लो पन्ध्र दिनमा उनले योर्कशायरका लागि दुईवटा अर्धशतक प्रहार गरेका थिए, यद्यपि त्यो रेड-बल खेलमा थियो। त्यस्तै, मुम्बईका अर्का खेलाडी विल ज्याक्स इंग्ल्याण्डको राष्ट्रिय टोलीमा गएका छन्। बलिङ आक्रमणमा मुम्बई गुजरातभन्दा बलियो देखिन्छ।

तर, गुजरातले दुवै लिग खेलमा मुम्बईलाई हराएको थियो। खासमा मुम्बईले प्लेअफमा पुगेका अन्य ३ टोलीमध्ये कुनैलाई पनि हराउन सकेको छैन।

नजर राशिद खान र जसप्रीत बुमराहमाथि

राशिद खान र जसप्रीत बुमराह वर्षौंदेखि टी-२० क्रिकेटका उत्कृष्ट स्पिनर र उत्कृष्ट तीव्र गतिका बलर हुन्। तर जारी संस्करणमा उनीहरूको प्रदर्शन फरक छ। राशिद आफ्नो करियरकै सबैभन्दा खराब आईपीएल सिजन खेलिरहेका छन्। १४ खेलमा उनले ९ विकेट मात्र लिएका छन्।

बुमराहले ढाडको चोटबाट निको हुँदै सिजनका पहिलो चार खेल गुमाएका थिए। त्यसका बाबजुद पनि उनी यस सिजनका सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त छैटौं स्थानमा छन्। उनले १७ विकेट लिएका छन्।