एक तिहाइ सार्वजनिक संस्थान घाटामा, नेपाल वायुसेवा निगमको नोक्सानी एक अर्बमाथि

बिजमाण्डू
२०८२ जेठ १५ गते १५:०९ | May 29, 2025
एक तिहाइ सार्वजनिक संस्थान घाटामा, नेपाल वायुसेवा निगमको नोक्सानी एक अर्बमाथि


काठमाडौं। एक तिहाइ सार्वजनिक संस्थान घाटामा देखिएका छन्। संचालनमा रहेका ४५ संस्थानमध्ये १५ वटा घाटामा देखिएका हुन्।

Tata
GBIME

२८ वटा नाफामा तथा २ वटा बन्द अवस्थामा रहेको अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा उल्लेख छ। संस्थानमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका हुन्। २५ वटा संस्थानमा पनि अधिकांश स्वामित्व सरकारको छ।

५ वटा संस्थानको घाटा निकै धेरै छ। धेरै घाटा हुने संस्थानमा नेपाल वायुसेवा निगम, खानेपानी संस्थान, हेटौंडा सिमेन्ट उद्योग, जनक शिक्षा सामग्री केन्द्र र सार्वजनिक सेवा प्रसारण नेपाल छन्। सार्वजनिक सेवा प्रसारणअन्तर्गत रेडियो नेपाल र नेपाल टेलिभिजन पर्छन्।

नेपाल वायु सेवा निगमले सबैभन्दा धेरै १ अर्ब ४ करोड रुपैयाँ नोक्सानी बेहोरेको छ।

उच्च घाटामा रहेका ५ संस्थान

नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रुपैयाँ छ। नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ।

सर्वेक्षणअनुसार सबै सार्वजनिक संस्थानले गत आवमा ६ खर्ब ७५ अर्ब ६७ करोड कुल खर्च गर्दा ४२ अर्ब ६२ करोड १६ लाख रुपैयाँ खुद नाफा गरेका छन्। कुल आय भने ७ खर्ब १८ अर्ब २९ करोड छ। जुन आव २०७९/८० को तुलनामा ३.५८ प्रतिशतले कम हो।

सार्वजनिक संस्थानको तलबभत्ता तथा दैनिक प्रशासनिक खर्च मात्रै वार्षिक ४४ अर्ब २६ करोड ६२ लाख भएको छ। प्रशासनिक खर्चमा विगत ५ वर्षमा औसत वार्षिक वृद्धिदर ५.५९ प्रतिशत छ।

कर्मचारीहरूको बोनसमा मात्रै संस्थानहरूले वर्षदिनमा १ अर्ब २६ करोड ५० लाख खर्च गरेका छन्। आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्ष भन्दा २.२० प्रतिशतले वृद्धि भई २९ खर्ब १० अर्ब १७ करोड पुगेको छ।

सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ। जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड छ।