
काठमाडौं। मनकामना दर्शन प्रालिले रिसोर्ट निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ। मनकामना हिलक्रेस्ट रिसोर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र भदौमा सफ्ट ओपनिङ गर्ने तयारी रहेको कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए।
‘निर्माण कार्य ८५ प्रतिशत सकिएको छ। अहिले धमाधम फिनिसिङको काम भइरहेको छ,’ उनले बिजमाण्डूसँग भने भने, ‘हामी भदौमा सफ्ट ओपनिङ गर्नेछौं। दसैंको समय पारेर ग्राण्ड ओपनिङ गर्ने तयारी छ।’
कम्पनीले ५० करोडको लागतमा मनकामना केबलकारको गोरखास्थित टप स्टेसन ४० कोठा क्षमताको रिसोर्ट निर्माण गरिरहेको हो। रिसोर्टको मुख्य भवन ५ तल्लाको छ।
श्रेष्ठका अनुसार रिसोर्टमा ६० जना क्षमताको स्ट्याण्डर्ड रेस्टुरेन्ट, एक सयजना क्षमताको कन्फ्रेन्स हल, २०० जना क्षमताको ओपन एम्पी थिएटर, स्विमीङ पुल लगायत सुविधा हुनेछन्।

मनकामनालाई धार्मिक स्थलमात्र नभइ पर्यटकीय हिसाबले पनि प्रवर्धन गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याउन लागेको श्रेष्ठले बताए।
‘मनकामना एक रातको मात्र गन्तव्य होइन। यहाँ बक्रेश्वर महादेव, सिद्ध लखन गुफा, सुन्तला बगैंचा, होमस्टे, ट्रेल लगायत विविध पर्यटकीय गतिविधि केन्द्रित क्षेत्र छन्,’ उनले भने, ‘धार्मिकसँगै अरु पर्यटकलाई आकर्षित गर्नु हाम्रो उद्देश्य हो।’