मुम्बईलाई हराउँदै पञ्जाव आईपीएलको पहिलो क्वालिफायरमा

बिजमाण्डू
२०८२ जेठ १३ गते ०५:५८ | May 27, 2025
मुम्बईलाई हराउँदै पञ्जाव आईपीएलको पहिलो क्वालिफायरमा
विकेट सेलिब्रेट गर्दै पञ्जावका खेलाडी। तस्बिर: आईपीएल


काठमाडौं। मुम्बई इण्डियन्सलाई हराउँदै पञ्जाव किंग्सले पहिलो क्वालिफायरमा स्थान बनाएको छ। जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा गएराति सम्पन्न खेलमा पञ्जावले मुम्बईलाई ७ विकेटले हराएको थियो।

Tata
GBIME

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाउँदा रायन रिकल्टनले २७, हार्दिक पाण्ड्याले २६, रोहित शर्माले २४ तथा नमन धीरले २० रन बनाए।

बलिङतर्फ अर्सदीप सिंह, मार्को जेनसन र विजयकुमारले समान २ विकेट लिँदा हरप्रीत ब्ररले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जावले १८.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। पञ्जावका लागि जोस इनग्लिसले सर्वाधिक ७३ रन बनाउँदा प्रियांश आर्याले ६२ रन बनाए। त्यस्तै कप्तान श्रेयस ऐय्यर २६ रनमा अविजित रहे।

बलिङमा मिचेल स्यान्टनरले २ तथा जसप्रीत बुमराहले १ विकेट लिए।

जितसँगै पञ्जाबले पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ। उसको प्रतिस्पर्धीको टोलीको टुंगो मंगलबारको खेलले दिनेछ। हारसँगै मुम्बईले इलिमिनेटर खेल्ने पक्का भएको छ।

 आज हुने लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बेङ्ग्लुरुबीचको खेलमा बेङ्ग्लुरु विजयी भए क्वालिफायरमा पञ्जावसँग भिड्ने छ। यदि लखनउ विजयी भए गुजरात टाइटन्सले पहिलो क्वालिफायर खेल्नेछ।

त्यस्तै बेङ्ग्लुरु पराजित भए इलिमिनेटरमा मुम्बई इण्डियन्स र बेङ्ग्लुरु भिड्नेछन्।