६ महिनाभित्र लाइसेन्स पाएकाले मात्रै घरजग्गा कारोबार गर्न पाउने, अपार्टमेन्ट स्वामित्वबारे कानुन बन्ने

बिजमाण्डू
२०८२ जेठ ९ गते ११:०१ | May 23, 2025
६ महिनाभित्र लाइसेन्स पाएकाले मात्रै घरजग्गा कारोबार गर्न पाउने, अपार्टमेन्ट स्वामित्वबारे कानुन बन्ने


काठमाडौं। सरकारले ६ महिनाभित्र घरजग्गा कारोबार गर्नका लागि व्यवसायको लाइसेन्स लिएर मात्रै काम गर्न दिने भएको छ।

Tata
GBIME

पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा ६ महिनाभित्र घरजग्गा व्यवसायको लाइसेन्स लिएर मात्रै कारोबार गर्न दिने भएको हो।

भूमि व्यवस्था मन्त्रालयले ६ महिनाभित्र घरजग्गा व्यवसायको लाइसेन्स लिएर मात्र घरजग्गा किनबेच गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने छ। त्यसको अनुगमन/सहजीकरण प्रधानमन्त्री कार्यालयले गर्ने छ।

त्यसैगरी, लामो समयदेखि अपार्टमेन्ट खरिदकर्ताहरुको स्वामित्वमा रहेको अस्पष्टा २ वर्षभित्र समाधान गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ। भूमि व्यवस्था र सहरी विकास मन्त्रालयले एकभन्दा बढी आवास इकाई रहेको भवनका धनीहरुको स्वामित्व तथा अधिकारलाई कानुन बनाएरै सुरक्षित गर्नुपर्ने जिम्मेवारी छ।

यस्तै, भू-उपयोग ऐन र नियमावलीको कार्यान्वयन ६ महिनाभित्र गरिसक्ने कार्यायोजना तय गरिएको छ। त्यसका लागि आवश्यक बजेट व्यवस्था गरी तीनै तहका सरकारी निकायको कार्यान्वयन क्षमता बढाइने भएको छ।