सान्भी इनर्जीको २४ लाख १५ हजार ३०० कित्ता आइपीओ आजबाट निष्कासन

बिजमाण्डू
२०८२ जेठ ९ गते १०:४४ | May 23, 2025
सान्भी इनर्जीको २४ लाख १५ हजार ३०० कित्ता आइपीओ आजबाट निष्कासन


काठमाडौं । सान्भी इनर्जीले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुका लागि सेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि खुलाएको हो।

Tata
GBIME

सान्भीले २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयरमा आवेदन खुलाएको छ।लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँमा शुक्रबारदेखि १० देखि २० हजार कित्ताका लागि कम्पनीको आइपीओमा आवेदन दिन पाउनेछन्।

जेठ १३ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धकले जनाएको छ। कम्पनीले यसअघि इलामको इलाम नगरपालिका, माई जोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि सेयर निष्कासन गरेको थियो।

आयोजना प्रभावितका लागि ८ करोड ८० लाख रुपैयाँको ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाहरुलाई २ करोड ९१ लाख रुपैयाँको २ लाख ९१ हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ।

कम्पनीले जारी पुँजीको ८८ करोड रुपैयाँको ३३.०७ प्रतिशतले हुन आउने ३७ करोड ९० लाख रुपैयाँको सेयर सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको थियो।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड छ। आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङसले बीबी प्लस रेटिङ दिएको छ। जसले मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।

चालु आर्थिक वर्ष पुससम्म कम्पनी १२ करोड १२ लाख ५९ हजार रुपैयाँ सञ्चित नाफामा रहेको वित्तीय विवरण सेबोनमा पेस गरेको छ। गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.८१ र प्रति सेयर नेटवर्थ १२४.२० रुपैयाँ छ।