दिल्लीमाथि मुम्बईको जितसँगै आईपीएलको प्लेअफ खेल्ने चार वटै टोलीको लाग्यो टुंगो

बिजमाण्डू
२०८२ जेठ ८ गते ०६:२४ | May 22, 2025
दिल्लीमाथि मुम्बईको जितसँगै आईपीएलको प्लेअफ खेल्ने चार वटै टोलीको लाग्यो टुंगो
दिल्लीको विकेट सेलिब्रेट गर्दै मुम्बईका खेलाडी। तस्बिर: आईपीएल


काठमाडौं। मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराति सम्पन्न खेलमा दिल्लीलाई ५९ रनले हराउँदै मुम्बई जारी संस्करणमा प्लेअफ पुग्ने चौथो टोली बन्यो। तीन टोलीको भने यसअघि नै प्लेअफ यात्रा पक्का भइसकेको थियो।

Tata
GBIME

मुम्बईस्थित वानेखेडे स्टेडियममा दिल्लीले टस जितेर घरेलु टोलीलाई पहिला ब्याटिङको निम्ता दिएको थियो। सुरुवाती ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक अविजित ७३ रन बनाउँदा तिलक बर्माले २७, रायन रिकेल्टनले २५, नमन धीरले अविजित २४ तथा विल ज्याक्सले २१ रन बनाए। बलिङतर्फ मुकेश कुमारले सर्वाधिक २ विकेट लिँदा दुसन्था चमीरा, मुस्तफिजुर रहमान र कुलदीप यादवले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्ली १८.२ ओभरमा १२१ रन बनाएर अलआउट भयो। दिल्लीका लागि समीर रिज्वीले सर्वाधिक ३९ रन बनाउँदा विपराज निगमले २० तथा आशुषतो शर्माले १८ रन बनाए।

बलिङतर्फ मुम्बईका जसप्रीत बुमराह र मिचेल सान्टनरले समान ३ विकेट लिँदा ट्रेन्ट बोल्ट, दीपक चहर, विल ज्याक र कर्ण शर्माले समान १ विकेट लिए।

जितसँगै मुम्बई प्लेअफ पुग्ने चौथो टोली बनेको छ। दिल्ली प्लेअपको होडबाट बाहिरिएको छ। जारी संस्करणमा प्लेअफ पुग्ने टोलीमा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्ग्लुरु, पञ्जाव किंग्स र मुम्बई इण्डियन्स छन्।

प्रतियोगितामा आज गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट भिड्दैछन्। प्लेअफमा पुगेका टोलीको अबको नजर शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्नेमा रहनेछ।